Logo

१ चैत्र, काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभाका लागि आफ्नो हिस्सामा परेका चार जना समानुपातिक सांसदहरूको नामावलीलाई अन्तिम रूप दिएको छ ।

आइतबार सुनसरीको धरानमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले विभिन्न क्लस्टरहरू मिलाएर चार जनाको नाम छनोट गरेको हो । बैठकपछि प्रवक्ता सत्य घलेले सार्वजनिक गर्नुभएको विवरण अनुसार, पार्टीले समावेशितालाई ध्यानमा राख्दै आदिवासी जनजाति, मधेसी, खसआर्य र दलित क्लस्टरबाट एक–एक जनाको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

क्लस्टर अनुसार छानिएका अनुहार र उनीहरूको पृष्ठभूमि

पार्टीले आदिवासी जनजाति ९पुरुष० क्लस्टरबाट सुनसरीका पूर्ण लिम्बूलाई सांसद बनाउने निर्णय गरेको छ । लिम्बू ब्रिटिस गोर्खा भूतपूर्व सैनिकका क्याप्टेन हुन्, जसको नाम अध्यक्ष साम्पाङले आइतबार बिहानै एक कार्यक्रममार्फत घोषणा गरिसक्नुभएको थियो । त्यस्तै, मधेसी महिला क्लस्टरबाट धनुषाकी रुवीकुमारी ठाकुर चयन भएकी छन् । उनी ‘जेनजी’ समूहकी युवा हुन्, जसलाई पार्टीले युवा पुस्ताको प्रतिनिधित्वका रूपमा अघि सारेको हो । खसआर्य महिलाबाट सुनसरीकी अम्बिकादेवी संग्रौला र दलित महिला क्लस्टरबाट सुर्खेतकी राधिका रम्तेल (सार्की) को नाम सिफारिस गरिएको छ ।

सिट थोरै, आकांक्षी धेरैस् अध्यक्ष साम्पाङलाई सकस

समानुपातिक सांसद छनोट गर्ने क्रममा अध्यक्ष हर्क साम्पाङलाई निकै सकस भएको पार्टी स्रोतले जनाएको छ । पार्टीमा विशेष गरी महिला कार्यकर्ताहरूको आकांक्षी संख्या ठूलो भए पनि सिट संख्या केवल चार मात्र भएकाले नाम टुङ्ग्याउन चुनौती देखिएको थियो । आदिवासी महिलातर्फ मन्दिरा मोक्तान, आशा लामा र समला राई जस्ता चर्चित अनुहारहरू चर्चामा रहे पनि अन्ततः क्लस्टर सन्तुलन मिलाउँदा उनीहरू पछि परेका छन् ।

खसआर्य क्लस्टरमा दृष्टि सम्बन्धी अपाङ्गता भएका जीवन विष्टसँग भद्र सहमति भएपछि पुरुषतर्फ क्याप्टेन लिम्बूको नाम सिफारिस गरिएको प्रवक्ता घलेले प्रष्ट पार्नुभयो ।

निर्वाचन आयोगमा नामावली पठाउने तयारी

पार्टीले छनोट गरेका यी चारै जनाको नामावली आजै निर्वाचन आयोगमा पठाउने तयारी गरिएको छ । आयोगको मापदण्ड अनुसार क्लस्टर र लैङ्गिक सन्तुलन मिलाएर पठाइएको यो नामावली रुजु भएपछि उनीहरू आधिकारिक रूपमा सांसद निर्वाचित हुनेछन् । प्रत्यक्षतर्फ ३ सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ४ सिट प्राप्त गरेसँगै प्रतिनिधि सभामा उसको कूल सदस्य संख्या ७ पुग्नेछ ।

यसले साम्पाङको पार्टीलाई राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव विस्तार गर्न र श्रम संस्कृतिको एजेन्डालाई सदनमा बुलन्द गर्न थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार