४ चैत, काठमाडौँ । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन् । तेहरानमा मङ्गलवार रातिको आक्रमणमा लारिजानीका छोरासँगै सुरक्षाकर्मीहरू पनि मारिएका द गार्जियनले जनाएको छ ।
यसअघि इजरायलले लारिजानी मारिएको दाबी गरेको थियो, जसलाई अब इरानले आधिकारिक रूपमा स्वीकार गरेको छ । यो घटना इरानका लागि ठूलो क्षति मानिएको छ, लारिजानी देशको सुरक्षा तथा राजनीतिक संरचनामा अत्यन्त प्रभावशाली व्यक्ति थिए । विश्लेषकहरूका अनुसार लारिजानीको मृत्युले युद्धको दिशा थप जटिल बनाउन अनुमान छ ।
यसैबीच अमेरिका–इजरायल र इरानबीचको युद्ध १८औँ दिनमा प्रवेश गरेको छ । इजरायलले लेबनानको टायर शहरमा नयाँ विस्थापन आदेश जारी गरेपछि हजारौं सर्वसाधारण सुरक्षित ठाउँतर्फ गएका छन् ।
निरन्तर बमबारीका कारण लेबनानमा ठूलो जनधनको क्षति भएको छ भने १० लाख भन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रसङ्घले यस्ता आक्रमणहरू अन्तर्राष्ट्रिय मानवीय कानून विपरीत हुन सक्ने र युद्ध अपराधको रूपमा लिन सकिने चेतावनी दिएको छ ।
अर्कोतर्फ, होर्मुज जलमार्गमा तनाव बढ्दै गएको छ, जसले विश्व बजारमा तेल र ग्यासको मूल्य वृद्धि गराएको छ । इरानले ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमा अवरोध गर्दा विश्वको २० प्रतिशतभन्दा धेरै तेल तथा प्राकृतिक ग्यास मध्यपूर्वबाट बाहिरिन पाएको छैन । युद्धका कारण विश्व बजारमा तेलको सङ्कट बढेको छ ।

















