Logo

२६ साउन,रौतहट । जिल्ला कारागार रौतहटमा क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेका कारण दिनचर्या कठिन बनेको छ । करिब दुई सय जनाको क्षमता रहेको कारागार भवनमा हाल ३७६ कैदीबन्दी राख्नुपर्ने अवस्थाले उनीहरूको दिनचर्या कठिन बनेको कारण भवन विस्तार गर्न जरुरी देखिएको हो ।

“क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा एउटै कोठामा धेरै जना कोचेर राख्नुपर्ने बाध्यता छ,” कारागार कार्यालय गौरका प्रमुख ‘जेलर’ मणिभूषण साहले भन्नुभयो, “उनीहरूको सुताइ र स्वास्थ्यमा समस्या परेको छ । अधिक कैदीबन्दी रहेकै कारण उनीहरूको समस्याको उपयुक्त ढङ्गले समाधान गर्न सकिएको छैन ।

भवन थप्न वा बढाउन सकिएमा उक्त समस्या समाधान हुने छ ।” उहाँका अनुसार पुरानो जीर्ण भवन रहेको सो कारागारमा वर्षाको पानी पस्नाले कैदीबन्दीले निकै ठुलो सास्ती भोग्नुपरेको पनि छ । सडकको सतहभन्दा होचो संरचनाले वर्षाको भेल कारागारभित्र नै पस्ने हुँदा कैदीबन्दीलाई बस्न र सुत्न ठुलो समस्या छ ।

पानीको निकास नहुँदा पानी तान्ने मोटर लगाएर कारागारभित्र जमेको पानी बाहिर फाल्ने गरिन्छ ।यस्तै सङ्ख्या बढी हुँदा कोही कैदीबन्दी बरन्डा र भ¥याङ्मुनि त कोही भान्छाको काम सकिएपछि भान्छा कोठामा सुत्ने गरेको एक कैदीले बताउनुभयो । कोचिएर सुत्नुपर्ने बाध्यताले अधिकांश बन्दीमा दाद, दिनाई, लुतो, ‘एक्जिम्मा’ जस्ता सरुवा छाला रोग फैलिएको पाइएको छ ।

समय समयमा उपचार पाउँदा पनि कोचिएर सुत्दाको अवस्था र वर्षाको फोहोर पानी कारागारभित्र पस्दा छालाजन्य रोगले सताउने गरेको बन्दीको गुनासो छ । यता प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कारागारको जग्गा अतिक्रमण भएको कारण कारागार भवन बढाउन समस्या भएको बताउनुभयो ।

कारागार भवनदेखि दक्षिणतर्फको जमिन अतिक्रमित छ । जिल्ला नापी कार्यालय र मालपोत कार्यालयसँगको अभिलेखले उक्त कुरा यकिन भएको बताउँदै उहाँले अतिक्रमित जमिन खाली गराई कारागार भवन बढाउन सकिने सम्भावना रहेकाले सो कार्य यथाशीघ्र गरिने बताउनुभयो ।

यस सम्बन्धमा कारागार व्यवस्थापन विभागमा पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो ।विक्रम संवत् १९८९ सालमा अर्थात् ९१ वर्षअघि निर्माण भएको उक्त कारागारको मर्मतसम्भार र भवन विस्तार गर्न अत्यन्त जरुरी छ । हाल कारागारमा २० जना महिला पनि बन्दी जीवन बिताइरहेका छन् । जसमध्ये दुई जना नाबालक पनि छन् ।


सम्बन्धित समाचार