Logo

३ चैत्र, काठमाडौं । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित पुस्तक ‘द गभर्नेन्स अफ चाइना’ जलाइएको घटनाले कूटनीतिक वृत्तमा हलचल पैदा गरेको छ ।

यस विषयमा काठमाडौंस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत औपचारिक पत्र पठाउँदै आफ्नो गम्भीर चासो र आपत्ति प्रकट गरेपछि सरकारले सक्रियता बढाएको हो । नेपाल–चीन सम्बन्धमा नकारात्मक असर पुर्‍याउन सक्ने यस्ता गतिविधिलाई लिएर चीनले कडा शब्दमा असन्तुष्टि जनाएपछि गृह मन्त्रालयले यसबारे तत्काल छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छ ।

परराष्ट्र मन्त्रालयबाट प्राप्त कूटनीतिक पत्राचारका आधारमा गृह मन्त्रालयले नेपाल प्रहरी र मोरङका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै घटनाको गम्भीरतालाई मध्यनजर गर्न भनेको छ । छिमेकी मुलुकको राष्ट्राध्यक्षको मानमर्दन हुने गरी पुस्तक जलाइएको कार्य कूटनीतिक मर्यादा विपरीत भएको ठहर गर्दै गृहले अनुसन्धान प्रक्रियालाई तीव्र बनाउन र संलग्न व्यक्तिहरूलाई पहिचान गरी आवश्यक कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको हो । यस घटनाले मोरङमा सुरक्षा सतर्कता समेत बढाउन प्रहरीलाई सतर्क गराइएको छ ।

मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई संवेदनशिल रूपमा लिँदै सरकारले यस्ता उच्छृङ्खल गतिविधि रोक्न कडा कदम चाल्ने नीति लिएको देखिन्छ । चिनियाँ दूतावासको पत्रपछि गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय मोरङलाई घटनाको वास्तविकता बुझ्न र शान्ति सुरक्षामा आँच आउन नदिन विशेष निर्देशन दिएको छ । कूटनीतिक सम्बन्धमा दरार आउन नदिन सरकारले चालेको यो कदमलाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार