Logo

२ चैत्र, काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रविधिमैत्री र व्यवस्थित बनाउन सरकारले अब यसलाई राष्ट्रिय परिचयपत्र ९एनआईडी० सँग आबद्ध गर्ने भएको छ ।

स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच भएको पछिल्लो समझदारीअनुसार अब नागरिकको राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा स्वास्थ्य बीमाको सुविधा प्रदान गरिनेछ । यसका लागि विभागका महानिर्देशक नमराज घिमिरे र बोर्डका कार्यकारी निर्देशक डा। कृष्णप्रसाद पौडेलले समझदारी(पत्रमा हस्ताक्षर गर्दै नयाँ डिजिटल यात्राको सुरुवात गर्नुभएको छ ।

बोर्डले आगामी चैत २५ गतेभित्रै नयाँ दर्ता प्रक्रिया अनलाइनमार्फत सुरु गर्ने गरी गृहकार्य अगाडि बढाएको छ । यो प्रणाली कार्यान्वयनमा आएपछि स्वास्थ्य बीमाका लागि छुट्टै परिचयपत्र बोक्नुपर्ने झन्झट हट्नेछ भने सेवाग्राहीले आफ्नै मोबाइल वा इन्टरनेटबाट सजिलै दर्ता र नवीकरण गर्न सक्नेछन् । हाल करिब एक करोड नागरिक आबद्ध रहेको यो कार्यक्रममा म्यानुअल तथ्याङ्कका कारण विवरण दोहोरिने, उमेर नमिल्ने र कार्डको दुरुपयोग हुने जस्ता समस्या देखिएका थिए । राष्ट्रिय परिचयपत्रको एकीकृत डाटाबेससँग जोडिएपछि यी सबै त्रुटीहरू नियन्त्रण हुने र वास्तविक लाभग्राहीले मात्र सेवा पाउने सुनिश्चितता हुने बोर्डको विश्वास छ ।

डिजिटल प्रणालीको विस्तारसँगै अस्पतालहरूमा सेवा लिने प्रक्रिया समेत छिटो र छरितो हुने अपेक्षा गरिएको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार भविष्यमा सेवा लिँदा बायोमेट्रिक प्रमाणीकरणसमेत लागू गर्ने योजना रहेकाले कार्डको दुरुपयोग पूर्ण रूपमा रोकिनेछ । नागरिकले घरमै बसेर नवीकरण गर्न पाउने र अस्पतालमा परिचयपत्र नम्बरकै आधारमा प्रमाणीकरण हुने भएपछि बीमा सेवा थप प्रभावकारी र पारदर्शी बन्ने देखिएको छ ।


सम्बन्धित समाचार