Logo

२१ वैशाख,वीरगञ्ज । वीरगञ्ज स्थित एकीकृत सुरक्षा जाँच चौकीमा १ हजारभन्दा बढि सवारी साधन थन्किएका छन् । आयातकर्ताले भारत तथा अन्य देशबाट आयात भएका सवारीसाधन जाँचपास गराएर नलगेपछि साना तथा ठूला गरि एक हजार ९ सय ९ वटा सवारी साधन भन्सारमै थन्किएका हुन् ।

आयात भएका कार÷जीप ६ सय २९, बस ३४, ट्रकका चेसिस ८ सय ४४, नयाँ चेसिस ३ सय ८६ र ट्र्याक्टर १० वटा लगायतको सवारीसाधन भन्सारमा थन्किएको छ । बजारमा सवारी साधनको माग घटेको र बैंकले समेत विलासिताकोे वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले नलग्नाले अहिले एकीकृत जाँच चौकीमा हजारौँ सवारी थन्किएको हो । आयात गरेका सवारी साधन व्यवसायीको शोरुम वा गोदममा हुनुपर्नेमा यसरी लामो समयसम्म थन्किँदा समस्या भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख डिल्लीराम पन्थीले जानकारी बताए ।

सवारी साधन थन्किनुको प्रमुख कारण राष्ट्रिय अर्थतन्त्रमा देखिएको मन्दी भएको प्रमुख पन्थीको भनाई छ । आयातकर्तालाई गाडी छिटो लैजान र आइसीपीमा ठाउँ खाली गरिदिन आग्रह गर्दै आए पनि थोरै थोरै गरेर मात्र गाडी भन्सार जाँचपास गरेर लगिरहेको प्रमुख पन्थीले बताए । सरकारले विलासिताको वस्तु आयातमा रोक लगाएपछि वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनसमेत प्रभावित भएको छ । कार्यालयले चालु आर्थिक वर्ष हालसम्ममा २ खर्ब ४ अर्ब ९१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ५९ दशमलव ८२ प्रतिशत अर्थात् १ खर्ब २२ अर्ब ५७ करोड रुपैँया राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले बताउनु भएको हो ।

कार्यालयको चालु आव २०७९÷८० मा रु २ खर्ब ६० अर्ब ९७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको छ । हालसम्म वार्षिक लक्ष्यको ४७ प्रतिशत मात्र राजस्व सङ्कलन भएको हो । चालु आवमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुने सम्भावना कम रहेको ढकालको भनाइ छ । समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तुको आयातमा प्रतिबन्ध तथा एलसी खोल्नमा कडाइ पनि गरिएकाले राजस्व सङ्कलन घटेको कार्यालयले जनाएको हो ।

 


सम्बन्धित समाचार