Logo

१ चैत, काठमाडौं । राजश्व चुहावट नियन्त्रण गर्ने मुख्य जिम्मेवारी सम्हालेका राजश्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी नै भ्रष्टाचारको गम्भीर मुद्दामा तानिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीले पदीय दुरुपयोग गरी ७० लाख रुपैयाँ घुस लिएको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । राजश्व छलीको छानबिनबाट जोगाइदिने प्रलोभन देखाएर निजी कम्पनीसँग मोटो रकम असुल गरेको अनुसन्धानबाट खुलेको छ ।

अख्तियारको दाबी अनुसार, अधिकारीले एचके इन्टरप्राइजेज प्रालिमाथि भइरहेको राजश्व चुहावट सम्बन्धी छानबिनलाई सामसुम पार्न र कानुनी कारबाहीबाट बचाउन सहजीकरण गरिदिए बापत उक्त रकम बुझेका हुन् ।

यस योजनामा अधिकारी एक्लै नभई बिचौलिया र अन्य सहयोगीहरूको समेत संलग्नता देखिएको छ । इन्टरप्राइजेजका सञ्चालक श्रीकृष्ण श्रेष्ठसँग रकम लेनदेन गर्दा विकास चापागाई, देवेन्द्र केसी र रविन्द्र लामिछाने लगायतका व्यक्तिहरूसँग आपसी सल्लाह र मिलेमतो गरेको प्रमाण फेला परेपछि उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।

विशेष अदालतमा दर्ता भएको यस मुद्दाले निजामती प्रशासनभित्रको उच्च पदस्थ भ्रष्टाचार र राजश्व छलीमा हुने सेटिङको पर्दाफास गरेको छ । अख्तियारले आरोपित अधिकारीसँग बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गर्दै अभियोग पत्र पेश गरेको छ ।

यस घटनाले राजश्व प्रशासनको छविमाथि गम्भीर प्रश्न उठाएको छ भने अन्य संलग्न व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ ।


सम्बन्धित समाचार