Logo

२ चैत्र, काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जभित्र अवैध सिकारका लागि प्रवेश गरेका सुर्खेतका ६ जना युवक विगत ९ दिनदेखि रहस्यमय ढंगले बेपत्ता भएका छन् ।

गत फागुन २३ गते घरबाट निकुञ्जतर्फ लागेका उनीहरू लामो समयसम्म नफर्किएपछि परिवारजनमा चिन्ता बढेको छ । हराएका व्यक्तिहरूको खोजीका लागि आफन्तले सोमबार मात्रै प्रहरीलाई खबर गरेपछि यो घटना सार्वजनिक भएको हो ।

प्रहरीका अनुसार बेपत्ता हुनेहरूमा सुर्खेतको बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र ३३ वर्षीय टोपबहादुर खत्री रहेका छन् । त्यस्तै, लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दियामा बस्दै आएका ४५ वर्षीय दुर्गाबहादुर सिजाली पनि उनीहरूसँगै सम्पर्कविहीन भएका छन् । उनीहरू आफ्नो गाउँभन्दा करिब १७ किलोमिटर दक्षिणमा पर्ने निकुञ्जको घना जंगलतिर सिकार खेल्ने उद्देश्यले गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बेपत्तामध्येका टोपबहादुर खत्रीका भेनाजु आसे महतराले सोमबार प्रहरीलाई घटनाबारे आधिकारिक जानकारी गराउँदै खोजीका लागि अपिल गर्नुभएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बेपत्ता युवकहरूको खोजी कार्यलाई तीव्रता दिइएको छ । निकुञ्जको अप्ठ्यारो भूगोल र जंगली जनावरको जोखिमका बीच उनीहरू कहाँ छन् भन्नेबारे अहिलेसम्म कुनै सुइँको पाउन सकिएको छैन । प्रहरीले निकुञ्ज प्रशासन र सुरक्षामा खटिएका निकायहरूसँग समन्वय गरी जंगल क्षेत्रमा निगरानी र खोजी प्रक्रियालाई अगाडि बढाएको जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै