२२ मंसिर,वीरगञ्ज । कामविशेषले काठमाण्डौ गएको थिए । समय मिलाएर म र डा. सुमन श्रेष्ठ पुग्यौ वरिष्ट साहित्यकार भिक्टर प्रधानलाई भेट्न, उनको निवास स्थानमा । भिक्टर प्रधान मेरो लागि नौलो नाम थिएन, हिमाल पत्रिकामा प्रकाशित उनका आलेखहरु पढिसकेको थिए । तथापि भेट्ने अवसर प्रथम पटक जुरेको थियो ।
उनी बौद्ध विद्वान तथा पूर्व मन्त्री भुवनलाल प्रधानका सुपुत्र हुन्, ऐतिहासिक अनुसंधानसित जोडिएका कुराहरुमा विशेष रुचि राख्नु हुन्छ, अचेल अनुसंधान, लेखन, अनुसंधान र पठनमै बढि समय विताउँछन् र, सार्वजनिक कार्यक्रमहरुमा खासै उपिस्थिति जनाउदैनन् भनेर सुनेको थिए ।
ढोकाको घन्टी बजाए । पक्का नाकको टुप्पोमा चश्मा ठड्याएका र थकित अनुहार बोकेका कोही अन्तर्मुखी ब्यक्तित्वका मान्छेसित भेट होला भनेर कल्पना गरेको थिए । तर यथार्थ नितान्त फरक थियो, शिरमा तिब्बती टोपी, निर्दोष अनुहारमा बालशुलभ चमक र ज्यानमा तन्नेरीपनको कडक थियो । एक छिन अभिवादन र परिचय आदानप्रदान गर्यौ ।
सोफामा बस्न पाएको थिएन, मेरो उताउलो जिब्रोबाट फुत्त निस्किहाल्यो, “हजुरको उमेर कति होला ?” कसैलाई भेट्ने वित्तिक्कै उनको उमेर सोधिहाल्ने आप्mनो नराम्रो बानी सम्झेर मलाई एकछिन लाज पनि भयो ।
तर गर्ने के ?
उनको अनुहार आभा देखेर मनको तलबल थामिनसक्नु भएको थियो । “सेवेन्टी थ्री” अन्यथा नमान्दै मुस्काउँदै उनले फर्काए । लगतै उनकी श्रीमती मञ्जुश्री प्रधान पनि प्रकट भइन्, अभिवादन साटासाट गर्यौ । उनी पनि विक्टर प्रधानजस्तै हँसिलो अनुहारकी धनी ।
उनी पेशाले मनोरोग चिकित्सक अर्थात् साइकेट्रिस्ट हुन् भनेर जानकारी प्राप्त भयो । उनका साथ पनि मनोविज्ञानउपर एकदुई मिनेट चर्चा भयो । केही बेरपछि कालो चिया आयो, चियासँगै हाम्रो साहित्यीक गफगाफ सुरु भयो ।
“प्रधान सर, अचेल केकस्ता कामहरुमा ब्यस्त हुनु हुन्छ ?”
मेरो जिज्ञासाको जवाफमा उनले झिंझो नमान्दै जानकारी गराए, “सुरुसुरुमा बालसाहित्यमा बढि कलम चल्थ्यो, त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत नहुन्जेलसम्म लेखन र अध्यापन, दुबैलाई सँगसँगै लैजान समयको अलि खडेरी परेकै हुन्थ्यो ।
अचेल पूर्ण रुपले साहित्यसेवामै लागेको छु । सांस्कृतिक र प्राज्ञीक इतिहासउपर अनुसंधनात्मक लेखनमा रुचि ढल्किएको छ । अचेल अङ्ग्रेजी भाषामा छापिएका साहित्यीक पुस्तकहरुलाई नेपाली भाषामा अनुवाद गर्ने काम गर्ने गरेको छु ।
मान्छेलाई लाग्दो होला, भाषा अनुवाद जति साहित्य अनुवाद समान्य कुरो हुँदो होला, तर होइन रहेछ । साहित्यीक अनुवाद सबैभन्दा सकसपूर्ण, झण्झटिलो काम हुँदो रहेछ । अलि दायाँबायाँ भयो कि लेखेकको भाव एकातिर हुन्छ, अनुवादकको लेखन आर्कोतिर फर्किसकेको हुन्छ । अर्थात् अनुवादित पुस्तकको मूल मर्म नै बेपत्ता भइसकेको हुन्छ ।”
उनको भनाईमा दम थियो, म आफैले स्वलिखित उपन्यासको हिन्दी र अङ्ग्रेजीमा अनुवाद गर्ने गराउने क्रममा यस्ता समस्याहरु भोगिसकेको थिए । केही सम्झिँदै उनले थपे, “सिल्भाँ लेभीद्वारा फ्रेन्च भाषामा लिखित पुस्तक ‘ले नेपाल’लाई हिमाल पुस्तकले नेपाली भाषामा पूनः प्रकाशित गर्न खोज्दा सो पुस्तकको अनुवाद र सम्पादन मैले नै गरेको थिए ।
सो किताब कुल तिन भागमा लेखिएको थियो । सोको अनुवाद सर्वप्रथम फ्रेन्चबाट अङ्ग्रेजीमा गरियो, बल्ल अङ्ग्रेजीबाट नेपालीमा । झण्डै तिन जना अनुवादकहरुलाई सोकाममा जुट्नु परेको थियो ।
वाक्यपिच्छेको अनुवादमा तिनै जनाबीच दिनका दिन गरमागरम छलफल हुन्थ्यो । सर्वप्रथम फ्रेन्च र अङ्ग्रेजी दुबै बुभ्mने विशेषज्ञले कुनै प्रसङ्ग अथवा भाव कतै बाटो बिराएको त छैन भनेर अङ्ग्रेजी अनुवादको जाँचपडताल गर्यो ।
अङ्ग्रेजीबाट नेपालीमा अनुवाद हुँदा मलगायत थप एक जना सहकर्मीले त्यस्तै कुराहरु पूनः जाँचपडताल गर्यौ । एक पटक होइन, सयौं पटक । बल्ल पुस्तक प्रकाशित भयो, नेपाल– हिन्दु अधिराज्यको इतिहास)”
डा. सुमन श्रेष्ठले बीचमा हाम फाल्दै अवगत गराए, “झण्डै आठ बर्ष लगाएर यिनले चीनियाँ इतिहासको पृष्टभूमिसित जोडिएको एक चीनियाँ भाषामा लिखित पुस्तकको नेपाली भाषामा अनुवाद गरेका थिए ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित सो पुस्तक – चिनियाँ साहित्यको दिग्दर्शन निकै चर्चाको विषय बनेको थियो । चीनिया इतिहास बुभ्mनु छ भने त्यो पुस्तक नपढेर सुखै छैन ।
“हामीजस्ता भर्खर जुर्मुराउँदै गरेका लेखकले पढ्दा उचित हुने यहाँको कुनै पुस्तक छ भने त्यो पनि थाहा पाए हुन्थ्यो ।” मैंले जिज्ञासा प्रकट गरे । खुशी हुँदै उनले अवगत गराए, “अ, त्यस्ता अनेक पुस्तक छन् । तत्कालको लागि, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘नेपाली जीवनी र आत्मकथाको सैद्धान्तिक तथा ऐतिहासिक विवेचना’ पढ्नोस् । जीवनी अथवा आत्मकथा लेख्नु पर्यो भने तपाईलाई सहयोग पुग्छ ।”
केही बेरपछि हाम्रो गफ मोडियो, तराईबाट सुरु भएको छठ पर्व उपर । “छठ पर्व केवल धार्मिक पर्व होइन, यो सांस्कृतिक धरोहर पनि हो, यसको पौराणीक इतिहास पनि उतिकै बलियो छ । अचेल तराईमा मात्र होइन, दुर्गम पहाडी क्षेत्रमा पनि मनाईन्छ, उतिकै श्रद्धाका साथ ।
यसलाई भनिन्छ, एक्सेचेन्ज अफ कल्चर । म छठ पर्वउपर विशेष अनुसंधान सुरु गरेको छु । तर केही कुरो बुभ्mन अझै बाँकि छ । छठ पुजामा हातीको कलश राखेर किन पुजा गरिन्छ ? हाती र छठ पर्वबीच कुनै न कुनै सम्बन्ध हुनु पर्ने ।
ते केकस्तो सम्बन्ध ?
त्यो चाँहि थाहा हुन बाँकि नै छ । त्यसै गरी पुजामा उखुँलाई विशेष महत्व किन दिइन्छ ? अनि प्रसादको रुपमा चढाइने विशेष पहिचान भएको गुलियो परिकार, ठेकुवाबारे पनि पक्का कुनै इतिहास हुनु पर्ने ।
त्यो इतिहास के हो ?
ठोस आधार खोज्दै छु ।” उनले प्रसङ्ग झिक्नु भयो ।
“छठ पर्व असलमा सूर्य उपासना हो, बर्षमा दुई पटक नदी अथवा तलाउको छेउमा मनाईन्छ । मूलतः चार दिनको हुन्छ, मूल पूजा कार्तिक र चैत्रको षष्ठी तिथिका दिन हुने गर्छ । यो पर्वलाई विधिवत मनाउन खोजियो भने अनेक कडा नियमको पालना गर्नु पर्ने हुन्छ ।
तर हातीको कलश, उखुँ र ठेकुवापछाडिको इतिहासबारे क्यै थाहा छैन ।” लाज नमान्दै मैले मेरो ज्ञानदुर्बलता प्रकट गरे । “सम्भव हुन्छ भने बीरगंज फर्किएपछि यस विषयमा थाहा गर्नु होला ।” उनले आग्रह गरे ।
हाम्रो फर्किने समय भएको थियो । बाटोमा छठ पर्वबारे गुगल सर्च गरे । एक ठाँउमा कतै लेखिएको थियो, “छठ पर्वमा पुजा गर्दा पाँच वटा उँखु राख्नुको अर्थ पाँच महाभूतलाई साक्षी राख्नु हो । तर हातीको कलश अथवा ठेकुवाको इतिहास अथवा मर्मबारे खासै लेखिएको कतै भेटाउन सकिन । अर्थात् खोजतलाश अभियान अझै जारी नै छ ।”
आलेख टुङ्ग्याउँदै गर्दा मेरो ध्यान भिक्टर प्रधानलेस उपहार दिनु भएको स्वलिखित पुस्तक– विडुडव र कपिलवस्तुको पतन– को सम्झना भयो । टेबलउपर नै राखिएको थियो ।
किताब पल्टाएर सरसर्ती हेरे, पछाडिको पृष्टमा लेखिएको थियो, “यो किताबमा पनि गौतम बुद्ध भ्mल्याकझुलुक झुल्किन्छन् । तर यो किताब गौतम बुद्धका यिनै कथा वा जीवनीको किताब होइन । यो उनका आफन्तजनको कथा हो ।
उनको वंश – शाक्य वंशको विनाशको कथा हो । कपिलवस्तुमा अहिले शाक्यहरु छैनन्, त्यहाँ तिनीहरुको नाम निशान छैन ।
के भयो तिनीहरुलाई, कहाँ गए ? शाक्यहरुको कपिलवस्तु कहाँ विलायो ?
के कुमार सिद्धार्थ गौतमलाई थाहा थियो – एक दिन आफ्नो कपिलवस्तु राज्य हराउँछ भन्ने ? त्यसैले पो उनी राजपाठ त्यागेर जोगी भएका थिए कि ?” “किताब त पढ्नै पर्ने रहेछ, अबको पठन यही किताब हुने भयो ।” मनमनै प्रण गरे ।