Logo

१२ असार,वीरगञ्ज । पूर्वपश्चिम राजमार्गस्थित पथलैयादेखि वीरगन्ज महानगरपालिकासम्म बिजुली बसको सेवा विस्तार गरिने भएको छ । स्थानीय व्यवसायीहरुको पहलमा सञ्चालन गरिएको सुन्दर यातायातले पथलैया–वीरगन्ज औद्योगिक करिडोरको प्रवेशस्थल पथलैयादेखि वीरगन्जसम्म बिजुली बसको सेवा विस्तार गर्ने जनाएको हो ।

सुन्दर यातायातले असार अन्तिम सातादेखि सुविधायुक्त विद्युतीय बस सञ्चालन गर्ने गरि सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ । निजी क्षेत्रको यो कम्पनीले बस सञ्चालन गर्न चार विद्युतीय बस ल्याइसकेको छ । यो करिडोरमा पर्ने बजारहरु पथलैया, सिमरा, जितपुर, परबानीपुर हुँदै वीरगन्जसम्मको यात्रा २५ किलोमिटर हुनेछ । यो बस व्यापारिक ६ लेन सडकमा चल्नेछ ।

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले संघीय सांसद किसान श्रेष्ठको आग्रहमा बस सेवा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो । उहाँले असारको अन्तिम भित्र सेवा सुचारु गरिने बताउनुभयो । बिजुली बस जर्मनी प्रविधिमा चीनले उत्पादन गरेका हुन् । यी बस युरोप मापदण्डका हुन् ।

यस्ता बस विश्वका सम्पन्न मुलुकमा समेत प्रचलनमा आएको र अन्तर्राष्टिय स्तरका भएको थापाले दाबी गर्नुभएको छ ।
अहिले बिजुली बस चार्ज गर्नका लागि सिमरा क्षेत्रमा चार्जिङ स्टेसन बनाउने काम भइरहेको छ । कम्पनीका अनुसार स्टेसनको काम अन्तिम अवस्थामा पुगेको छ भने बस चीनबाट वीरगन्जमा आइसकेका छन् ।

३५ सिट क्षमताका यी बसमा जिपीएस प्रविधि जडान गरिने छ । कम्पनीलाई केन्द्रीय कार्यालयबाट बस र यात्रुको मनिटरिङ गर्न सजिलो हुनेछ । कम्पनीले सिमरा क्षेत्रमा बनाउन लागेको चार्जिङ स्टेसन सौर्य तथा विद्युत दुवैको कनेक्सन हुनेछ ।

यसबाट अन्य निजी तथा सार्वजनिक सवारीसाधनले पनि प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार तीनदेखि ५ रुपैयाँ प्रतियुनिट शुल्क लाग्नेछ । कम्पनीले चार्जिङ स्टेसनमा एटिएम, कोल्ड स्टोर, रेष्टरुम पनि बनाउने छ ।

निजी क्षेत्रमा विद्युतीय बस सञ्चालन गर्ने सुन्दर यातायात पहिलो कम्पनी हो । यो कम्पनीले देशका अन्य भागमा १९ वटा बस सञ्चालन गरेर सेवा दिँदै आएको छ । अहिले यो रुटमा सेवा विस्तार गरेको हो । आगामी आर्थिक वर्षभित्र देशका अन्य स्थानमा सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

कम्पनी ऐन अनुसार चालक, सहचालकदेखि मनिटरिङ अपरेसन विभाग, चार्जिङ स्टेसनमा कार्यरत प्राविधिक कर्मचारी सबै माग भइसकेको कम्पनीले जनाएको छ । यातायात व्यवस्था विभागले तोकेको मापदण्ड अनुसार अपांगता भएका, वृद्धवृद्धा, विद्यार्थी लगायतलाई भाडामा छुट दिइने छ । सवारीको सुविधाअनुसार तीन तहको भाडादर रहे पनि लोकल बसको भन्दा भाडादर धेरै हुने छैन ।

तराईको गर्मीमा बिजुलीको चिसो सुविधासहितको सेवा यात्रुलाई दिने लक्ष्य राखेको अध्यक्ष थापाको भनाइ छ । एयर कन्डिसनर सेवासहितका यी विद्युतीय बस वातावरणमैत्री रहेको कम्पनीको दाबी छ ।

बसमा यात्रा गर्दा टाउको नदुख्ने, रिगंटा नलाग्ने, बान्ता नहुने र आरामदायी यात्रा हुनेछ । कुनै प्रकारको इन्धन खपत नगर्ने भएकाले यो बस डिजेल गाडीको जस्तो चर्को ध्वनि रहित हुनेछ ।
करिडोरमा सञ्चालनलगत्तै कम्पनीले हेटौंडा–वीरगन्जमा २० सिट भएको ४ वटा बसले सेवा विस्तार गर्ने जनाएको छ, जुन भैरहवा भन्सारमा यही असार २५ गते आइपुग्ने बताइएको छ ।


सम्बन्धित समाचार