२ चैत्र, काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका–११ पिप्ले गाउँकी एक महिला आफ्ना दुई नाबालिग सन्तानसहित आइतबारदेखि रहस्यमय ढंगले सम्पर्कविहीन भएकी छिन् ।
स्थानीय माया कठायत ११ वर्षीया छोरी आशा र ५ वर्षीय छोरा दीपक कठायतसहित आइतबार बिहानैदेखि बेपत्ता भएकी हुन् । श्रीमती र छोराछोरी घरमा नभएको थाहा पाएपछि श्रीमान् भूपेन्द्र कठायतले आइतबार बेलुका नै प्रहरी चौकी गुमीलाई यसबारे खबर गरेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको नेतृत्वमा सुरक्षाकर्मी, वडाध्यक्ष र स्थानीय बासिन्दाले खोजी कार्य तीव्र पारेका थिए । खोजतलासका क्रममा घरभन्दा करिब तीन किलोमिटरको दूरीमा रहेको भेरी नदीको किनारमा मायाले प्रयोग गर्ने गरेका केही व्यक्तिगत सामग्रीहरू फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार नदी किनारमा बेपत्ता महिलाको झोला, सल, चप्पल र एक थान मोबाइल फेला परेको छ ।
नदी किनारमा फेला परेका सामग्रीले घटनालाई थप शङ्कास्पद र चिन्ताजनक बनाएपछि अहिले भेरी नदी र त्यस आसपासका क्षेत्रमा व्यापक खोजी भइरहेको छ । हराएका तीनै जनाको खोजीका लागि विभिन्न इलाका प्रहरी चौकीहरूबाट खटिएका ३५ जना सुरक्षाकर्मी र ठूलो संख्यामा स्थानीय बासिन्दा परिचालन गरिएको प्रहरीले जनाएको छ ।
नदीको बहाव र आसपासको जङ्गल क्षेत्रलाई समेत आधार मानेर खोजी जारी राखिए पनि अहिलेसम्म उनीहरूको अवस्थाबारे ठोस जानकारी प्राप्त हुन सकेको छैन।

















