२ चैत,काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग माग गरेको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ले सोमबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा भएको एक्कासि मूल्यवृद्धिले यातायात व्यवसायी र उपभोक्ता दुवै प्रभावित भएको जनाएको हो।
नेपाल आयल निगम ले गएरातिबाट लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ वृद्धि गरेको थियो। महासंघका महासचिव डेकनाथ गौतम ले जारी गरेको विज्ञप्तिमा यस्तो मूल्यवृद्धिले यातायात सेवा सञ्चालनमा कठिनाइ भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा स्वचालित प्रणालीमार्फत भाडा समायोजन हुने व्यवस्था भए पनि २०८१ साल मंसिर २२ गतेदेखि हालसम्म भाडा समायोजन नभएको बताइएको छ।
महासंघले सवारी साधन सञ्चालनसँग सम्बन्धित १३ सूचकका आधारमा वैज्ञानिक विधि प्रयोग गरी सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारसँग माग गरेको छ। साथै संघीय रुट तथा सातै प्रदेशका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडा यथाशीघ्र समायोजन गर्न पनि महासंघले आग्रह गरेको छ।


















