३ चैत्र, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई जनताले सुम्पेको ऐतिहासिक मतलाई हल्का रूपमा नलिन र गम्भीर जिम्मेवारीबोधका साथ कार्यक्षेत्रमा खटिन कडा निर्देशन दिनुभएको छ ।
ललितपुरको ग्वार्कोमा आयोजित नवनिर्वाचित सांसदहरूको तीन दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले अबको यात्रा ‘ब्याक ट कलेज’ जस्तै हुने र सांसदहरूले अध्ययनको चरणमा पुनः प्रवेश गर्नुपर्ने बताउनुभयो । विशेषगरी पार्टीको वाचापत्रलाई दोहोर्याएर र तेहेर्याएर पढ्न आग्रह गर्दै उहाँले प्रणाली परिवर्तनका लागि वैचारिक स्पष्टता अनिवार्य रहेकोमा जोड दिनुभयो ।
वाग्लेले संसद्मा आफ्नो भूमिकालाई केवल संख्यामा मात्र सीमित नराखी ुथितिु बसाल्ने संकल्पका साथ अघि बढ्न सांसदहरूलाई आग्रह गर्नुभयो । लथालिङ्ग भएको मुलुकको अर्थ(राजनीतिलाई सम्हाल्ने गरी नेपाली जनताले ठूलो म्यान्डेट दिएको चर्चा गर्दै उहाँले बहुमतको यो भारीलाई सजगतापूर्वक बोक्न निर्देशन दिनुभयो । व्यक्तिगत स्वार्थ वा सानातिना समस्या समाधानमा अल्झिनुभन्दा पनि समग्र प्रणालीमै सुधार ल्याउने गरी कानुन निर्माणमा केन्द्रित हुन उहाँले सबै सांसदहरूलाई सचेत गराउनुभयो ।
विधायकको मूल भूमिका कानुन बनाउने भए पनि सरकारको कामकारबाहीको सूक्ष्म अनुगमन गर्ने ‘वाचडग’ का रूपमा उभिनुपर्ने तथ्यलाई वाग्लेले विशेष महत्त्वका साथ उठाउनुभयो ।
आफ्ना निर्वाचन क्षेत्रका जनताका गुनासाहरूलाई बुलन्द रूपमा सदनमा उठाउन र विकास निर्माणको जनअपेक्षालाई सम्बोधन गर्न ‘हुटहुटी’ सहित अघि बढ्न उहाँले मन्त्र दिनुभयो । नयाँ सरकारका कामहरूलाई नजिकबाट नियाल्दै जनपक्षीय मुद्दामा सम्झौता नगर्न उहाँले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई मार्गनिर्देशन गर्नुभएको छ ।

















