Logo

४ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांसद अभिमुखीकरण आज समापन हुँदै छ । मंगलबारदेखि सुरू भएको अभिमुखीकरणमा रास्वपाले नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास सिकाइरहेको हो ।

आजको सत्रको सुरूआत योगाभ्यासबाट हुनेछ। एलपी भानु शर्माले योगध्यान सिकाएपछि सुरू हुने सत्रमा आज डा तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रियाबारे सुसूचित गर्नेछन्। उनले विशेषतः योजना तथा बजेट निर्माणबारे जानकारी गराउनेछन् । ज्ञवाली राष्ट्रिय योजना आयोगका पूर्वसचिव समेत हुन् ।

यस्तै आजको सत्रमा पूर्वसचिव प्रतापकुमार पाठकले सुशासनसम्बन्धी अवधारणा र अभ्यासबारे जानकारी दिनेछन् ।

सांसदहरूको यसमा भूमिका के हुने भन्नेबारे उनले बताउने कार्यसूची रहेको रास्वपाले जानकारी दिएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी र सांसदको सम्बन्धबारे जानकारी दिनेछन्। नयाँ राजनीतिक संस्ककारमा सांसदको भूमिका, आचारसंहिता तथा न्यूनतम प्रतिबद्धतामा केन्द्रित रहेर उनले प्रस्तुति दिनेछन् ।

आजकै सत्रमा सांसदहरूले एजेण्डा प्राथमिकताबारे समूहमा कार्य गर्नेछन् । समापन सत्रमा जेनजी सांसद प्रशान्त उप्रेती र खिमा विकले धन्यवाद दिने कार्यसूची राखिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

बुर्लाकोटीका अनुसार आजको सत्रमा पार्टी सभापति रवि लामिछाने सहभागी हुनेछन्। अभिमुखीकरणको सभापन सभापति लामिछानेले गर्ने कार्यसूची रहेको छ ।


सम्बन्धित समाचार