१ चैत,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकस्थित प्रहरी चेकपोस्टमा सवारी चेकजाँचका क्रममा ना ७ ख ७६८६ नम्बरको ट्रक रोकी जाँच गर्दा लुकाइछिपाइ राखिएको ५२ हजार ३०० क्याप्सुल
ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपी ५० एमजी बरामद गरिएको हो।
उक्त औषधिसहित प्रहरीले पचरौता नगरपालिका–९ निवासी ४२ वर्षीय राम अशिष राउत अहिर र बहुदरमाई नगरपालिका–२ सिसियाडी निवासी ३० वर्षीय सुवास सर्राफलाई नियन्त्रणमा लिएको जनाएको छ।
बरामद औषधिसहित पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ट्रामाडोल सामान्यतया मध्यमदेखि गम्भीर दुखाइ कम गर्न प्रयोग हुने ओपिओइड समूहको औषधि हो। यसको दुरुपयोग हुन सक्ने भएकाले धेरै देशमा यसको प्रयोग कडाइका साथ नियन्त्रण गरिन्छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै पछिल्लो समय लागूऔषधको अवैध कारोबार नियन्त्रण गर्न सीमावर्ती क्षेत्र तथा मुख्य नाकाहरूमा सवारी साधन चेकजाँच कडा बनाइएको जनाएको छ।
















