Logo

३१ वैशाख,वीरगञ्ज । मधेश प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । हिजो प्रदेश सरकारबाट माओवादी र एमाले बाहिरिएसंगै प्रदेशमा नयाँ सरकार गठन गर्न दलहरु प्रयत्नशील देखिएका छन् ।

सरकार निर्माणका लागि सत्तापक्षले आफ्नै नेतृत्वमा सरकार बनाउँन योजना बनाइरहेको छ भने सरकारबाट बाहिरिएका एमाले र माओवादीसहितका दलहरुले भने जसपाबाहेकको नेतृत्वमा सरकार गठन गर्न तयारी गरिरहेका छन् ।जसका लागि एमाले र माओवादीले सरकार बनाउन आज ४ दलका नेताहरुसंग परामर्शमा जुटिसकेको छ । भने अर्कोतर्फ आफ्नै सरकारलाई टिकाउन मुख्यमन्त्री सरोजकुमार यादव कांग्रेससहितका दलसंग छलफलमा जुटेका छन् ।

जसका लागि जसपाले कांग्रेस, लोसपासहितका दललाइ आफ्नै सरकारलाई विश्वासको मत दिन आन्तरिक लबिङ सुरु गरिसकेको बताइन्छ ।केन्द्रमा रहेका प्रतिपक्षी सबै दलहरुलाई समेटेर नयाँ सरकार बनाउन जसपाको गृहकार्य गरिरहेको दाबी छ । जुन दाबीलाई पुष्टि गर्न मुख्यमन्त्री यादवको प्रतिक्रिया नै काफी छ । आफ्नै नेतृत्वको सरकारले विश्वासको मत पाउने मुख्यमन्त्री यादवको दाबी छ ।

उनी भन्छन्, ‘म विश्वासको मत लिएर देखाउँछु, पहिला जस्तै यो पटक पनि म त्यसमा सफल हुन्छु, मेरो ग्यारेन्टी छ । जब म विश्वासको मत लिन्छु तब तपाइहरुलाई पनि विश्वास हुन्छ ।’स्रोतका अनुसार केन्द्रमा रहेका प्रतिपक्षी दलहरुलाई समेटेर प्रदेशमा विश्वासको मत लिने योजनामा जसपाले सक्रियता बढाएको छ ।

जसपाले खासगरी केन्द्रमा प्रतिपक्षी भूमिकामा रहेका कांग्रेस, लोसपा, जनमतलाई समेटेर नयाँ सरकार गठन गर्ने र उनीहरुकै समर्थनमा विश्वासको मत लिने योजनामा रहेको स्रोतको भनाइ छ ।
त्यसका लागि सुरुमा जनमतलाई फकाएर विश्वासको मत लिने उसको पहिलो योजना छ । पहिलो योजनामा सफल नभए जसपाले आफ्नो नेतृत्व नै परिवर्तन गरेर आफू सरकारमा रहने गरी अर्को हतकन्डा पनि अपनाउने तयारीमा रहेको जसपाका एक प्रदेश सांसद बताउँछन् ।

जनमतले जसपाको नेतृत्वमा नस्वीकारे त्यसपछि अर्को योजनामा जसपा ‘मूभ’ हुने तयारी छ । त्यो भनेको आफू नेतृत्व छाडेर अरु प्रतिपक्षी दलको नेतृत्वको सरकारमा जसपाले ‘माइन्डसेट’ गरेको दाबी छ ।
नेतृत्वको विषयमा ४ दलमै खटपट सुरु

हिजो मात्रै सरकारबाट बाहिरिएका माओवादी र एमालेले पनि सरकार निर्माणको छलफलमा प्रयत्नशील छन् ।माओवादी केन्द्रका प्रदेश सांसद युवराज भट्टराइ (समीर) का अनुसार सरकार गठनबारे आज विहानदेखि आन्तरिक छलफल भइरहेको छ ।

कसरी गठन गर्ने त्यो सवालमा ४ दलका प्रमुखहरुसंग आन्तरिक छलफलमा जुटेको उनले बताए । उनले भने, ‘आज विहानदेखि हामीले ४ दलका शीर्ष नेताहरुसंग छलफल सुरु गरेका छौं, ४ वटै दलका प्रमुखसहित जिम्मेवार व्यक्तिसंग आन्तरिक छलफल भइरहेको छ । तर निष्कर्शमा पुग्न सकिएको छैन ।’

यता ४ दलहरुमा नेतृत्वको विषयलाई लिएर खटपट पनि सुरु भइसकेको लोसपाका एक प्रदेश सांसदको दाबी छ ।

साना दल निर्णायक

केन्द्रको सत्ता पक्ष र प्रदेशको सत्ता पक्ष आ–आफ्नै नेतृत्वमा मधेश सरका गठनका लागि प्रयत्नशील रहँदा त्यसमा अन्य साना दलहरु भने निर्णायक बनेका छन् । तीनवटा दलहरु जसपा, एमाले र माओवादी सरकार बनाउने खेलमा लाग्दा अब प्रदेशमा बाँकी कांग्रेस, जनमत, लोसपा र एकीकृत समाजवादी सहितका साना दलहरु छन् ।

प्रदेशको हालसम्मको समिकरण अनुसार जसपा र कांग्रेस एक ठाँउमा उभिने अवस्था छ । यता एमाले र माओवादीले भने संयुक्त रुपमा सरकार बनाउने छुट्टै रणनीति बुनिरहेका छन् । जसपा र कांग्रेस एक ठाउँमा मिले लोसपा र जनमत मात्रै बाँकी हुन्छन् । त्यसकारण, प्रदेश सरकार गठनमा यी दुई पार्टी निर्णायक छन् । अर्थात् यी दुई दलहरु जता गयो त्यतैको सरकार बन्छ ।

अंक गणितीय जोडघटाउका कारण अहिले यी दुई दलहरुको बार्गेनिङ पावरमात्रै बढेको छैन । मुख्यमन्त्रीको आकांक्षी नै बनाइदिएको छ ।


सम्बन्धित समाचार