Logo

१५ भदौ,वीरगञ्ज । दुई दशकपछि गण्डक नहरको पानीले बारा पर्सा सहित रौतहटका किसानले सिँचाइ गर्न पाएका छन् ।

विगतमा छुटफुट रूपमा सिँचाइको व्यवस्था भए पनि लामो समयपछि नहरको पानी रौतहटसम्म पुगेको नारायणी सिँचाइ व्यवस्था कार्यालय पर्साले जनाएको छ ।

प्राविधिक र कर्मचारीको दुई वटा छुटाछुटै टोली बनाएर दिनरात खटिएर यसपटक रौतहट पानी पुर्याउन सफल भएको इन्जिनियर सुरेश प्रसाद साहले जानकारी दिनुभयो ।

खेतमा सिँचाइको पानी पुगेपछि किसान खुसी भएको उहाँको भनाइ छ । तीनै जिल्लाका किसानको जीवनस्तर उकास्ने र कृषि उत्पादन अभिवृद्धि गर्ने उद्देश्यले नारायणी नदीको पानीलाई भारतको बिहार राज्यको वाल्मीकिमा गण्डक ब्यारेज निर्माण गरेर नहर प्रणाली मार्फत दुवै देशमा सिँचाइको व्यवस्था मिलाइएको छ ।

नेपाल र भारत सरकारबीच भएको ‘गण्डक सम्झौता’ अनुसार भारतीय पक्षले नेपालको लागि असार १५ देखि असोज १५ सम्म ८५० क्युसेक पानी नहर प्रणाली मार्फत दिनुपर्ने छ ।

इन्जिनियर साहले चौतर्फी दबाबपछि यसपटक भारतले करिब ७२४ क्युसेक सम्म पानी नहरमा छोडेको बताएका छन् । गण्डक नहरको पानी रौतहटको चपुरबाट गौर जाने बाटोमा रहेको बम नहर मार्फत परोहा, बौधिमाई नगरपालिका र आसपासको क्षेत्रमा पुगेको साहले जनाएका छन् ।

यता रौतहट बौधिमाई नगरपालिकाका नगरप्रमुख प्रदीप यादवले नहरको पानी बाराको सिमानादेखि ५ मिटर अगाडी सम्म मात्रै आएको बताउनुभएको छ ।

गण्डक नहरको नेपाल तर्फ पर्साको जगरनाथपुर गाउँपालिकाबाट सुरु भएर रौतहटसम्म करिब ८२ किलोमिटर लम्बाइमा फैलिएको छ । इन्जिनियर साहले यस पटक ७६ किलोमिटरसम्म नहरको पानी पुगेको जानकारी दिनुभएको छ ।

नारायणी सिँचाइको पानीलाई १६ वटा ब्लकमा विभाजन गरिएको छ जसमध्ये १२ वटा ब्लक बारा, पर्सामा पर्दछ भने १३, १४ र १५ नं ब्लक रौतहटमा छ । १५ नं ब्लक बाहेक सबै क्षेत्रमा यस पटक नहरको पानी पुगेको इन्जिनियर साहको भनाइ छ ।


सम्बन्धित समाचार