३ चैत्र, काठमाडौं । निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको अप्रत्याशित हारपछि नेपाली कांग्रेसभित्र आन्तरिक कलह र नेतृत्वको नैतिकताको विषयलाई लिएर तीव्र विवाद सुरु भएको छ ।
विशेष महाधिवेशनमार्फत नेतृत्व सम्हालेका सभापति गगन थापाले चुनावी परिणामको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने मनस्थिति बनाए पनि पार्टीका अन्य पदाधिकारी र देउवा पक्षीय नेताहरूबीच यस विषयमा दुई धार देखिएको छ। उपसभापति विश्वप्रकाश शर्माले थापालाई राजीनामा नदिन दबाब दिइरहेका छन् भने पूर्वसभापति शेरबहादुर देउवानिकट नेताहरूले सामाजिक सञ्जाल र अन्य माध्यमबाट थापाको राजीनामा माग गरिरहेका छन् ।
पार्टीभित्र सभापतिले राजीनामा दिँदा उपसभापतिसमक्ष बुझाउनुपर्ने वैधानिक व्यवस्था भए पनि उपसभापति शर्मा भने उक्त राजीनामा रोक्ने वा केन्द्रीय कार्यसमितिबाट अस्वीकृत गराउने रणनीतिमा देखिन्छन् ।
यही आन्तरिक खिचातानीका कारण निर्वाचनको औपचारिक समीक्षा र केन्द्रीय कार्यसमितिको बैठक बोलाउन समेत ढिलाइ भइरहेको बुझिएको छ । महामन्त्री गुरुराज घिमिरेले भने चैतको पहिलो साताभित्र बैठक बसेर चुनावी समीक्षा र १५औं महाधिवेशनको तयारीबारे ठोस छलफल हुने जानकारी दिँदै नेतृत्वको प्रश्न उठाउनेहरूलाई महाधिवेशनमा प्रतिस्पर्धा गर्न चुनौती दिएका छन् ।
यता देउवा पक्षका नेताहरूले भने वर्तमान नेतृत्वको कार्यशैलीप्रति कडा आलोचना गरिरहेका छन् । नेता मीन विश्वकर्माले सेनापतिको अपमान गरेर युद्धमा जाँदा यस्तो परिणाम आएको टिप्पणी गर्दै नेतृत्वको असफलतालाई चित्रण गरेका छन् ।
विशेष महाधिवेशनपछि बनेको थापा नेतृत्वको कार्यसमितिले छोटो समयमै चुनावमा होमिनुपरेको र स्वयं सभापति नै पराजित भएको अवस्थामा पार्टीको भविष्यलाई लिएर चिन्ता व्यक्त गरिएको छ । देउवा पक्षभित्रै पनि कसैले राजीनामाको माग गरिरहेका छन् भने कसैले आगामी महाधिवेशनको तयारीमा जुट्नुपर्ने तर्क गरिरहेका छन् ।
पार्टीभित्रको यो विवाद कानुनी र सांगठनिक जटिलतामा समेत जेलिएको छ । थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्च अदालतमा अझै विचाराधीन छ ।
यसैबीच, नेता श्याम घिमिरेले विवाद सुल्झाउन तत्कालीन र वर्तमान दुवै कार्यसमितिलाई मर्ज गरेर आगामी मंसिरसम्ममा महाधिवेशन गर्नुपर्ने मध्यमार्गी प्रस्ताव अघि सारेका छन् । चुनावी सुनामीले पार्टीको आधार नै हल्लाएको अवस्थामा नेता नैनसिंह महरले अब बृहत् एकता कायम गरेर अघि बढ्नुको विकल्प नरहेको औंल्याएका छन् ।

















