Logo

२० भदौ,काठमाडौं । नेपाल नेपाल विद्युत प्राधिकरणले एकै पटक ५१ वटा चार्जिङक स्टेशन सञ्चालनमा ल्याएको छ ।प्राधिकरणले बुधबार एक कार्यक्रमको आयोजना गर्दै औपचारिक रूपमा ती चार्जिङ स्टेशनको उद्घाटन गरेको हो ।

काठमाडौंको भृकुटीमण्डपमा जडान गरिएको चार्जिङ स्टेसन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले उद्घाटन गरेर सबै ठाउँको चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । उद्घाटनको क्रममा मन्त्री बस्नेतले सरकारले विद्युतीय सवारीको चार्जिङ स्टेशन बनाउने योजना अभियानकै रूपमा अघि बढाएको बताए ।

नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगकर्ता बढ्दै गएका छन् भने सरकारले पनि विद्युतीय सवारीको प्रयोगलाई प्राथमिकता दिईरहेको छ,’ उनले भने, ‘विद्युतीय सवारीको विस्तारसँगै चार्जिङ स्टेशनका विस्तार आवश्यक छ ।

’विद्युत प्राधिकरणले थप चार्जिङ स्टेशन बनाउने योजना बनाइ रहेको बस्नेतले बताए । विद्युत् खपत प्रवर्द्धन गर्नका लागि विद्युतीय सवारीको प्रयोगलाई बढवा दिने योजनाका साथ काम भइरहेको उनले बताए ।यी स्टेशनमा २ वटा डिसी र एक वटा एसी चार्जर रहेका छन् ।

ती स्टेशनमा विद्युतीय मोटरसाइकल भने चार्ज गर्न सकिँदैन । हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन् ।

यसबाट ठुला बससहित तीन वटा सवारी साधनले एकैसाथ चार्ज गर्न सक्ने प्राधिकरणले बताएको छ । चार्जको लागि प्राधिकरणले समय अनुसारको इनर्जी शुल्क निर्धारण गरेको छ । चार्ज गर्दा कारहरूका औसत ७० पैसा, एसयुभीहरुमा ८० पैसा, माइक्रो बसमा ९० पैसा र बसहरूमा एक रुपैयाँ २० पैसा प्रतिकिलोवाट खर्च लाग्नेछ ।

नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको व्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ । प्राधिकरणले यसअघि पनि विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।आन्तरिक रूपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधन प्रयोगमार्फत वातावरण मैत्री यातायात प्रणालीको विकासका लागि चार्जिङ स्टेशन स्थापना गरिएको प्राधिकरणले बताएको छ ।


सम्बन्धित समाचार