२९ भदौ, काठमाडौँ ।
सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गरिने प्राविधिक र आर्थिक दृष्टिले सम्भाव्य लगानीयोग्य परियोजनाहरूको संग्रहको सूची तयार गर्ने उद्देश्यले लगानी बोर्डले तयार पारेको परियोजना बैंक निर्देशिकाको सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री देउवाले परियोजना बैंक निर्देशिकाको सार्वजनिक गर्दै नेपाललाई सन् २०२६ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने बताएका छन् । बुधबार लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक स्तरोन्नति गर्दै सन् २०२६ सम्म विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले लगानी बोर्डको कार्यालयले लगानी आकर्षण र सहजीकरणका लागि परिपक्व भूमिका निर्वाह गरेकोमा धन्यवाद दिर्दै नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताए ।
उनले दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यकता पर्ने बताए ।
उनले त्यसका लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोगको आवश्यकता रहेको औंल्याए । उनले मुलुकमा पूर्वाधार विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै लगानी बढाउन आग्रह गरे ।
नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्न सकिने अवस्था रहेको बताउदै प्रधानमन्त्री देउवाले लगानी बोर्डले ३३ वटा आयोजनाका लागि ९ अर्ब डलर बराबरका योजना स्वीकृत गरेको र तीमध्ये २० वटा ठूला जलविद्युत् परियोजना रहेको बताए ।
उनले भने, ‘सरकारले १५औं पञ्चवर्षीय योजनालाई प्राथमिकता दिएर पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । सरकारले राष्ट्रिय नीति बनाएर २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने योजना बनाएको छ । कोभिड महामारीका कारण दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक रहेको छ ।
नेपाललाई २०२६ सम्म विकासशील राष्ट्रमा स्तरोन्नति गरी आर्थिक विकासमा सुधार गर्ने योजना रहेको छ । मुलुकमा पूर्वाधार विकास गर्न निजी क्षेत्रका लगानी महत्त्वपूर्ण रहन्छ भने वैदेशिक लगानी पनि आवश्यक भएकाले सबैलाई लगानी गर्न आग्रह छ । नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्ने सकिने छ ।