२ चैत,वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त ले सपथ ग्रहण कार्यक्रममा सहभागी हुनुअघि जेन्जी आन्दोलन का सहिद परिवारसँग भेट गरेका छन्।
सांसद पन्तले आज सपथ ग्रहणका लागि प्रस्थान गर्नुअघि सहिद असाब आलम ठकुराइ को घरमै पुगेर उनकी आमा नजला खातुन र भाइ मुराद आलम ठकुराइ सँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा उनले सहिद परिवारप्रति सम्मान व्यक्त गर्दै दोसल्ला ओढाएर सम्मान प्रकट गरेका थिए। साथै सहिद परिवारबाट एकजनालाई रोजगारी उपलब्ध गराउन आगामी बन्ने सरकारसँग पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
सांसद पन्तले जेन्जी आन्दोलनका कारण देशमा परिवर्तन सम्भव भएको उल्लेख गर्दै आन्दोलनका सहिदहरूको बलिदानीप्रति उच्च सम्मान व्यक्त गरे।
जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौंको कोटेश्वर मा प्रहरीको गोली लागेर असाब आलम ठकुराइको घटनास्थलमै मृत्यु भएको थियो। सहिद आलमको परिवारमा श्रीमती, बुबा, आमा र भाइहरू रहेका छन्।

















