३ चैत,काठमाडौं । सर्वोच्च अदालत ले रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमा सुनुवाइ जारी राख्दै बिहीबार पुनः बहस गर्ने भएको छ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को संयुक्त इजलासमा आइतबारदेखि सुरु भएको सुनुवाइ मंगलबार पनि नसकिएकाले ‘हेर्दाहेर्दै’मा चैत ५ गतेका लागि पेसी तोकिएको हो। यसबारे सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइराला ले जानकारी दिएका छन्।
यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेल को संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि चैत १ गते पेश गर्न आदेश दिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारी बराल ले अघिल्लो सरकारका पालामा लामिछानेविरुद्ध दर्ता गरिएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसविरुद्ध युवराज पौडेल, दिनेश त्रिपाठी र आभास रेग्मी ले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका हुन्।
अब उक्त मुद्दामा बिहीबार हुने सुनुवाइबाट आगामी कानुनी प्रक्रियाको दिशा तय हुने अपेक्षा गरिएको छ।

















