Logo

फाइल फोटो

४ जेठ,वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकास्थित बैशाख ११ गते भिषण आगलागी भयो । महानगरपालिकाको वडा नम्बर १७ अलौँ निवासी महेन्द्र सहनीको फुसको घरमा विद्युत् सर्ट भइ आगो लागेको थियो ।
आगोले आलौँका ७ जनाको घर, लत्ताकपडा, खाद्यन्न, नगद तथा पशुसमेतलाई जलाएर नष्ट बनायो । नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा करिब २ घण्टामा आगोलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट ५३ लाख ९० हजार मूल्य बराबरको क्षती भएको आंकलन छ ।

त्यसको ठिक ३ दिन अगाडी अर्थात् बैशाख ८ जिल्लाको छिपहरमाई गाउँपालिकामा भएको आगलागीबाट ४ जनाको घर जलेर खरानी भयो ।
गाउँपालिकाको वडा नम्बर १ स्थित भलुवहिया टोलको एक कुखुरा फर्ममा आगो सल्कियो र त्यहि आगोले उनीहरुको घरबार उजाडेको थियो । त्यो आगो छिमेकी देश भारतको गहुँको खेतमा छ्वाली जलाउन लगाइएको आगोको झिल्का फैलिएर आएको थियो ।

तापक्रममा अधिकतम वृद्धि आएसँगै भएका आगलागीका घटनाबाट धनमाल तथा पशुमात्र हैन, यसको चपेटामा मानिसहरुसमेत परेका छन् । चैत्र २ गते वीरगञ्ज वडा नम्बर ३२ प्रसवाको जगदम्बा इन्टरप्राइजेज प्राइभेट लिमिटेडमा आगो लाग्यो । कबाडी सामान पोल्ने क्रममा लागेको आगोले धनको मात्र क्षती भएन, त्यहाँ कार्यरत मजदूरहरुलाई नै जलायो ।

आगोले ३ जना मजदूर घाइते भए । आगलागीबाट ७० लाख रुपैँया बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो । त्यो घटनाको ठीक ५ दिन अगाडी अर्थात् फागुन २६ गते वीरगञ्ज मूर्लीको एक गोदाममा आगो सल्कियो । सञ्जय प्रसाद पटेलको गोदाममा अचानक विद्युत् सर्ट भइ आगो लाग्दा फर्निचर तथा सामानहरु जल्दा ८५ लाखको क्षती भएको थियो ।

पर्सासहित मधेस प्रदेशका जिल्लाहरु अहिले आगलागीको चपेटामा छन् । यहाँ दिनहुँ आगलागीका घटनाहरु भइरहेका छन् । अर्थात् बढ्दो गर्मीबिच पर्सासहित प्रदेशका जिल्लाहरु आगलागीको कहरबाट प्रभावित छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चालु आर्थिक वर्षको हालसम्म जिल्लाभर झण्डै डेढ सय वटा घटना आगलागीका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा जिल्लाका १४ वटै पालिकाभर १ सय ४० वटा आगलागीका घटना भएका प्रहरी तथ्यांक छ । उक्त घटनाहरुबाट एक जना पुरुषले ज्यान समेत गुमाएको पर्सा प्रहरीका प्रहरी नायब उपरिक्षक प्रवक्ता कुमार बिक्रम थापा बताउँछन् । उनका अनुसार आगलागीका कारण ६ जना बालबालिकासहित ३२ जना घाइते भएका छन् ।

साथै ७८ वटा चौपायाको मृत्यु भएको र ३ वटा घाइते भएको प्रहरी विवरण छ । आगलागीबाट यो अवधिमा ६१ कच्ची तथा ११ पक्की घर जलेर नष्ट भएको छ । यसैगरी २१ वटा गोठ जलेको पर्सा प्रहरीले जनाएको छ । आगलागीका कारण जिल्लाभरका ९ सय २६ जना परिवार पीडित बनेका प्रवक्ता थापाले बताए ।

कुन महिनामा कति घटना ?

गर्मी बढेसँगै आगलागीका घटना बढ्न थालेको प्रहरी विश्लेषण छ । प्रहरी विश्लेषणमा जिल्लामा आगलागीका घटना उकालो लाग्ने क्रममा छ । जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांक अनुसार जिल्लामा सबैभन्दा बढी घटना बैशाख महिनामा भएको छ । भने सबैभन्दा कम असोजमा भएको छ ।

बैशाखमा ३७ वटा घटना भएको र असोजमा १ वटा घटना भएको प्रहरीको आंकडा छ । यसैगरी साउनमा ३, भदौ २, कात्तिक १५, मंसिर ७ वटा घटना भएका छन् । त्यसैगरी पुष १८, माघ २२, फागुन १३ र चैत्रमा २२ वटा घटना घटेका छन् ।

कति क्षती ?
आगलागीका कारण जिल्लाभर यो अवधिसम्म झण्डै ६ करोड मूल्यको क्षती भएको छ । प्रहरीले दिएको तथ्यांक अनुसार आगलागीबाट ५ करोड ९४ लाख ६ हजार ८०० रुपैँयाको धनमालको क्षती पुगेको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार सबैभन्दा बढी फागुन महिनामा धनमालको क्षती भएको छ । प्रहरीका अनुसार फागुनमा १ करोड ५६ लाख ७ हजार ३ सय को क्षती भएको छ ।

यसैगरी चैत्रमा १ करोड २७ लाख १२ हजार, बैशाखमा १ करोड १५ लाख ६५ हजार, माघ ३४ लाख १५ हजार ५ सय, पुष २२ लाख ३५ हजार, मंसिर १५ लाख ९५ हजार, कात्तिक १ करोड ६० हजार, भदौ १ लाख ४६ हजार र साउनमा २० लाख ७१ हजार मूल्यको धन सम्पत्तिको क्षती भएको छ ।

किन बढ्दैछन् घटना ?

गर्मीसँगै जिल्लामा आगलागीका घटना पनि बढ्दो छन् । यहाँ दिनहुँ झै आगलागीका घटनाहरु घटिरहेका प्रहरीको तथ्यांकले नै देखाइरहेको छ । एक्कासी गर्मी बढेसँगै आगलागीका घटना बढ्न थालेको प्रहरीको ठम्याइ छ । पर्सा प्रहरीका प्रहरी नायब उपरिक्षक प्रवक्ता थापाका अनुसार मौसमी प्रभावसँगै जिल्लामा गर्मी बढ्दो छ, तातो हावाको लहर अर्थात् चल्ने क्रम बढेको छ ।

निरन्तर बढ्दो गर्मी र तातो हावा चल्दा आगलागीका घटनाहरु पनि बढेको उनको भनाइ छ । मानिसहरुमा चेतनाको अभाव हुँदा आगलागीका घटनाहरु पनि बढ्ने गरेको उनी बताउँछन् । स्थानीयबासिन्दाले जथाभावी जंगलमा आगो लगाउँदा, गहुँको छ्वालीमा लगाइएको अव्यवस्थित आगोका कारण विशेषगरी आगलागीका घटना हुने गरेको बताए ।

यसैगरी प्राविधिक क्रुटी हुनु पनि यसको प्रमुख कारण रहेको उनले बताए । आगलागीका कारण धनजनको क्षती हुनु गम्भिर विषय भएकोले जिल्लामा प्रहरीले सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।

छैनन् पर्याप्त दमकल

जिल्लामा १४ वटा स्थानीय तहका सरकार छन् । अधिकांश पालिकामा आगो लागेको खण्डमा तत्काल नियन्त्रणका लागि वारुण यन्त्र÷दमकल छैनन् । जिल्लाका ४ पालिकाबाहेक अन्य वारुण यन्त्र छैनन् । वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका सखुवाप्रसौनी गाँउपालिका र पर्सागढी नगरपालिकाले तत्काल आगो निभाउन वारुणयन्त्र (दमकल) संचालन गर्दै आएका छन् ।

अन्य १० पालिकामा भने दमकल नभएकाले यी ४ पालिकाबाट सेवा लिदैँ आएका छन् । बजेट अभावका कारण पालिकामा दमकलको व्यवस्था गर्न नसकिएको पालिका प्रमुखहरुले बताउँदै आएका छन् । हरेक पालिकामा कर्मचारीहरुको सेवा सुविधाका लागि सवारी साधनहरु उपलब्ध गराइएको भएपनि दमकल खरिद नगर्दा यसको असर भने स्थानीयबासीलाई पर्ने गर्दछ ।

आगलागीका कारण अन्नबालीसँगै धन, पशु तथा मानवीय क्षतीसमेत हुने भएकाले यस विषयमा ध्यान दिन जरुरी रहेको सामाजिक अभियान्ता तथा बुद्धिजीवीहरु बताउँछन् ।


सम्बन्धित समाचार