Logo

२३ चैत, काठमाडौं । नेपाल रत्न तथा आभुषण संघले सुनको अवैध कारोवारको विरुद्ध आवाज उठाउने एक पदाधिकारीलाई निष्कासन गर्दा संघको विधान र नेपालको संविधानको धारा १७ (च) ले दिएको अधिकार विपरित गरेको निर्णय विवादमा परेको छ ।

संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले नेतृत्व गरी संचालनमा रहेका तीन वटा कम्पनीलाई समेत कारोवार गर्न नपाउनेगरी गरेको निर्णय विवादीत वन्न पुगेको हो । संघको विहिवार काठमाडौंमा वसेको ४१ औं बैठकले नरेन्द्र कुमार गुप्ताका तीनवटा कम्पनीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष सुमनमान ताम्राकारले शुक्रवार जारी गरेको विज्ञप्तीमा संघको विधानको कुन दफा अन्तरगत गुप्तालाई कार्वाही गरिएको हो भन्ने कुरा उल्लेख गरिएको छैन । विज्ञप्तीमा संघका वर्तमान र पूर्व पदाधिकारी विरुद्ध सामाजिक सञ्जाल र संचार माध्यममा समाचार दिएको भन्ने आरोपमा गुप्तालाई विधान अनुसार कार्वाही गरिएको भनिएको छ ।

गुप्ताले संघको मौजुदा विधानको कुन दफा उल्लंघन गरे भन्ने कुरा विज्ञप्तीमा उल्लेख गरिएको छैन । उनलाई स्पष्टीकरण सोधीएका पत्रमा समेत विधानको कुनै दफा प्रयोग गरिएको छैन । गुप्ताले संघ भित्र भएको सुनको अवैध धन्दाका बारेमा संघ भित्र र बाहिर आवाज उठाउदै आएका थिए ।

उनले उठाएको बिषयलाई संघको बैठकले कुनै चासो नदेखाई व्यक्तिगतरुपमा कसै प्रति गरिएको आलोचनालाई गम्भिर रुपमा लिई व्यापार व्यवसाय नै गर्न नपाउने गरी निर्णय लिनु कानून र संविधान विपरित रहेको कानून व्यवसायीको भनाई छ । संघले जारी गरेको विज्ञप्तीमा पनि संघका अध्यक्ष, उपाध्यक्ष, निर्वतमान अध्यक्ष र पूर्व पदाधिकारीहरुको व्यक्तिगत मान प्रतिष्ठा र पेशा व्यवसायका विरुद्ध भ्रामक प्रचार गरेको आरोप गुप्तामाथि लगाइएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको सुन खरिद तथा विक्री वितरण सम्वन्धि कार्यविधि २०६८ मा सुनचाँदीको व्यवसाय गर्ने फर्म वा कम्पनीले नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभुषण संघ र नेपाल कला व्यवसायी संघको सिफारिसमा विभिन्न बाणिज्य बैंकहरुबाट सुन खरिद गर्न पाउँने व्यवस्था गरिएको छ ।

नेपाल रत्न तथा आभुषण संघमा आवद्ध नरेन्द्र कुमार गुप्ता संचालक रहेका रिद्धिसिद्धि ज्वेलर्स प्रा.ली, रिद्धिसिद्धि ज्वेलरी हाउस र ब्लु हर्सन ज्वेलर्स प्रा.लीलाई संघको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ । रत्न तथा आभुषण संघमा आवद्ध रहेका तीनवटा कम्पनीलाई संघको साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेपछि काँचो सुन खरिदको सिफारिस लिन नपाउँने गरी बन्चित गरिएकोछ ।

नेपालको संविधानको भाग ३ को दफा १७ मा स्वतन्त्रताको हक अन्तरगत उपदफा (च) मा नेपालको कुनै पनि भागमा पेशा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रताको ग्यारेन्टी गरिएको छ । संविधानमा व्यवस्था गरिएको स्वातन्त्रताको हक विरुद्ध हुनेगरी गुप्ताले संचालन गरेका तीनवटा कम्पनीलाई कारोवार गर्न नपाउँने गरी गरिएको कार्वाही संविधानको मूलमर्म विपरित रहेको अधिवक्ता कमलमोहन पोखरेलले बताए ।

कुनै व्यक्ति वा समूहका बारेमा कसैले चरित्र हत्या गरे वा व्यक्तिगत मानमर्दन गरेको रहेछ भने उसलाई नेपालको फौजदारी कानून समिता अनुसार कार्वाही हुने व्यवस्था रहेको छ । उक्त कानूनी व्यवस्थालाई वेवास्ता गरि निर्वाचित पदाधिकारीलाई संघको विधान र नेपालको संविधान तथा प्रचलित कानूनको बर्खिलाप नहुनेगरी निर्णय लिनुपर्नेमा पेशा व्यवसायबाट विस्थापित हुने निर्णय गरिनु आफैमा कानून सम्मत नरहेको पोखरेलको भनाई छ ।

संघको कुनै पदाधिकारीले विधान सम्मत कार्य नगरेको पाइएमा विधानको कुन दफा वा उपदफाको उल्लंघन भएको हो स्पष्ट खुलाउनु पर्छ । यदी संघको हित विपरित कार्य गरेको ठहर भएमा सम्वन्धित पदाधिकारीलाई वहाल रहेको पदबाट मात्र निष्कासन गर्नुपर्नेमा संघमा आवद्ध कम्पनी र र्फमलाई समेत साधारण सदस्य नरहनेगरी हटाउनु न्योचित देखिदैन ।

संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका गुप्ताले संघले नेपालको संविधानले दिएको अधिकारलाई समेत चुनौती दिदै व्यक्तिले स्वतन्त्र रुपमा पेशा व्यवसाय गर्न पाउँने हक खोस्न खोजेकोले त्यसका विरुद्ध कानूनी प्रकृयामा जाने बताए । संघले सिफारीस नदिए सुन खरिद गर्न नपाउँने र सुन नभए गहना बनाएर विक्री गर्न नपाउँने गरी गरिएको प्रतिवन्धका विरुद्ध प्रतिवाद गर्ने गुप्ताको भनाई छ ।


सम्बन्धित समाचार