Logo

मुकुट भनेको देवता वा राजाले पैह्रने श्रेष्ठतासूचक शिरोभूषण वा श्रीपेजलाई भनिन्छ । मधेसमा जनताबाट निर्वाचित जनप्रतिनिधिमा समेत मुकुट मोह देखिन थालेको छ । यसले निर्वाचित जनप्रतिनिधि जनताको सेवक भन्दापनि आफूलाई सत्ताको मालिक ठान्ने सामन्ती उच्चवर्गको रुपमा चित्रण गर्न खोजेको देखिन्छ ।

२०७४ सालमा भएको आम निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं १ बाट जसपाका नेता प्रदीप यादव निर्वाचित भएपछि उनलाई वीरगञ्जका जनताको तर्फबाट भनेर उनका कार्यकर्ताले चाँदीको मुकुट शिरमा पैराइदिए र झण्डै ५१ किलोको मालाले स्वागत गरे । शिरमा मुकुटको ताज पहिरिएका यादवले जनताले दिएको सम्मान भनेर यसलाई सामान्य रुपमा लिए ।

२०७९ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा जसपाबाट निर्वाचित मेयर राजेशमान सिंहलाई माननीय प्रदीय यादवले चाँदीको मुकुट लगाईदिए । उनले मेयरको कार्यकक्षामा पुगेर मेयर राजेशमानलाई चाँदीको मुकुट लगाएका थिए । वीरगञ्ज महानगरपालिका वडा नंं १० का वडा अध्यक्ष सुशिल साह कानुले समेत चाँदीका मुकुट लगाएर विजयी जुलुस प्रर्दशन गरे ।

माननीय प्रदीप यादव र मेयर राजेशमान सिंहले लगाएको चाँदीको मुकुट प्रति खासै नागरिक स्तरबाट चासो प्रकट गरिएन । किन भने उनीहरुको राजनीतिक पृष्ठभूमि राजसंस्थासँग जोडिएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिमा आएकोले मुकुट मोह हुन स्वभाविक पनि थियो । प्रदीप यादव मधेस आन्दोलन पछि मात्र मधेसवादी दलमा आवद्ध भएका थिए । त्यसभन्दा अगाडी उनी पर्सा क्षेत्र नं. १ को राप्रपाको क्षेत्रिय सभापतिको भूमिकामा थिए ।

हालै सम्पन्न निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं ४ बाट नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रमेश रिजाल, बारा निर्वाचन क्षेत्र नं. ४ मा नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेता कृष्णकुमार श्रेष्ठ (किसान) र बारा ४ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित लोसपाका नेता जितेन्द्र सोनालले समेत चाँदीको मुकुट लगाएको तस्विर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नागरिक अगुवाबाट आलोचना गरिएको छ । जसपाबाट पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा दोश्रो पटकपनि निर्वाचित भएका प्रदीप यादवलाई यसपटक पनि चाँदीको मुकुट लगाइएको छ ।

लोकतन्त्र स्थापनाको लागि लामो संघर्ष गरेका नेपाली कांग्रेसका नेता रमेश रिजाल र सर्वाहारा वर्गको मुक्ती आन्दोलनमा सहभागी भएका कम्प्युनिष्ट नेता किसान श्रेष्ठको मुकुट मोहले लोकतान्त्रिक व्यवस्थालाई गिज्याउन खोजेको जस्तो अनुभूति जनताले गर्न थालेका छन् । मधेसमा नेतालाई भगवान ठान्ने कार्यकर्ताको दास मानोवृत्तिले पनि यस्तो गतिविधि मौलाउन पुगेको हुन सक्ने धारणा नागरिक अगुवाहरुको छ ।

वरिष्ठ पत्रकार तथा स्वतन्त्र लेखक चन्द्रकिशोरले आफ्नो फेसबुक पेजमा मुकुट मोहले समातामूलक लोकतन्त्र निर्माण हुन नसक्ने विचार व्यक्त गरेका छन् । उनले लेखेका छन् “विपन्न एंव बंचित जनताका निर्वाचित प्रतिनिधिलाई चाँदीको मुकुट वा गह्रौ माला लगाउनु, पैसा वा मिठाईले तौलिनुलाई केवल प्रशंसकको चाहना भन्न सकिदैन यो सामंती सोच र शोषणको जरो हो ।”

मूलुकमा लोकतन्त्र संस्थागत भएको एकदशक नपुग्दै जनप्रतिनिधिमा देखिने सामन्ती शासकको झलकले जनतामा नैरास्यता पैदा गराएको छ । जनताको वलिदानबाट प्राप्त भएको लोकतन्त्रिक गणतन्त्र व्यवस्थको विधिसम्मत कार्यान्वयन हुन नसक्दा नागरिक स्तरमा नकरात्मक विचार पैदा गराउने काम समेत यस्तै प्रवृत्ति भएका जनप्रतिनिधिको क्रियाकलापबाट भएको हो भन्न सकिन्छ ।

राजाको छोरा राजा बन्ने र राजा नै सर्वेसर्वा हुने शासनलाई राजतन्त्र भनियो अनि जनताद्वारा जनताका लागि जनताको शासन हुने व्यवस्थालाई लोकतन्त्र भनियो । राजाको शासनकालमा निरंकुशता हाबी भयो । राजनीतिक दललाई प्रतिवन्ध लगाईयो, जनताले पाउँनु पर्ने आधारभूत कुराबाट नागरिकलाई बन्चित गराइयो, शिक्षा, स्वस्थ्य लगायत स्वतन्त्र रुपमा बोल्न पाउने नागरिक अधिकार समेत हनन् भयो, जनतालाई रैती बनाएर शासन गर्ने परम्पराले जनताले दुख पाए उनीहरुको जिवनस्तर कमजोर भयो भनेर ठूलो संघर्ष भयो । २०४६ सालमा भएको जनआन्दोलनबाट पंचायती व्यवस्था अन्त्य भयो । २०५२ सालमा माओवादीले शुरु गरेको सशस्त्र आन्दोलन र ०६२/६३ मा भएको जनआन्दोलनबाट मुलुकमा गणतन्त्रको उदय भयो ।

बहुसंख्यक जनताद्वारा चुनिएका जनप्रतिनिधिको सहभागीतामा शासन व्यवस्था चल्ने र नीति निर्धारण हुने शासन प्रणाली भनेर लोकतन्त्रको स्थापना गरियो । लोकतन्त्रमा सबै समान हुन्छन्, सबैले समान अवसर पाउँछन् र सबै सुखी हुन्छन् भनियो । जनताबाट निर्वाचित जनप्रतिनिधिले आफूलाई शासक होइन् जनताको सेवक भएर काम गर्ने व्यवस्था नै लोकतन्त्र हो भनेर राजनीतिक दलहरुले जनताको घरदैलोमा पुगेर पढाए । लोकतान्त्रिक व्यवस्थामा जनताद्धारा निर्वाचित जनप्रतिनिधिले जनताको सेवक भएर काम गर्ने भन्दापनि आफूलाई शासक भन्न रुचाउन थाले ।

लोकतान्त्रीक विधिबाट जनताले निर्वाचित गरेका जनप्रतिनिधिमा मुकुट मोह देखिन थालेको छ । मुकुट त हिजो राजतन्त्रमा राजगद्दी प्राप्त राजा वा उनको उत्तराधिकार राजकुमारले मात्र लगाउने परम्परा थियो । देशमा अहिले लोकतान्त्रिक गणतन्त्र व्यवस्था छ । जनताले निर्वाचित गरेर पठाएको प्रतिनिधि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री हुने व्यवस्था छ । आवधिक निर्वाचनबाट जनताले चुनेर पठाएको प्रतिनिधिले लोकसम्मत विधिबाट शासन गर्ने प्रणाली लाई अंगिकार गरेका जनप्रतिनिधिमा शासक बन्ने मोह देखिनु लोकतन्त्रकै लागि शुभसंकेत मानिदैन । यो सामन्ती प्रवृत्तिको पुनरावृत्तिको संकेत हो भन्न सकिन्छ ।

संविधानमा समेत नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न भनिएको छ तर व्यवहारमा देखिदैन, नेताले आफूलाई सर्वशक्तिमान ठान्ने र जनतालाई निरीह र निम्छरा जस्तो व्यवहार देखाउने प्रवृत्तिले राजनीतिक दल र नेताहरु प्रति जनतामा निरासा पैदा गरेको प्रष्ट हुन्छ । हालै सम्पन्न निर्वाचनको परिणामले समेत यो संकेत गरेको देखिन्छ । राजनीतिक दलका नेता र तीन तहका सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको व्यवहारको कारण व्यवस्था माथि नै जनताले प्रश्न उठाउन खोजेका छन् । यसले हजारौ नेपाली शहिदको बलिदानीबाट प्राप्त अधिकार गुम्न सक्ने खतरा देखिएको छ । हिजो राजाले शासन गर्ने पंचायती व्यवस्था र जनताको लागि जनताले नै निर्वाचित गरेर पठाएका प्रतिनिधिले शासन गर्ने शैलीलाई तुलना गरेर यो भन्दा त्यहीँ व्यवस्था ठिक रहेछ भन्ने अवस्था सृजना गर्न खोजिएको छ । केही जनप्रतिनिधिको गलत कार्यशैलीको कारण व्यवस्था प्रति जनताले प्रश्न उठाउने अवस्था निर्माण गर्न खोजिदै छ ।

नेपालमा कानुनले दासत्व प्रथा अन्त्य गरेको छ तर जनतामा दास मनोवृत्ति कायमै देखिन्छ । नेतालाई राजा ठान्ने र देवत्वकरण गर्ने प्रवृत्ति लोकतन्त्रका लागि हानीकरक हुन, बरिष्ठ अधिवक्ता रामेश्वर सेढाईको भनाई छ “नेताको चाकडी गर्न नेतालाई मुकुट लगाइदिएर राजा ठान्ने मानसिकताले जनताको अभिमतबाट निर्वाचित जनप्रतिनिधिमा अंहकार पैदा गरेको देखिन्छ ।” केही जनप्रतिनिधिले आफूलाई कानुन भन्दा माथि राखेर काम गरेको पाइन्छ । यस्तै खालका जनप्रतिनिधिको प्रवृत्तिका कारण आज सिंगो व्यवस्था प्रति नै नागरिकले नै प्रश्न उठाउन थालेका छन् ।

मधेसमा देखिएको मुकुट पैराउने सस्कृति लोकतन्त्रको विकृति रुप हो, यसलाई राजनीतिक दल र त्यसको नेतृत्वले समयमा बुझ्न सकेनन् भने यसले निम्त्याउने परिणाम राम्रो नहुने भनाई वरिष्ठ अधिवक्ता सेढाईको छ । स्वार्थ बोकेका कार्यकर्ताले जे गर्छन् नेताले त्यसलाई स्वीकार गर्नु नै यसमा नेताको मौन सहमती रहेको देखिने सेढाईको बुझाई छ ।

नेतालाई जनताबाट जितको खुशियालीमा पाएको माया र गरिएको सम्मान हो भन्ने बुझाई छ । झट्ट हेर्दा त्यस्तो देखिएतापनि मुकुट र भारी मालाको घेरा भित्र बसेर थापिनु सम्मान लोकतन्त्रमा कति जायज हो भन्ने प्रश्न उठन सक्छ । जनताले जितेको जनप्रतिनिधिले नागरिक र समाजको लागि गरेको राम्रो कामका लागि सम्मानीत हुनु राम्रो हो तर निर्वाचन जितेकै आधारमा जनताबाट सम्मानका नाउँमा ग्रहण गरिने उपहार र पहिरिने चिजले कालान्तरमा कस्तो प्रभाव पार्छ भन्ने समिक्षा गर्न नसक्ने नेताले कसरी सुन्दर समाज निर्माण गर्न सक्छन भन्ने प्रश्न पनि हो । अघिल्लो निर्वाचनमा जितेर गएकाहरु यसपटक जनताको विचमा जाँदा आफूले जनताको जिवनस्तर र विकास निर्माणमा कति योगदान गर्न सकियो भनेर गर्वका साथ भन्ने लायकको काम देखाउन नसक्ने फेरी चुनाव जितेपछि चाँदीको मुकुट लगाउनुको कुनै अर्थ हुदैन ।

मुकुट संस्कृतिले लोकतन्त्रमा नेताको सम्मान होइन अपमान गरे जस्तो लाग्छ । जनताले प्रश्न गर्न थालेका छन् कसले दिन्छ जनतालाई सुख ? सबै उस्तै हुन् । “जुन जोगी आए पनि कानै चिरेका ।” नेताहरुले आफ्नो लागि मात्र राजनीतिक गर्ने जनता त तिनको प्रगतिको भ¥याङमात्रै भएका छन् । जनताको ढाडमा टेकेर ती आफ्नो लक्ष्यमा पुग्छन् । लक्ष्यमा पुगेपछि जनतालाई बिर्सन्छन् । यो परिस्थिति हिजो थियो । आज पनि छ, भोलि पनि रहनेछ । हिजोको राजतन्त्र र अहिलेको लोकतन्त्रमा के भिन्नता छ ? जनताले प्रश्न उठाउन थालेको छन, यसको जवाफ कसले दिने ?

लोकतन्त्रमा नेता भनेका जनताका सेवक हुन् भनिन्छ । त्यसैले नेताले जनतासामु झुक्नुपर्ने हो । तर जनताले नेतासामु झुक्नुपर्ने बाध्यता छ । नेताको अभिमानसामु जनताको स्वाभिमान निरीह छ । नेताको शान र मान छ तर जनतालाई सबैतिर अपमान छ । जनताले तिरेको त्यही शुल्क र करबाट पालित र पोषित जनप्रतिनिधिले नै जनतालाई तुच्छ सम्झन्छन् । यस्तो खालको परम्पराको अन्त्य कहिले हुन्छ ? कसले गर्न सक्छ ?

लोकतन्त्रमा नागरिक भेडा बाख्रा जस्तो बन्नु राम्रो मानिदैन, नेताको आसेपासे, भरौटे र अंगरक्षक बन्न जनतालाई सुहाउदैन । लोकतन्त्रमा जनता नेताका पुजारी बन्न हुदैन, नेतालाई अविर र फूलमालाले सिंगार्ने र सजाउने व्यूटीपार्लर बनाउन खोज्नु लोकतन्त्रको उपहास गर्नु हो । जनता नेताभन्दा तल झर्न हुदैन किनभने लोकतन्त्र आफैमा लोक र नागरिकको लागि बनेको अपूर्व शब्द हो । यसलाई राम्रोसँग बुझेर नेताले कार्यान्वयन गर्ने र जनताले पालना गर्ने हो भने लोकतन्त्रको नाउँमा देखिएका विकृति अन्त्य हुने अपेक्ष गर्न सकिन्छ ।

यसपटकको निर्वाचनमा परम्परागत राजनीतिक दललाई भन्दापनि स्वतन्त्र उमेदवार प्रति जनमत बढेको देखिन्छ । पुराना राजनीतिक दलले पाएको समानुपातिक मत घटेको छ नयाँ राजनीतिकदलको उदय भएको छ । यो भनेको राजनीतिक दलका नेता प्रतिको असन्तुष्टी हो । यसलाई सच्चाउने तर्फ दलका नेताहरु जान सकेनन् भने मूलुक गैरदलिय भुमरीमा फस्न सक्ने अवस्थाको चित्रण यो निर्वाचन परिणामले देखाएको छ ।


सम्बन्धित समाचार