२ चैत,वीरगञ्ज । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले ६ लेन मुख्य सडकको बीच भागमा रहेका बिग्रिएका डिभाइडर मर्मत गर्न वा व्यवस्थापन सम्भव नभए हटाउन जीतपुरसिमरा उपमहानगरपालिकालाई पत्र पठाएको छ।
संघका महासचिव प्रकाश गिरीले पठाएको पत्रमा डिभाइडरहरू धेरै स्थानमा भाँचिएको, अव्यवस्थित र जीर्ण अवस्थामा रहेको उल्लेख गरिएको छ। डिभाइडरमा जडान गरिएका रेलिङ र अन्य संरचनाहरू क्षतिग्रस्त हुँदा सडकको सौन्दर्यमा असर परेको र शहरको समग्र दृश्य नकारात्मक बनेको संघले जनाएको छ।
पत्रमा डिभाइडरमा रोपिएका बिरुवाहरू पनि उचित हेरचाह नहुँदा सुक्ने वा नष्ट हुने अवस्थामा पुगेको उल्लेख छ। यसले सडकलाई हरियाली बनाउने उद्देश्य पूरा नगरेको संघको भनाइ छ।
संघले भाँचिएका रेलिङ र डिभाइडरका कारण सडक वरिपरि फोहोर जम्ने, दुर्घटना जोखिम बढ्ने र वातावरण अव्यवस्थित देखिने समस्या बढेको पनि औंल्याएको छ। यसले आगन्तुक र स्थानीय बासिन्दामा शहरप्रति नकारात्मक धारणा बन्ने सम्भावना रहेको पत्रमा उल्लेख छ।
संघले सम्बन्धित निकायमार्फत डिभाइडरहरू आवश्यक मर्मत–सम्भार गरी व्यवस्थित बनाउन वा व्यवस्थापन सम्भव नभए हटाएर सडक क्षेत्रलाई सफा, सुरक्षित र आकर्षक बनाउन पहल गर्न आग्रह गरेको छ। संघले सम्बन्धित निकायले यस विषयमा शीघ्र आवश्यक कदम चाल्ने विश्वास व्यक्त गरेको छ।

















