Logo

३ चैत्र, काठमाडौँ । पाकिस्तानले सोमबार राति फेरि अफगानिस्तानमा एयर स्ट्राइक हवाई आक्रमण गरेको छ ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार पाकिस्तानी एयरफोर्सका लडाकू विमानले राजधानी काबुलसहित अन्य क्षेत्रहरुमासमेत निशाना बनाएका छन् ।

आक्रमणमा परी ४ सय जना मारिएको र २५० जना घाइते भएको स्थानीय सञ्चार माध्यमलाई उदृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।

रिपोर्ट्सका अनुसार दारुलअमान, अरजान कीमत, खैराखाना र काबुल अन्तर्राष्ट्रिय विमानस्थल नजिकका कैयौं क्षेत्रमा विस्फोट र गोलीबारीका आवाजहरु सुनिएका छन् ।

तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलमा नशामुक्ति अस्पतालमा बम खसालेको आरोप लगाएका छन् ।

यो आक्रमणलाई कडा रुपमा निन्दा गर्दै तालिबान सरकारले मानवताविरुद्धको अपराध बताएको छ भने पाकिस्तानले अफगानिस्तानको हवाई सीमाको उल्लंघन गरेको बताएको छ ।

यता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले यी आरोपलाई अस्वीकार गर्दै काबुलमा कुनै पनि अस्पताललाई निशाना नबनाइएको बताएका छन् ।

पाकिस्तानको सूचना मन्त्रालयले आक्रमण काबुल र नंगहारमा रहेका सैन्य ठेगाना, प्राविधिक उपकरणको भन्डार र हतियार भन्डार स्थलमा गरिएको बताएको छ ।

यी क्षेत्रहरुबाट पाकिस्तानी नागरिकविरुद्ध आक्रमण गरिएकाले जवाफी कारबाही गरेको उक्त मन्त्रालयको भनाइ छ ।


सम्बन्धित समाचार