Logo

६ जेठ,वीरगञ्ज । वीरगञ्जमा महिला तथा बालबालिका माथी हुने हिंसामा प्रतिरोधका आवाजहरु तथा पिडित महिलाका विजयका कथाहरु बारे छलफल कार्यक्रम सम्पन्न भएको छ । दलित महिला केन्द्र नेपालको आयोजनामा शुक्रबार भएको सो कार्यक्रममा ५ जना पिडित महिलाले आफ्नो विजयका कथाहरु संक्षिप्त रुपमा प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा सहभागी महिलाहरुले सानो उमेरमा विवाह गरिदिने, दाइजोका कारण कुटपिट गर्ने, बहुविवाह गरेर कुटपिट गर्ने जस्ता घटना सुनाएकि थिइन् । मधेशको समाजमा लाज र इज्जत जाने डरले कतिपय घटना दबेका हुन्छन् । सहि जानकारी नहुदा वर्षौ देखी हिंसाको सिकार महिलाहरु प्रहरी प्रशासनको सहयोगबाट आफुहरुको जिवनमा परिवर्तन आएको कथा सुनाएकि थिइन् । उचित परामर्शकर्ताको सहयोगमा महिलाहरु सम्बन्धित निकायमा पुगेपछि न्याय पाएको उनीहरुको भनाइ थियो ।

हिंसाको सिकार भइ दबिएर रहेका आवाजलाइ बाहिर ल्याउने र हिंसामा परेर पनि विजय प्राप्त गरेका महिलाहरुको कथा सुनाएर जागरुकता फैलाउने उद्देश्यका साथ कार्यक्रममा विभिन्न क्षेत्रका महिलाहरुलाइ सहभागि गराइएको थियो । उचित परामर्शकताको सहयोगमा कसरी न्याय सम्म महिलाको पहुच बढाउन सकिन्छ भन्ने विषयमा पनि कार्यक्रममा समावेस गरिएको थियो ।

कार्यक्रममा सहभागी सखुवा प्रसौनी गाउँपालीकाका अभियन्ता राधेश्याम रामले स्थानीय वासी र स्थानीय नेताहरुको चलखेलले गाउँघरमा महिलाहरुको घटना दबिने गरेको बताए । उनले पर्साको मिर्जापुरकि एक निःसन्तान महिलालाइ ससुराली घर खुशी नहुँदा विष खुवाएर मारेको घटना बाहिरीए पनि स्थानीयहरुले ढाकछोप गरेपछि दोषि माथी कारवाहि हुन नसेको बताए । घटनाको मुचुल्का उठाउदा प्रहरीलाइ सहि जानकारी नगराउदा पनि दोषि उम्कने गरेको उनको भनाइ थियो ।

मञ्जु श्री असहाय केन्द्रकि ओम कुमारी शर्माले शिक्षा भन्दा पनि व्यवहारमा परिवर्तन ल्याए मात्र हिसांको घटनामा कमी आउने बताइन् । उनले दाइजो मुक्त समाजका लागी व्यवहारमा सुधार गर्नुपर्ने जरुरी रहेको र स्थानीय निकायले यस प्रति गम्भिर भएर ध्यान दिनुपर्ने बताइन ।

ठोरी गाउँपालीकाकि उपाध्यक्ष गोकुली रेग्मीले आफुहरुको पालीका पिछिडिएको पालिका भएपनि शिक्षित व्यक्ति बढि भएकाले यस प्रकारको घटना कम हुने गरेको बताइन् । कार्यक्रममा सहभागी पुर्व वडा सदस्य मनोजा चौधरीले जति धेरै शिक्षित समुदाय त्यत्ति धेरै दाइजोको लेनदेनले गर्दा पनि हिसां नरोकिएको बताइन् । उनले अहिलेको समयमा महिला मात्र नभइ पुरुष पनि पिडित हुने गरेकाले यस प्रति सबैको ध्यान जानुपर्ने बताइन् ।

कार्यक्रममा सहभागी अधिवक्ता चन्द्रिका प्रसाद पटेलले बलियोले कमजोर माथी गर्ने नराम्रो व्यवहार नराम्रो बोलिवचनले हिंसाको सुरुवात हुने गरेको बताए । हिसांलाइ पुर्णरुपमा रोक्न नसके पनि सचेतनाका कार्यक्रमले मानिसहरुलाइ जागरुक बनाउन सकिने र यस्ता घटनाको न्युनिकरण गर्न सक्ने उनले बताए ।

मधेशको समाजमा वैवाहिक सम्बन्धबाट नै हिंसाको सुरुवात हुने गरेको अधिवक्ता पटेलले बताए । “मन नपराएको व्यक्तिसंग जबरजस्ति वैवाहिक सम्बन्ध जोडिनु, आमा बुवाको इच्छा छोराछोरी माथि थुपार्नु महिला भएरै दाबेर राख्ने प्रवृति जसले गर्दा अहिले जिल्ला अदालतमा पढेलेखेका व्यक्ति नै बढि सम्बन्ध बिच्छेद गर्ने गरेको,’ उनले भने । मधेसको समाजमा श्रीमानलाइ अझैं “मालिक साहेब” भन्नेर सम्बोधन पर्ने अवस्था भएर पनि महिलाले पुरुषलाइ भगवानको दर्जा दिएर पनि दबिएर शोषण सहेर बस्नु पर्ने अवस्था रहेको उनले बताए ।

पटेर्वा सुगौली गाउँपालीकाकि न्यायिक समिति मेलमिलाप कर्ता निर्मला भुषालले अहिले दोस्रो विवाहमा परेर महिलाहरु विवाहदर्ता, नागरिकता र सन्तानको जन्मदर्ता जस्ता प्रमाणबाट वञ्चित हुने गरेको समस्या सुनाइन् ।

कार्यक्रममा सहभागी तारकेश्वर चौधरीले महिलाहरुले बारम्बार छोरी जन्माउदा पनि हिंसा हुने गरेको बताए । अहिले स्थानीय सरकारमा महिला जनप्रतिनिधि आएकाले यस प्रकारका घटनामा न्यायिक समिति मार्फत सचेतना फैलाएर कम गर्न सकिने उनले बताए । महिलाहरु बिहान देखी बेलुका सम्म घरेलु कामकाजमा व्यस्त भएपछि अहिले विभिन्न अवसर बाट बञ्चित हुनु परेको चौधरीको भनाइ थियो ।

दलित र सिमान्तकृत महिला तथा बालिकाहरु मथि हुने हिंसाको विरुद्धमा लड्नका लागी संयन्त्र निर्मार्ण साथै स्थानीय सरकारका नीतिहरुमा सुदृढीकरण गरि हिसां न्युनिकरण गर्ने उद्देश्यका साथ दलित महिला केन्द्र नेपालले सो कार्यक्रमको आयोजनामा गरेको थियो ।


सम्बन्धित समाचार