३० भदौ, वीरगञ्ज ।
वीरगञ्जका सलोनी अग्रवाल, प्रिन्सी खेतान, र ऋषिका चौधरीलाई केहि नयाँ गरौं भन्ने लाग्थ्यो । तर कसरी शुरुवात गर्ने अन्यौलमा थिए उनीहरु । एक महिना अघि टिभीमा भारतीय रियालिटी सो ‘सार्क ट्याङ्क’ हेर्दै थिए । एक जनाले अग्र्यानिक साबुनको ‘स्टार्टअप’ व्यवसायमा राम्रो गर्दै रहेछन् । व्यवसाय बढाउन ‘सार्क ट्याङक’मा आएका रहेछन् । ‘सार्क ट्याङ्क’ मा व्यवसायको आईडिया मन परेको खण्डमा लगानी समेत गरिदिन्छन् ।
उनीहरुले वीरगञ्जतिर फर्केर हेरे, बजारमा केमिकलयुक्त साबुनको विगविगी छ । सलोनीको रुची आर्ट एण्ड क्राफ्टतिर थियो । बाँकी दुई जनाले उनलाई हौसला दिए । त्यसपछि सलोनीले अग्र्यानिक साबुन र मैनबत्ति बनाउने तालिम अनलाईनमा लिईन् । बाख्राको दुध, एलोबेरा लगायत बस्तुहरु मिलाएर घरमै साबुन बनाउन थालिन् । सँगसँगै बास्नादार मैनबत्ति पनि । २ सय ५० रुपैयाँको मैनबत्ती घर र मेलाबाट २० पिस बिक्रि भईसकेको छ । भने चिनेजानेकाले १०० रुपैयाँ मुल्य राखिएको साबुन पनि लगिरहेका छन् । विस्तारै व्यवसायलाई अघि बढाउने सोचमा उनीहरु छन् । सामाजिक सञ्जालको प्रयोग गर्ने, मेला महोत्सवमा स्टल लगाउने, साथीभाई आफन्तलाई उपाहार दिएर बस्तुलाई बजारमा पठाउने तयारी उनीहरुको छ ।
‘काम शुरु गरेको एक साता मात्रै भयो, हातले घरमै बनाएको भएपनि नयाँ बस्तु हो । बजारमा पठाउन सकेको छैन ।’ सलोनीले भनिन् ‘ बनाउन समय र लागत बढी लागेपनि गुणस्तर खोज्नेले लैजान्छन् भन्ने छ ।’
दिव्या अग्रवाल मा क्यालीग्राफी (सुलेखन) अर्थात राम्रो र विभिन्न तरिकाले अक्षर लेख्न सक्ने कला छ । उनी अलनलाईन कक्षा सञ्चालन गरेर महिला र बालबालिकालाई सिकाउने पनि गर्छिन् । साथै हातैले विभिन्न स्लोगन लेखेर फ्रेमिङमा राखेर बिक्रि पनि गर्छिन् । २ सयदेखि ३ सय रुपैयाँसम्ममा बिक्रि गर्न सकिनेगरि सामाग्री तयार पारेकी छन् । कोठा सजाउन मन पराउनेहरुले किनेर लैजान्छन् । अरुलाई उपाहार स्वरुप प्रदान गर्न सकिन्छ । मन परेको कुरा लेखाएर लैजानेहरु आउन थालेका छन् । कप, ब्यागमा विभिन्न तरिकाले नमेटिनेगरि हातैले लेख्न सकिने उनको भनाई छ ।
‘ म प्रडक्ट बनाउनेमा भन्दा पढाउनेतिर बढी केन्द्रित छु, सिक्न चाहानेलाई सिकाउन सक्छु ।’ उनले भनिन् ‘ हातले लेख्दा मेसिनले लेखाउँदा भन्दा सस्तो पर्छ । प्रिन्टेड भन्दा हस्तलिखितको महत्व नै बेग्लै हुन्छ ।’
वीरगञ्जमा पनि श्री कृष्ण भगवानको बाल स्वरुप ‘श्याम बाबा लड्डु गोपाल’ लाई मान्नेहरु छन् । उनको मुर्तिलाई अनेक प्रकारले सजाएर घरमा राखिन्छ । सिंहासन, झुलाहरुमा राखेर उनलाई रंगिन पोशाक, पगडी, चोली लगाएर सजाईन्छ । छाता ओढाईन्छ । कृष्ण जन्मअष्टमीमा मात्रै नभएर अन्य समयमा पनि महिलाले उनलाई सजाउने गरेका छन् ।
लड्डु गोपालको सजावटका सामानहरु वीरगञ्ज –७ रामटोलकी श्रद्धा कादमीयाले आफ्नै हातले तयार गर्ने गरेकी छन् । साथीभाई परिवारका सदस्यले हौसला दिएपछि सीपलाई व्यवसायिक रुप दिएको उनले बताईन् । ‘लड्ड्ु गोपाललाई सजनेको सोख छ, हामीलाई सजाउने सोख छ ।’ उनले भनिन् ‘सोखले टाईमपास गर्न सजावटको सामान बनाउन थालेकी थिँए, माग धेरै आउन थालेपछि व्यवसायिक रुप दिँए । घरबाटै बिक्रि गरिरहेकी छु ।’ सेवा भावले शुरु गरेपनि लड्डु गोपालले मेवा दिन थालेको उनले बताईन् ।
भारतको वृन्दावन, खाटु र राजस्थानबाट लड्डु गोपाललाई सजाउने सामाग्री ल्याउँदै आएकी पुजा खेतानलाई श्रद्धाले वीरगञ्जमै बनाउन थालेपछि सजिलो भएको छ ।
‘पाउन त वीरगञ्जको बजारमा पनि सामना पाईन्छ तर श्रद्धाकोमा जस्तो धेरै सामान पाईदैन ।’ उनले भनिन् ‘ अहिले सजिलो भएको छ ।’
हातले बनाएको सजावटका सामाग्री राम्रो लाग्ने गरेकोले श्रद्धालाई प्रोत्साहित गर्ने गरेको काजल साह बताउँछिन् ।
मानसिक विपन्नता विरुद्ध अभियान
वुमन्स क्रियसन्स २००२ मा मारवाडी समुदायका महिलाले स्थापना गरेको संस्था हो । कोभिडको २ वर्ष बाहेक अन्य वर्षहरुमा हरेक वर्ष संस्थाले यस्ता मेला लगाउँदै आएको छ । साउन लागेपछि चाडपर्वको मौसम शुरु हुन्छ, राखी पर्व, जन्माअष्टमी पर्व आउन थाल्छ । भेटघाट, उपाहार आदान प्रदान गर्ने गरिन्छ । त्यसैलाई लक्षित गरेर मेला लगाईन्छ । मेलामा किनमेल, रमाईलोसँगै विभिन्न परिकारका खानाका स्वाद लिन सकिन्छ ।
रचनात्मक महिला र केटीहरुको समूह ‘वुमन्स क्रियसन्स’ले केही समय अगाडी वीरगञ्जको जैन भवनमा ‘साउन धमाका’ नाम दिएर ‘रमाईलो’ मेला लगाएका थिए । मेलामा, कपडा तथा ऋंगारका सामान, राखी, खानाका परिकार, रमाइला खेलहरू लगायतका ४३ स्टल लगाईएका थिए । मेलामा प्रवेश शुल्क १ सय रुपैयाँ राखिएको थियो भने स्टल लगाउनेसँग २ हजारदेखि २ हजार ५ सय रुपैयाँ संकलन गरिएको थियो । मेलाका लागि लाग्ने खर्च कटाएर बचेको रकम सामाजिक सेवामा लगाउने उद्देश्य उनीहरुको छ ।
अधिकांश महिला तथा केटीले बाहिरबाट समान मगाएर बिक्रि गर्ने गरेको भएपनि केहिले घरमै उत्पादन गरेको सामान समेत प्रदर्शनीमा राखेका थिए । वीरगञ्ज स्थित कैदीबन्दी सुधार गृहका कैदीबन्दीले बनाएको मुढा, उनको लाईटर खोल, चाभी रिङ, पर्स, टोपी, कपासको बत्ती, बाँस र नाईलनले बनेको डाईनिङ सेट समेत प्रदर्शनीमा थियो ।
वुमन्स क्रियसन्सकी अध्यक्ष नेहा अग्रवाल महिलालाई सशक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम गर्ने गरिएको बताउँछिन् । जुन सफलताको बाटोतर्फ उन्मुख पनि छ । मारवाडी समुदायबाट थालनी गरिएको महिला सशक्तीकरणको अभियानलाई विस्तार हुँदै गएको उनको भनाई छ । ‘मारवाडी महिलालाई पनि घरबाहिर ल्याउनुपर्छ, काममा लगाउनुपर्छ भनेर ४ जना महिलाले शुरु गरेको अभियानमा ४० जना महिला सदस्य नै बनिसकेका छन् ।’ उनले भनिन् ‘यो नै हाम्रो उपलब्धी हो, अब विस्तारै अन्य समुदायका महिलालाई पनि समेट्दै अघि बढ्दै छौं ।’
संस्थामा हाल मारवाडी, पञ्जावी, बैंगोली, मुस्लिम र पहाडी समुदायका महिला पनि जोडिएका छन् । मारवाडी समुदायलाई आर्थिक रुपमा सम्पन्न मानिन्छ । तर अझैपनि कतिपयले घरबाट महिलालाई बाहिर निस्कन दिँदैनन् । अन्य समुदायमा पनि महिलालाई घरकै चुल्हा चौकामा सिमित राख्ने, घुम्टो भित्रै राख्ने परम्परा छ । शुरुमा कतिपयले श्रीमानलाई थाहै नदिई काम शुरु गरे, कतिपयका श्रीमान सहयोगी देखिए ।
महिलालाई अघि बढाउने एक मात्र उद्देश्य लिएर आफूहरु अघि बढेको वुमन क्रियसन्सकी पूर्व अध्यक्ष नुतन सरावगी बताउँछिन् । ‘ सामाजमा फ्रिडम नभएका परिवार पनि छन्, सम्पन्न परिवारमा पनि मानसिक विपन्नता छ । त्यसलाई हटाउने अभियानमा हामी लागेका छौं ।’ उनले भनिन् ‘ जति सकेको छौं, गरेका छौं । आगमी दिनमा अझै विस्तार गरेर लैजाने सोच बनाएका छौं ।’
कतिपय महिला तथा केटीहरुले अग्र्यानिक साबुन, क्रिमहरु पनि बनाएका छन्, तर त्यसको प्रयोगशला परीक्षण र ब्रान्डिङ नहुँदा बजारमा पठाउन समस्या छ । त्यसमा महानगरपालिका वा उद्योग वाणिज्य संघ जस्ता संस्थाले साथ दिएमा आफूहरुले अझै राम्रो गरेर देखाउन सक्ने पूर्व अध्यक्ष नुतन बताउँछिन् ।
‘खानेकुरा, शरीरमा प्रयोग गर्ने कुरा परीक्षण नगरी बजारमा पठाउनुहुँदैन ।’ उनले भनिन ‘ एउटा दुईवटा महिलाले घरमा बनाएको सामानलाई त्यसरी परीक्षण र ब्रान्डिङ गर्न समस्या छ । ’ उनले भनिन् ‘ महानगरपालिका वा उद्योग वाणिज्य संघ जस्ता निकायले ‘मेड ईन वीरगञ्ज’ अभियान ल्याएर महिला सशक्तिकरणका कार्यमा सहयोग गरिदिए अझै राम्रो हुन्थ्यो ।’