Logo

३ चैत्र, काठमाडौं । पश्चिम एसियामा बढ्दो तनावका बीच इजरायलले इरानको उच्च सुरक्षा नेतृत्वलाई निशाना बनाउँदै ठूलो सफलता हात पारेको दाबी गरेको छ ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले एक विज्ञप्ति जारी गर्दै इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रभावशाली सचिव अली लारीजानीको मृत्यु भएको जानकारी दिनुभएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले लारीजानीलाई नै निशाना बनाएर राजधानी तेहरानसहितका मुख्य सहरहरूमा भीषण आक्रमण गरेको र सोही क्रममा उनी मारिएको दाबी गरिएको हो । तर, इरानी सञ्चारमाध्यमहरूले भने लारीजानी सुरक्षित रहेको र उनले छिट्टै सार्वजनिक सन्देश जारी गर्ने बताउँदै इजरायली दाबीको खण्डन गर्ने प्रयास गरिरहेका छन् ।

तेहरानसँगै अह्वाज, इस्फाहान र सिराज़ जस्ता प्रमुख सहरहरूमा भएका यी श्रृंखलाबद्ध विष्फोटहरूले इरानभित्र ठूलो हलचल पैदा गरेको छ । अलजजिराका अनुसार इजरायली आक्रमण केवल लारीजानीमा मात्र सीमित थिएन, इरानको शक्तिशाली अर्धसैनिक बल बासिजका प्रमुख घोलमरेजा सोलेमानीलाई पनि इजरायलले मारेको दाबी गरेको छ ।

सन् २०१९ देखि साढे चार लाखभन्दा बढी स्वयंसेवक दस्ताको नेतृत्व गरिरहेका सोलेमानी इरानी शासनका कट्टर रक्षक मानिन्थे। उनलाई पश्चिमा देशहरूले विभिन्न प्रतिबन्धको सूचीमा समेत राखेका थिए । यी दुई जना उच्च अधिकारीमाथिको प्रहारले इरानको आन्तरिक र राष्ट्रिय सुरक्षा संयन्त्रमा गहिरो चोट पुगेको विश्लेषण गरिएको छ ।

आक्रमण हुनुभन्दा केही घण्टा अघि मात्रै अली लारीजानीले एउटा पत्रमार्फत विश्वका इस्लामिक देशहरूको कडा आलोचना गर्नुभएको थियो । उहाँले इरान सङ्कटमा पर्दा कुनै पनि मुस्लिम राष्ट्रले सहयोग नगरेको भन्दै ती देशहरूको भूमिकामाथि प्रश्न उठाउनुभएको थियो ।

अहिले लारीजानी मारिएको खबरले क्षेत्रभरि नयाँ युद्धको संशय पैदा गरेको छ भने इरानले आफ्ना प्रमुख कमाण्डरहरूको मृत्युको विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । यदि इजरायली दाबी सत्य साबित भएमा यसले इरान र इजरायलबीचको द्वन्द्वलाई एउटा नयाँ र थप भयानक मोडमा पुर्‍याउने निश्चित देखिएको छ ।


सम्बन्धित समाचार