Logo

२३ माघ,जनकपुर । माओवादी आन्दोलनमा लागेकाहरुको हालबेहालको अवस्था रहेको छ ।
तत्कालीन नेकपा माओवादीले गरेको दस वर्षे जनयूद्धमा लागेका कार्यकर्ताहरुको अवस्था निकै दयनीय रहेको छ ।

भुमिगत जिवन ब्यतितपछि भएको यूद्धविरामसंगै खुलारुपमा राजनीतिक गतिविधि गर्दै आएको अहिलेको नेकपा माओवादी केन्द्रले सरकार संचालन गरिरहे पनि पार्टी नेतृत्वले बेवास्ता गर्दा जिविकोपार्जनदेखि स्वास्थ्य उपचारका लागि समेत धौँधौँपरिरहेको गुनासो उनीहरुले गरेका छन् ।

 

तत्कालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर रहेका दिनेश मण्डल अहिले माओवादी केन्द्र धनुषाको जिल्ला सदस्य छन् ।
०५६ सालदेखि माओवादीले थालेको आन्दोलनमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर ८ स्थित जमुनिबास बस्ने ४३ वर्षिय दिनेश मण्डल ०६१ मा काभ्रेको घर्तिछापमा भएको आक्रमणमा मुख्य भुमिका नै निर्वाह गरेका थिए ।

सो यूद्धमा उनलाई तत्कालीन शाही सेनासंग भएको दोहोरो भिडन्तमा उनी घाइते भएका थिए । त्यतिबेला उनको उपचार माओवादीको स्वास्थ्य टोलीले उपचार गरेको थियो ।

उपचार पश्चात निको भई घर फर्किने क्रममा उनलाई सेनाले पक्राउ गरि निर्घात कुटपीट गरेको थियो । जसबाट उनको शरीर अहिले पनि थलिने गरेको छ ।

सेनाले उनको जिउमाथि रोलर नै चलाएको थियो । जसले गर्दा उनको तिघ्रा, खुट्टा र हातका औलाहरुले राम्ररी काम गर्न छाडेका छन् ।
०६२ मा भएको माओवादीले यूद्धविराम गरेपछि तेश्रो जनआन्दोलन नै भयो । आन्दोलनपछि स्थापना भएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा उनीहरुलाई सरकारले आम माफि दिएपछि उनीसहित सयौँ माओवादी कार्यकर्ताहरु रिहा भएको थियो ।

सोक्रममा उनी पनि रिहा भए । तर पार्टीले उपचारलगायतकामा ध्यान नदिँदा अहिले आएर उनको शरीर थलिने गरेको छ । भने यससंगै शरीरमा विभिन्न रोगव्याधीहरुसमेत लागेको छ ।

माओवादी आन्दोनमा लागेका कार्यकर्ताहरुलाई मुल नेतृत्व वर्गले बेवास्ता गर्दा उपचारदेखि जिविकोर्पानमा समेत समस्या हुने गरेको पीडित दिनेश मण्डलले गुनासो गरे ।

शरीर थलिने, उचरक्तचाप, चिनि रोग, हाडजोर्नीलगायतका रोगबाट उनी ग्रसित रहँदा उनलाई घरायसी कामकाज गर्नसमेत कठिनाई भएको बताउँछन् ।

यस्तै समस्याबाट धनुषाका औरही गाउँपालिका वडा नम्बर ४ बस्ने ५३ वर्षिय रामएकवाल मण्डल खत्वेको छ ।
करिब तीन सातादेखि उनी बेहोसी हालतमा छन् । उनी एक्कासीरुपमा बिर्सिने गरेको विरामीबाट गुज्रिरहेका छन् ।

उनी पनि माओवादी जनयुद्धमा ०५८ देखि निरनतर सक्रिय छन् ।
सशस्त्र यूद्धका बेला उनी विभिन्न यूद्धका मोर्चामा सक्रियताका साथ अहिलेसम्म निरन्तररुपमा सक्रिय रहँदा पनि दिनेश झैँ रामएकवालले पनि पार्टीबाट कुनै पनि किसिमको लाभ लिएनन् । न त यसका लागि कुनै नेतालाई भनसुन नै गरे । बरु उनी राजमिस्त्रीको काममा सक्रिय रहेर घरपरिवारको जिविकोर्पाजनमा लागेका थिए ।

तर जाडोयाममा घर निर्माणको क्रममा छत ढलान गरेर आफ्नो घरमा सुतिरहेको बेला उनी एक्कासी बेहोस भए र उनले आफ्ना घरपरिवारका सदस्यलाई समेत चिन्न छाडेपछि उनको उपचार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भयो । तर थप उपचारका लागि रकम नहुँदा अस्पतालले डिस्चार्ज गर्यो । त्यसपछि उनी घरमै सेन्सलेस अवस्थामा आराममा गरिरहेका छन् । उनकी श्रीमती कुन्तीदेवी मण्डलले बताइन् ।

रामएकवाल विरामी पर्दा अहिले कुन्तीलाई समेत ६ सन्तानसहित ९ जना परिवारको घर चलाउन धौँधौँ परिरहेको गुनासो गरिन् ।
मस्तिष्क सम्बन्धी समस्याका कारण बेडरेस्टमा रहे पनि अहिलेसम्म माओवादी केन्द्रका कुनै पनि नेताले चासो नलिए भन्दै उनले भनिन्– ‘मर्ने बेला पार्टी नेताले जे भन्यो त्यही ग¥यो, अहिले माओवादीको सरकार छ, प्रदेश सरकारमा पनि सहभागी छ, तर पनि सोधखोज नगर्दा जनयूद्ध कसको लागि भयो भन्ने प्रश्न हामीमाथि खडा भएको छ ।’

रामएकवाल अहिले माओवादी केन्द्र धनुषाको जिल्ला सदस्य छन् ।
त्यस्तै दुई छोरी, एक छोरा, एक श्रीमती रहेका दिनेशले पनि अप्ठ्यारोको बेलामा पनि पार्टी नेतृत्वले वास्ता नगर्दा दुःख लाग्ने गरेको गुनासो गरे ।

 

कुनै बेला दिने माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत थिए ।
तर नेकपा माओवादी केन्द्रका प्रदेश नेता श्याम यादवले पार्टीको हरेक बैठकमा जनयूद्धमा घाइते भएकाहरु, शहीद तथा बेपता परिवारका समस्याहरुको बारेमा आवाज उठाउने गरेको बताए ।

घाइते तथा समस्यामा परेका पुराना नेता तथा कार्यकर्ताहरुका लागि आफु गम्भीर हुँदै पहलकदमीसमेत लिइरहेको जनाउँदै उनले भने– जिल्ला नेतृत्ववर्गदेखि केन्द्रीय नेतृत्वसम्ममा जनयूद्धका घाइते, शहीद परिवार र बेपता परिवारलगायतकाहरुको अवस्थाबारेमा जानकारी गराएको र समस्या समाधानका लागि आफु लागि परेको छु, नेतृत्ववर्गले केही आश्वासन दिएका छन्, छिट्टै नै समस्या समाधान होला भन्ने आशा छ ।’

माओवादी सशस्त्र विद्रोहमा होमिदा अनेकौ नेता तथा कार्यकर्ताहरुको अवस्था नैराश्यतापूर्वक जिवन ब्यतित गरिरहेका छन् ।
मुल नेतृत्व वर्ग सत्ता र सरकार ढाल्ने बनाउने खेलमा लाग्दा निर्वाचनताका समयमा कार्यकर्ताहरुको घर चहार्ने गरेका छन् । तर अवसर पाउने बेलामा आफन्तजन र आसेपासेलाई सहभागी गराउने गरेकाले पनि मधेश प्रदेशमै पार्टी कमजोर भइरहेको एक नेताले टिप्पणी गरे ।


सम्बन्धित समाचार