Logo

१ चैत, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फको रिक्त २० सिट भर्नका लागि बन्दसूचीमा रहेका नामहरूलाई अन्तिम रूप दिएको छ ।

पार्टीको पछिल्लो निर्णय अनुसार यसपटक कांग्रेसले महिला प्रतिनिधित्वलाई विशेष जोड दिँदै कुल सिटको ७५ प्रतिशत अर्थात् १५ जना महिलालाई चयन गरेको छ भने बाँकी ५ सिटमा मात्र पुरुषलाई समेटेको छ । पार्टी प्रवक्ता देवराज चालिसेले दिएको जानकारी अनुसार, यो निर्णयले संविधानको मर्म र समावेशी लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको छ ।

पार्टीले क्लस्टर व्यवस्थापनमा निकै सावधानी अपनाएको देखिन्छ। प्राप्त विवरण अनुसार, आदिवासी जनजाति र खस आर्य समुदायबाट समान ६–६ जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

त्यसैगरी, मधेशी, दलित, थारु, मुस्लिम र पिछडिएको क्षेत्रको सन्तुलन मिलाउन सामूहिक रूपमा ५ जनाको नाम सिफारिस गरिएको छ । प्रवक्ता चालिसेले क्लस्टर मिलाउँदा केही प्राविधिक चुनौती देखिए पनि निर्वाचन आयोगले दिने परिमार्जनको सुविधा उपयोग गर्दै आजै नामावली बुझाउने तयारी भएको स्पष्ट पार्नुभयो ।

यो चयन प्रक्रियासँगै कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र समावेशी प्रतिनिधित्वको बहसले नयाँ चर्चा पाएको छ । आयोगले नामहरू जाँचबुझ गरी आधिकारिक रूपमा सार्वजनिक गरेपछि यी सदस्यहरूले औपचारिक रूपमा जिम्मेवारी पाउनेछन् । विशेष गरी महिलाको ठूलो संख्याले नीति निर्माणको तहमा पार्टीको उपस्थिति थप समावेशी देखिने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार