Logo

१२ साउन, वीरगञ्ज । शैक्षिक संस्थामा राजनीतिलाई प्रवेश गर्न दिनुहुन्न भन्ने मान्यतामा अधिकांश सहमत हुन सक्लान् । तर, सम्पूर्ण नीतिहरुलाई नेतृत्व गर्ने मूल नीति नै राजनीति भएकोले यसलाई विद्यालय तहबाटै व्यावहारिक अभ्यास र सिकाई गर्दै जानुपर्छ भन्ने मान्यताले वीरगञ्ज स्थित गौतम माध्यमिक विद्यालयमा संसदीय निर्वाचनको नमूना अभ्यास गरिएको छ ।

सामाजिक विषयको पाठ्यक्रममा नै समावेश गरिएको निर्वाचनको व्यवहारिक रुपमा अभ्यास गराएर विद्यार्थीहरुमा राजनीतिक संस्कारको विकास गर्ने र निर्वाचन प्रणालीको बारेमा व्यावहारिक ज्ञान प्राप्त होस भन्ने उद्देश्यले विद्यालयमा नमूना निर्वाचन अभ्यास गराईएको गौतम माध्यमिक विद्यालयका निर्देशक सोनाम लामाले जानकारी दिनुभयो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्यबाट ६५७ जना मतदाताको सहभागितामा शुरुवाती चरणदेखिको मनोनयन गरि निर्वाचन प्रकृया मार्फत नमूना अभ्यास गरिएको हो । नेपालमा विद्यमान निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रलाई २० प्रतिशतको अनुपातमा गौतम माविले ३३ वटा निर्वाचन क्षेत्र कायम गरी निर्वाचन सम्पन्न गराएको छ ।

त्यस्तै १ सय १० वटा समानुपातिक सिटको २० प्रतिशत अनुपात अनुरुप २२ वटा सिटका लागि समानुपातिकतर्फको मतदान भएको गौतम माविका सामाजिक विषयका विभागीय प्रमुख दिनेश क्षेत्रीले जानकारी दिनुभयो ।कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुलाई विभिन्न ५ वटा राजनीतिक दलमा विभाजन गरी प्रत्यक्ष र समानुपातिक निर्वाचन गराइएको हो ।

इन्डिपेन्डेण्ट डेमोक्रेटिक युनियन, नेपाल समावेशी पार्टी, विद्यार्थी समावेशी पार्टी, नेपाल विद्यार्थी समूह र प्रथा युनियन गरी ५ वटा राजनीतिक दलका ५५ जना उम्मेदवारहरुले ३३ वटा निर्वाचन क्षेत्रबाट सांसद पदमा उम्मेदवार बनेका निर्वाचन आयुक्तको भूमिकामा रहेका अरुनव रिजालले बताउनुभयो ।

कक्षा १० का छात्र अरुनभ रिजालका अनुसार ३३ वटै निर्वाचन क्षेत्रबाट जम्मा ६ सय ५० मत खसेको छ । समावेशी सिद्धान्त अनुरुप ३३ प्रतिशत अनिवार्य रुपमा महिला उम्मेदवार बनाइएको रिजालले बताउनुभयो । आइतवारसम्म निर्वाचनको मतगणना सकेर संसद र सरकार गठनको प्रक्रिया थालिने र लगत्तै मन्त्रीमण्डल गठनपछि नीति तथा कार्यक्रम बनाई पारित गर्ने योजना रहेको सामाजिक शिक्षक सोनीले बताउनुभयो ।

निर्वाचन प्रणाली र प्रकृयामा विद्यार्थी आफै सहभागी हुन पाएकोले व्यवहारिक रुपमै अभ्यास गर्दा निर्वाचनको प्रक्रियाका बारेमा परीक्षामा आउँदा सहज रुपमा लेख्न सक्ने गौतम माविका प्रबन्ध निर्देशक सोनाम लामाले बताउनुभयो । युवा पुस्तामा राजनीतिप्रति बढ्दै गएको वितृष्णा र पुस्तान्तरणसँगै राजनीतिमा नयाँ संस्कारको विकास गर्नमा पनि यो नमूना अभ्यास उपयोगी हुन सक्ने विद्यालयका प्रवन्ध निर्देशक लामाको भनाई छ ।

विद्यालयमा लोकतन्त्रको बारेमा जान्ने र लोकन्त्रको बारेमा खुलेर बोल्न सक्ने अवसरको रुपमा नमूना निर्वाचनलाई आफूले लिएको नेपाल समावेशी पार्टीबाट उम्मेदवार समेत बनेका विद्यार्थी स्याञ्जो यादवले बताए । कक्षा ६ बाट कक्षा उत्तीर्ण गरी आएका विद्यार्थीहरुलाई विद्यालयमा कसरी आफ्नो कुराहरु निर्धक्कसँग राख्न सकिन्छ ? आफ्नो कर्तव्य र अधिकार के हो भन्ने बारेमा आफूहरुले सिकाउने मुख्य एजेण्डा सहित उम्मेदवार बनेको विद्यार्थी समावेशी पार्टीका उम्मेदवार नमन श्रेष्ठले बताउनुभयो ।

विद्यालय र समाजमा एकता र सदभाव कायम राख्ने एजेण्डा सहित आफूहरु चुनावी प्रतिस्पर्धामा उत्रिएको र आफूहरुलाई निर्वाचनमा पनि जिताउने पूर्ण विश्वास रहेको प्रथा युनियनका अध्यक्ष नारायण माझीले बताउनुभयो ।


सम्बन्धित समाचार