Logo

२ चैत,वीरगञ्ज । यस वर्ष मधेस प्रदेशमा आँप उत्पादन उल्लेख्य वृद्धि हुने भएको छ। प्रदेशका आठवटै जिल्लामा खेत तथा बगैँचामा लगाइएका आँपका रूखमा अत्यधिक मञ्जरी अर्थात् फूल लागेको छ।

मधेस प्रदेशको कृषि विकास निर्देशनालय का वरिष्ठ बागवानी विकास अधिकृत प्रदीपकुमार यादव ले चैत-वैशाखमा हावाहुरी, असिना तथा मधुवा रोगको प्रभाव नपरेको खण्डमा यस वर्ष करिब ६० प्रतिशतभन्दा बढी आँप उत्पादन हुने सम्भावना रहेको जानकारी दिए।

यस वर्ष प्रदेशका किसानले करिब ३०,८०० हेक्टर क्षेत्रफलमा आँप खेती गरेका छन्। मौसमअनुकूल रह्यो भने चार लाख मेट्रिक टनभन्दा बढी आँप उत्पादन हुने अपेक्षा गरिएको छ।

मधेसका जिल्लामध्ये धनुषा, महोत्तरी, सिरहा सप्तरी आँप उत्पादनमा अग्रणी मानिन्छन्। व्यावसायिक रूपमा आँप खेती विस्तार भएसँगै यस प्रदेशले देशको कुल आँप उत्पादनको करिब ७६ प्रतिशत हिस्सा ओगट्ने गरेको छ।

किसानहरूले विशेषगरी मालदह, बम्बै, कलकत्तिया, अम्रपाली, दशहरी, नकुअवा, केरवा, विजु सिपियाल प्रजातिका आँप खेती गर्दै आएका छन्। उत्पादन हुने आँप स्थानीय बजारसँगै काठमाडौँ लगायत देशका प्रमुख सहरमा पनि बिक्री हुने गरेको छ।

किसान विल्टु महतोका अनुसार बगैँचामा यति धेरै फूल देखिएपछि व्यापारीहरू ठेक्कामा लिन गाउँगाउँ पुग्न थालेका छन्। कृषि विज्ञ भगिरथ यादव ले भने, बगैँचा व्यवस्थापन रोग नियन्त्रणमा ध्यान दिन सकिए मधेसमा आँप उत्पादन अझ वृद्धि हुने सम्भावना रहेको बताए।

नेपालमा विदेशी आँपको आयात पनि उल्लेख्य मात्रामा हुँदै आएको छ। प्लान्ट क्वारेन्टाइन कार्यालय, भिठामोड का प्रमुख किशोरकुमार यादव का अनुसार गत आर्थिक वर्षको फागुनदेखि चालु आर्थिक वर्षको कात्तिकसम्म भारतबाट भिठामोड नाका हुँदै ३५९ मेट्रिक टन आँप नेपाल भित्रिएको थियो।


सम्बन्धित समाचार