Logo

७ जेठ, वीरगञ्ज । मधेस प्रदेशको सरकारी अस्पताल मध्ये वीरगञ्जको नारायणी अस्पताल स्तरीय र ठूलो अस्पतालको रुपमा चिनिन्छ । अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरीबाट विरामीहरु उपचार गर्न वीरगञ्ज आउने गरेको पाइन्छ ।

वीरगञ्जको नारायणी अस्पतालमा उपचारार्थ भर्ना भएका विरामीको लागि दैनिक रुपमा खाना अस्पतालले दिदै आएको छ । तर विगत केही महिना देखि अस्पतालमा उपचारार्थ भर्ना भएका अधिकाशं विरामी निशुल्क खानाबाट बञ्चित भएका छन् । सिमित विरामीलाई वितरण गरिएको खाना समेत गुणस्तर हिन भएको विरामी र तीनका कुरुवाहरुले आरोप लगाएका छन् ।

नेपाल सरकारले दिएको सुविधा अनुसार अस्पतालमा भर्ना हुने बिरामीहरुलाइ पोसिलो खाना दिनुपर्ने हो तर अहिले विरामीहरु सो सेवाबाट बञ्चित भएका छन् ।
अस्पतालमा बच्चा वार्ड मेडिकल वार्ड र सर्जिकल वार्डका बिरामीहरुलाइ निशुल्क खानाको व्यवस्था गरिएको छ । तर अहिले बिरामीले निशुल्क खाना नपाएको गुनासो गरिरहेका छन् ।

निशुल्क खाना कार्यक्रमका इन्चार्ज सहायक मेट्रोन श्रुती साह अस्पतालले वितरण गर्न खानाको गुणस्तर र सवै विरामीले किन पाउँन नसकेको हो भन्ने बिषयमा प्रश्न गर्दा उनीले आफूलाई जानकारी नभएको जवाफ दिइन् ।

रासन व्यवस्थापनका पूर्व इञ्चार्जसमेत रहेका अशोक श्रीवास्तव पहिला पहिला रोग अनुरार डाइट चार्ट प्लान गरेर बिरामीलाई खाना दिने गरे पनि अहिले त्यस्तो नभएको बताए ।

‘हामीले सञ्चालन गर्दा बिरामीको रोग अनुसार डाइट चार्ट प्लान गरेर खान दिन्थ्यौँ, जस्तै मधुमेहका विरामीका लागि रोटी दिइन्थ्यो भने सर्जरी भएकाहरुलाई जाउलो र फलफूलसमेत दिन लाउँथ्यौं’, उनले भने ‘अण्डा बिरामी अनुसार थियो भने दूध अनिवार्य दिन लगाउँथ्यौँ ।

आर्थिक वर्ष २०७८÷०७९ मा निशुल्क रासनका लागि भनेर ३८ लाख २० हजार रुपियाँ बजेट आएको थियो । जसमध्ये ३१ लाख ६३ हजार ८३७ रुपैयाँ खर्च भएको अस्पताल प्रशासनले जनाएको छ । अघिल्लो बर्ष आएको बजेटलाई सहि रुपमा प्रयोग गर्न नसक्दा ६ लाख ५६ हजार १६३ रुपैयाँ फ्रिज भएको थियो ।

चालु आर्थिक वर्षका लागि बजेट बढेर अएको छ । ०७९÷८० मा ४० लाख बजेट प्राप्त भएको छ भने चैतसम्ममा ३२ लाख १८ सय खर्च भइसकेको अस्पतालको तथ्यांकमा उल्लेख छ ।

वीरगञ्जको नारायणी अस्पतालले विरामीको लागि वितरण गरेको गुणस्तरहिन सुख्खा खाना तस्विर : सुस्मा शर्मा

खानाका लागि बजेट पनि छ र बजेट खर्च पनि भएको छ । तर विरामीले खाना पाएका छैनन् । पाएकाले पनि सफा र गुणस्तरीय पोसिलो खाना पाएका छैनन् । निशुल्क खाना वितरणको अनुगमन अस्पताल प्रशासनबाटै हुनु पर्नेमा अनुगमनसमेत नहुने गरेको अस्पतालकै एक कर्मचारीले बताए ।

‘भर्ना भएका कतिले आफैं खान ल्याउँछन्, निशुल्क खाना लिन भान्छासम्म जान नसक्नेले खानै पाउँदैनन्,’ ती कर्मचारी भन्छन् ‘तर पनि सबै बिरामीले खाना पाए भनेर रिपोर्ट तयार पारिन्छ र बजेट सकिन्छ ।’

नारायणी अस्पताल मेडिकल रेकर्डका प्रमुख अशोक श्रीवास्तवका अनुसार शिशु वार्ड, मेडिकल वार्ड र सर्जिकल वार्डका बिरामीहरुलाई निशुल्क खानाको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्दै आएको छ ।

जसमा १५० ग्राम भात ५५ ग्राम दाल र ४५ ग्राम मौसमी तरकारीका साथै बिहान १ ग्लास दूध छ । अप्रेशन गरिएका विरामीलाई जाउलोको समेत सुविधा छ । तर पछिल्लो समयमा बिरामीहरुले निशुल्क खाना नपाएको गुनासो गरिरहेका छन् । अस्पतालमा भर्ना भएका विरामी र उनका कुरुवाले उठाएको कुरा सुन्ने प्रशासक फेला पर्दैनन् ।

जलनको उपचारका लागि अस्पतालमा भर्ना भएकी लक्ष्मी देवी राम आफूले खाना नपाएको बताउँछिन् । ‘मलाइ यहाँ खाना दिइएको छैन, डाक्टरले अण्डा खानु भनेका छन्,’ विपन्न परिवारकी उनले भनिन्, ‘एक छाक भात त पाएको छैन, अण्डा कसले दिने ?’

उनी आफू गरिब भएको र औषधि उपचारका लागि पैसा समेत नभएको बताउँछिन् । मेडिकल वार्डमा भर्ना भएका बिरामी अनुपले खाना त पाएका छन् तर उनले दूध पाएका छैनन् ।

बिहान ८ बजे नै खाना तयार हुन्छ त्यसैले उनलाई पनि समस्या छ । ‘८ बजे भित्र खाना लिन जानुपर्छ, बिहानै रूच्दैन, १० बजेतिर भोक लागेपछि खाँदा त्यो खाना चिसो भइसक्छ,’ उनी गुनासो गर्छन् ।

नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंह भने बिरामीलाई भात, दाल, मौसमी तरकारी, दूध र अण्डा दिने गरिएको दाबी गर्छन् । अस्पतालमा भर्ना भएका बिरामीका लागि खाना वितरण गर्न छुट्टै कर्मचारीको व्यवस्था नभएकाले कुरुवा नभएका बिरामीले निशुल्क खाना नपाएको हुन सक्ने उनले स्वीकार गरे ।

‘खाना तैयार भइसक्यो भनेर वार्डमा कर्मचारीले जानकारी गराउँछन्,’ डा.सिंहले भने, ‘त्यसपछि जो जो भान्छामा पुग्छन् उसले खाना पाउँछन् ।’ दाल, भात, तरकारी, दूध र अण्डा बाहेक अरु थप खाना पनि दिनुपर्ने सम्बन्धमा आफूलाई जानकारी नभएको उनले बताए ।


सम्बन्धित समाचार