Logo

१८ वैशाख,मटिहानी । महोत्तरीको मटिहानीमा आगलगी भएको एक साता भइसकेको छ । गएको बुधबार दिउँसो १ बजे भएको आगलगीले टोलको १०३ घर जलेर नष्ट भएका छन् ।
तर प्रहरीले भने अहिलेसम्म आगो लागेको कारणबारे भेउ पाउन सकेको छैन । महोत्तरी प्रहरीले आगलगीबारे अहिलेसम्म सुइँको पाउन नसकेको महोत्तरीका एसपी नकुल पोखरेल बताउँछन् ।

आगलगी जेसुकै कारणले भएपनि करिब ५ सय व्यक्ति प्रत्यक्षरुपमा प्रभावित बनेका छन् । तरपनि प्रदेश सरकारले पीडितहरुको राहतका लागि कुनै प्याज घोषणामा तदारुकता देखाउन सकेको छैन । जसका कारण मधेश प्रदेशको ४३ पीडितहरुलाई ४३ डिग्रीको गर्मीमा त्रिपालमुनि बसेर दिन काट्नुपर्ने पीडितहरुलाई बाध्यता छ ।

पछिहारी टोलकी सुनरमती देबीले आगोले घर खरानी बनाएपछि आफूहरुलाई कहाँ बस्ने, अब कसरी घर बनाउँने भन्ने चिन्ताले सताइरहेको छ ।
उनले भनिन्,‘ घरमा भएको अन्नपातदेखि सबै सामग्री खरानी भयो, कपडासमेत निकाल्न सकिएन । कमाएर खाने परिवार हो हाम्रो तर अब घर जलिसकेपछि कमाउन सकिएको छैन । २४ घण्टा अब कसरी घर बनाउने चिन्ता लागि रहेको छ । किनकी हाम्रो अवस्था अहिले घर बनाइहाल्ने छैन ।’

उनी भन्छिन्,‘घरमा भएको कपडा, बर्तन सबै जलेर खरानी भइसकेपछि अहिले हामीलाई कपडा लगाउन पनि मुस्किल भइरहेको छ, एउटा कपडा सफा गरीगरी लगाउनु पर्ने बाध्यता छ । गर्मी त्यतिकै छ, शरीरमा भएको कपडा फुकालेर सफा गर्दा झन घामले मारिरहेको हुन्छ ।’

खुल्ला आकाशमुनि यो गर्मीमा बस्नु पर्ला भनेर हामीले सपनामा पनि नसोचेको उनी सुनाउँछिन । तर यो कहिलेसम्म बसिरहने थाहा छैन ? उनको प्रश्न छ । आगोले २ बाख्रा,अन्नपात, भाँडाकुँडा जलेर नष्ट भएको उनी बताउँछिन् ।
सुनरमती देबीको घरबाट करिब ५० मिटर अगाडि प्रबीण खातुनको घर छ ।। उनकै घरको छेउमा रहेको परालबाट सल्केको आगोले बस्तीलाई खरानीको थुप्रो बनाएको थियो । उनका अनुसार आफ्नो घरमा सुरुमा आगलगी हुँदा बल्लतल्ल भागेर ज्यान बचाए ।

उनी भन्छिन्,‘ आगलगी कसरी भयो थाहा भएन, तर एक्कासी लागेको आगाले घर जल्न थाल्यो । म घरभित्रै काम गरिरहेकी थिएँ, जब आगोको तापले पोल्न थाल्यो । अनि भागेर घरबाट निस्के । हेर्छु त एकैछिनमा पूरै घर खरानी भयो ।’

सोही टोलकी सिलिया देबीले आफू झन ठूलो समस्या परेको सुनाउँछिन् ।

उनी भन्छिन्,‘ बल्लबल्ल एउटा घर बनाएको थियौं, त्यो पनि जल्यो । झन ठूलो विपती आइप¥यो । अब म कसरी यसलाई सम्हाल्ने, घर बनाउने चिन्ताले झन बढी सताउन थाल्यो । कहाँ बस्ने ? कसरी घर बनाउने ? कसैले घर बनाइदिने पनि बोलि रहेका छैनन्, आफ्नो क्षमता छैन घर बनाउने । त्यसकारण निद्रामा राम्रोसंग लागिरहेको छैन ।’

चर्पी र बत्तीको समस्या
पछिहारी टोलमा पीडितहरुलाई खाना र बस्ने घरको मात्रै समस्या छैन । साढे ६ घण्टा लागेको आगोले त्यस बस्तीका बिजुलीको तार पनि जलाएर नष्ट गरेको छ । बस्तीको बिजुली तार जलेपछि स्थानीयलाई समस्या आएको हो । जसका कारण अध्याँरोमा बास बस्नु परेको पीडितहरुको गुनासो छ । जिल्ला महिला सञ्जाल महोत्तरीकी अध्यक्ष इसरागन यादवले अहिले त यो बस्तीमा चर्पी र बिजुलीको समस्या छ ।
बस्तीका महिलाहरुले यादवलाई गुनासो गरेकी छन,‘ आगलगीको अवलोकन गर्न धेरै आइरहन्छन्, बस्तीमा शौचालय छैन । जसकाकारण पिसाब फेर्न पनि कठिनाइ भइरहेको छ, रातीमा बत्ती नहुँदा सर्प टोक्ने चिन्ता पनि उत्तिकै महिलाहरुमा छ ।’ उनका अनुसार खासगरी ७ जना गर्भवती महिलाहरु छन् । उनीहरु शौचालय तथा बत्ती नहुँदा बढी समस्यामा परेको बताइरहेकी छन् ।

१ करोड ६० भन्दा बढीको क्षति
पछिहारी बस्तीका ५७० जना प्रत्यक्षरुपमा खाद्यान्न प्रभावित भएको महोत्तरी प्रहरीको तथ्यांक छ । महोत्तरी प्रहरी प्रमुख नकुल पोखरेलका अनुसार आगलगीले १०३ वटा घर जलेर नष्ट हुँदा ५७० जना प्रभावित बनेका छन् । उनीहरुलाई गाँस, बाँस, कपास सबैको समस्या भएको छ ।

प्रहरीले लिएको विवरण अनुसार १ करोड ६२ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी प्रमुख पोखरेल बताउँछन् ।
आगलगीका कारण एक सातादेखि टन्टलापुर घाममा बस्न बाध्य रहेको पछिहारी बस्तीमा प्रदेश सरकारबाट दिनहुँ कोही न कोही अवलोकन गरिरहेका हुन्छन् ।
तर सधै अवलोकन गरेपनि प्रदेश सरकारले पीडितहरुको राहतका लागि ठोस प्याकेज घोषणा गर्न सकेको छैन ।

प्रदेशका भौतिक मन्त्री सरोज यादवले केही प्राविधिक कारणले ठोस प्याकेजको घोषणामा सरकारलाई कठिनाइ भएको बताए ।
उनले भने,‘ आगलगी भएको बस्ती गुठीको जग्गा हो, त्यहाँ हामीले घर बनाउँन मिल्दैन । त्यसकारण घर बनाउने सवालमा हामी सल्लाह गरिरहेका छौं । अब बस्ने क्याबिनेटबाट यो बारेमा सल्लाह गरेर हामी केही निर्णय लिन्छौं ।’ तर तत्कालको लागि गृह मन्त्रालयबाट प्रति परिवार १०÷१० हजार रुपैयाँ दिने तयारी भइरहेको उनको भनाइ छ ।


सम्बन्धित समाचार