३ चैत्र, काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियाको उत्तर–पूर्वी क्षेत्रमा रहेको मैदगुरी सहर मंगलबार श्रृंखलाबद्ध आत्मघाती हमलाले रगताम्मे बनेको छ ।
विष्फोटमा परी कम्तिमा २३ जनाले ज्यान गुमाएका छन् भने एक सयभन्दा बढी मानिस गम्भीर घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिराका अनुसार सहरका अति व्यस्त मानिने युनिभर्सिटी अफ मैदगुरी टिचिङ हस्पिटलको मूल गेट, स्थानीय बजार र पोस्ट अफिस बाहिर श्रृंखलाबद्ध विष्फोटहरू भएका थिए । स्थानीय प्रहरीले थप तीन स्थानमा राखिएका शक्तिशाली बमहरूलाई समयमै निष्क्रिय पारेका कारण थप ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।
मैदगुरी सहरमा पछिल्लो समय हिंसात्मक गतिविधिहरू तीव्र रूपमा बढिरहेका छन् । यसअघि सैन्य केन्द्र र मस्जिदहरूलाई निशाना बनाएर भएका आक्रमणहरूले सहरमा त्रासको वातावरण सिर्जना गरेको थियो । मंगलबारको यो भीषण हमलालाई पनि प्रहरीले आत्मघाती विष्फोटकै रूपमा लिएको छ। विष्फोटका कारण घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने अस्पताल परिसरमै विष्फोट भएका कारण उद्धार कार्यमा समेत केही समय कठिनाइ भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
पछिल्लो समय उत्तरपूर्वी नाइजेरियामा बोको हराम र इस्लामिक स्टेट (आईएसडब्लुएपी) का लडाकु समूहहरूले आफ्ना हिंसात्मक आक्रमणहरूलाई पुनः सशक्त बनाउँदै लगेका छन् । यी विद्रोही समूहहरूले सरकारी निकाय र सर्वसाधारणको भीड हुने क्षेत्रलाई लक्षित गरी श्रृंखलाबद्ध आक्रमण गर्दै आएका छन्। यसअघि डिसेम्बरमा भएको मस्जिद आक्रमणपछि शान्त देखिन खोजेको यो सहर पुनः जिहादी समूहहरूको हिंसाको चपेटामा परेको छ ।

















