“आज एक जना आदरणीय ज्येष्ठ नागरिकसित तपाईको भेट गराउने छु, उनका कृतिहरुबारे थाहा पाएर दङ्ग पर्नु हुन्छ ।” केही दिनअगाडि काठमाण्डौ गएको बेला डा. सुमन श्रेष्ठले यसो भन्दा मेरो मनमा तलबल जाग्यो । “नाम के हो उनको ? उनी के गर्छन् ? कता बस्छन् ?” म धमाधम जिज्ञासा ठोक्न थाले । “के. के. कर्माचार्य उनको नाम हो, बाँकि कुरोको लागि आफै भेटेर आफैले सोध्नोस् र आफैले बुझ्नुहोस ।” मुस्काउँदै उनले यति भनेपछि मेरो हुटहुटी झनै थपियो । केहीबेरमै हामीहरु रातो पुल, ज्ञानेश्वरमा स्थित के. के. कर्माचार्यको घरबाहिर पुगिसकेका थियौ । बाहिर बिवेयर अफ डग लेखिएको थियो । म अलि हच्किए, ‘डराउनु पर्दैन’ डा. सुमनले यसो भनेपछि भित्र पस्यौ ।
खासमा उनको पुरा नाममा कान्छा कुमार कर्माचार्य हो, तर उनलाई सबैले के.के. कर्माचार्य भनेर नै चिन्दा हुन् । उमेरको हिसाबले उनी जीवनको पचहत्तरौ खुडकिलामा छन्, तथापि जोशजाँगर र कर्मशिलताको हिसाबले युवा नै छन् । नेपाल सरकारद्वारा जारी हुने कुल डाकटिकटहरुमध्ये ४०० भन्दा बढि टिकटको रचना उनले नै गरेका हुन् । उनले रचना गरेका कैन्वास पैन्टिङ्गहरु दक्षिण कोरिया, जर्मन, चिन, भारत, बाङ्लादेश र जापानमा सन १९७१ देखि एकल अथवा सामुहिक रmपमा प्रदर्शित हुँदै आएका छन् । ग्राफिक डिजायनमा पनि उनको दखल बाक्लै छ । सञ्चार ग्राम, तिलगंगामा स्थापित महाकवी लक्ष्मीप्रसाद देवकोटा, कवि सिरोमणी लेखनाथ पौडेल, नाट्यसम्राट बालकृष्णजस्ता महान विभुतिहरुका आदमकद साइजका ताम्रमुर्तिहरुको संरचनात्मक डिजायन उनले नै गरेका हुन् । बेइजिङ्ग, चिनमा स्थापित नेपालका गौरव अरनिकोको ताम्र मुर्ति उनले नै डिजायन गरेका हुन् । उनले नै डिजायन गरेको पाँच सय फिट अग्लो मैत्रिय बुद्धको मुर्ति यथासम्भव चाडै बोधगया, भारतमा स्थापित हुँदै छ ।
यति मात्र होइन, उनी कला, साहित्य र समाजसेवासित जोडिएका अनेक संस्थाहरुमा नेतृत्वकारी भूमिका समेत निर्वाहन गर्दै आएका छन् । सन् २०१९ मा नेपाल एकेडमी अफ फाइन आर्ट्सको चान्सलरको कार्यभार पनि सम्हालीसकेका छन् । कदर र सम्मानको त कुरो गरेर साध्य नै हुदैन । सन् १९८९ मा गोरखादक्षिणबाहुबाट सम्मानित भएदेखि उनी आजसम्म दर्जनभन्दा बढि राष्ट्रिय स्तरका मानपदकबाट विभुषित भइसकेका छन् । उहाँको कोठा सम्मान र कदर पत्रले टम्म भरिएको छ । भित्तामा उनकै कलाकृतिहरु झुण्डिएका छन्, प्रायःजसो एब्सट्रेक्ट आर्टसित जोडिएका कैन्वास पेन्टिङ्ग छन् । बुझ्नेको लागि रहस्यमयी संसार, नबुझ्नेको लागि केटाकेटीको खेलाँची । दराजमा कतिपय सम्मान अथवा कदरपत्रहरु एकातिर चाङ मिलाएर राखेका छन् । कपाल कन्याउँदै उनी बाध्यता पोख्छन्, “क्यार्नु ? त्यति सम्मानपुर्वक दिन्छन्, लिएर आउनै पर्यो । राख्ने कहा भनेर समस्या भएको छ ।” चिया खाँदै उनका साथ हामीहरm बात मार्दै गर्यो । हामीहरुले सिक्नु नै पर्ने कुरो, उनको सरल अनुहार र सौम्य ब्यवहारको भरमा उनको ब्यक्तित्वको अनुमान गर्नै सकिन्न ।
“बढ्दो उमेरसँगै मान्छेको अनुहार र नाम विस्मृत हुने अनौठो समस्या सुरु भएको छ । कसैले नमस्कार टव्रmयाउँदा अथवा मुसुक्क हाँसेर अभिवादन गर्दा म पनि त्यस्तै फर्काउँछु, तर कतिपयलाई चिन्न सकेको हुँदैन । ‘तपाईलाई चिनिन’, भन्न पनि मिलेन ।” उनले आप्mनो मनको बह पोखे । “केही दिनअगाडि मात्र मज्जाले गफ गरेको मान्छेसित दोहर्याएर भेट हुँदा म भूलबस उनको परिचय पूनः सोध्न पुगेछु । मान्छेलाई लाग्दो होला, म घमण्डी मान्छे, तर म त्यस्तो होइन ।” उनको कन्थो सुनेर मलाई पनि दुर्बलताको सम्झना भयो, “यो समस्या त हजुरको मात्र होइन, साठी नकाटेको मजस्तो मनुवाको पनि हुँदै गएको छ नि । अनुहार चिनिराखेको हुन्छु, नाम विर्सिन्छु । कतिपय बेला नाम कण्ठसम्म आएको हुन्छ, तर जिब्रोले तान्न सकेको हुदैन । कतिपय बेला अनुहारसमेतमा कन्फयुज्ड हुन्छु । जिस्किँदै थुप्रैले झटारो पनि हान्छन्– गणेश लाठ किसका ? काम निकला खिसका ।”
मेरो प्रतिक्रिया सुनेर ‘लौ एक जना थप बिर्सिने साथी पाए’, भन्दै उनी हाँस्न थाले । “अचेल त हलुको चिनेकोजस्तो अनुहार अगाडि आउने बित्तिक्कै धेरै मगज नखपाउँदै एडभान्समै नमस्कार ठोकिहाल्छु । अनि अगाडि परेको मान्छे अचम्म मान्दै सोधछ, हजुरलाई त चिनिन । त्यतिबेला त झनै अप्ठेरो स्थिति खडा हुन्छ ।” मैले यसो थप्दा उनी झनै खुशी भए, “हो, यस्ता घटना मेरा साथ पनि भएका छन् । ‘मलाई चिन्नु भएनजस्तो छ नि ?’ भनेर कसैले प्रतिक्रिया दिँदा ‘हो, मैले त चिनिन’ बोल्न लाज लाग्छ । ‘किन न चिन्नु’ भनेर फर्काउँछु । मैले अन्य कुनै विद्वान मनुवाको कुरो पैचो लिँदै थपे, “असलमा हाम्रो संस्मरणगञ्जको हार्डडिष्क टम्म भरिसकेको छ । त्यही भएर यस्तो समस्या आउँदै छ ।” उनले समर्थन जनाए, “हो नि, हामीसँग अनुभव छ, तर सुन्ने फुर्सद कसैलाई छैन । सबैलाई त सुनाउने नै छटपटी छ ।”
हाम्रो गफ विर्सिने कुरोबाट हटेर कलाको मुल्याङ्कनतिर मोडियो । उनले मनको बह पोखे, “कलाकारले दिनरात मिहिनेत गरेर क्यानवास आफ्नो मनको भावलाई सप्तरङ्गी रङ्गले भर्छ । मान्छे भाव बुझ्दैनन्, कलाकृतिलाई केरकारको संज्ञा दिइहाल्छन् । कलाकारले सिङ्गो इतिहासलाई कैनवासमा उतारेको हुन्छ । मान्छे कलाकृतिको गहनता अथवा सुक्ष्मतातिर ध्यान दिनुभन्दा उसको लम्बाईचौडाईमा मात्र मगज खपाउँछन् । कति दिन लगाएर यो कृति तैयार भयो भनेर सोध्दैनन्, खर्च कति पर्यो होला भनेर सोध्छन् ।” “त्यति मात्र हो र ? तपाईकहाँ फ्रि अफ कोस्ट काम गराउने मान्छे पनि बाक्लै आउँदा होलान् ।” मैले यति भन्न पाएको थिएन, उनी हाँस्न थाले, “हो नि । थुप्रै नाम चलेका ब्यक्तित्वहरुले लेखेका पुस्तकहरुकाे बाहिरी पृष्टको डिजायन मैले नै बनाइ दिएको छु । तर त्यसो गर्न पाउँदा मलाई गौरवानुभूति हुन्छ । हरेकले आ आफ्नो विशिष्ट क्षमता अनुसार समाजको राम्रो काममा योगदान दिनु पर्छ । आफ्नो कलाकारितामार्फत कुनै असल मान्छेलाई सहयोग गर्न पाउँदा मलाई पनि अदम्य खुशी हुन्छ । यही त हो, जिन्दगी । मरेर के नै लैजानु छ ?” उनले यसो फर्काउँदा म मुग्ध भए । डा. सुमन श्रेष्ठले विचमा हाम फाल्दै भने, “युग शताब्दी पुरुष डा. गौरीशंकर लाल दासको फोटो राखेर एक डाकटिकटको रचना गर्ने काममा यिनी लागिपरेका छन् ।”
यस्तैयस्तै गफ चलिाराख्दा डा. सुमन श्रेष्ठले प्रस्ताव राखे, “हरेक प्रदेशमा एउटा भव्य आर्ट ग्यालेरी हुनु पर्छ । सो आर्ट ग्यालेरीमा सो प्रदेशको इतिहास, संस्कृति र जनजीवन झल्काउने खालका चित्रहरु राखिनु पर्दछ ।” उनले यसो भन्दै गर्दा मलाई भारतको इन्दौरमा रहेको आर्ट तथा कल्चर ग्यालेरीको सम्झना भयो । सो ग्यालेरीमा त्यहाँको इतिहास, संस्कृति र जनजीवन झल्काउने क्यानवास चित्र मात्र होइन, एकसे एक जीवन्त कलाकृतिहरm सजाएर राखिएका थिए । पाहुनाहरुलाई सुसुचित गर्ने हिसाबले प्रोजेक्टर कोठा पनि राखिएको थियो । अतिथिहरुको मनोरञ्जनको लागि लोकनृत्य आदिको ब्यवस्था गरिएको थियो । यावत कुरा सम्झिँदै गर्दा आर्की मित्र उषा तितिक्षुले भन्नु भएको कुरोको सम्झना भयो । उनले पनि जोर गरेकी थिइन्, “लौ न, तपाईको क्षेत्रका मुख्यमन्त्रीलाई भेटेर आर्ट तथा कल्चल ग्यालेरीको स्थापना गर्न जोर गरौ नि ।”
हामीलाई आर्को ठाँउ पनि पुग्नु थियो । ढिलो हुँदै थियो । “हुन्छ, कुनै दिन माहौल मिलाएर, यस्ता कुराहरु बारे हामीले लबिङ्ग गर्नु पर्छ, गरौला ।” हाम्रो वार्तालाप त्यही टुङ्ग्यायौ । उठ्दाउठ्दै उहाँले आफ्नो कलाचित्रले भरिएको एक पुस्तक, क्रियेटिव मोसन्स अफ के. के. कर्माचार्य,’ उपहारस्वरुप टव्रmयाउनु भयो । पुस्तक निधारमा लाउँदै मैले ग्रहण गरे । “मलाई नाम बिर्सिने बानी छ । तर एउटा जुक्ति खोजेको छु । उदाहरणको लागि ‘प्रेसिता’ नाम सम्झिन प्रे र सिता, लाई छुट्याएर स्मरणमा गरेको छु । हजुरको नाम पनि ट्रिपल के भनेर संस्मरणगञ्जको एक कुनामा राखिसकेको छु ।” मैले यसोभन्दा उनले पनि पुलकित हुँदै दोहर्याउनु भयो, “तपाईलाई पनि बिर्सिदैन है । लामो सुंड भएको देउता सम्झिने बितिक्कै तपाईको नाम स्वतः जिब्रोसम्म आइहाल्छ ।”