Logo

मधेसमा आन्तरिक गुटबन्दीका कारण पार्टी संगठन कमजोर हुन पुग्दा नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य पदका उमेदवारले पराजय भोग्नु परेको छ । मधेसी जनताको पक्षमा वकाल गरेको पार्टी मधेसको भूगोलमा कमजोर बन्नुमा पार्टी भित्र मौलाउदै गएको गुटबन्दी मुख्य कारक भएपनि माओवादी नेताहरु भने विद्यमान निर्वाचन प्रणालीमा देखिएको विकृत रुपका कारण पराजय भोग्नु परेको निष्कर्ष निकाल्न थालेका छन् ।

बर्षौ देखि सामन्ती राज्यसत्ताको कारण राजनीतिक, सामाजिक र आर्थिक अधिकारबाट बन्चित मधेसका जनताको मुक्तीका लागि सर्घष गरेको पार्टीले २०७९ को निर्वाचनमा गठबन्धन गरेर चुनावमा जादा समेत लज्जास्पद हार व्यर्होनु परेको छ । मधेस प्रदेशमा रहेका ३२ निर्वाचन क्षेत्र मध्ये नेकपा माओवादी केन्द्रको भागमा ७ वटा मात्र परेको थियो । मधेसमा पाँच दलिय गठबन्धन भनिएपनि नेपाली कांग्रेस, माओवादी केन्द्र र लोसपा विच चुनावी गठबन्धन थियो ।

मधेसमा माओवादीले पाएको ७ मध्ये एउटा निर्वाचन क्षेत्र सर्लाहीको निर्वाचन क्षेत्र नं. २ मा बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीको तर्फबाट माओवादीको चुनाव चिन्ह्र लिएर लडेका महेन्द्रराय यादव मात्र विजयी भए । माओवादीले पाएको ६ स्थानमा भने पराजय भोग्नु परेको छ । अघिल्लो निर्वाचनमा ५ जनाले प्रतिनिधित्व गरेको मधेस प्रदेशबाट यसपटक शून्य भएको छ ।

गठबन्धनमा माओवादीले सिराह ३ बाट विश्वनाथ साहलाई उमेदवार बनाएको थियो । उनी नेकपा एमालेका उमेदवार लिलानाथ श्रेष्ठसँग एक हजार १८२ मतान्तरबाट पराजय हुन पुगे । एमालेका श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गर्दा माओवादीका साहले २६ हजार ८८२ मत ल्याएका थिए ।

त्यसैगरी धनुषा क्षेत्र नं. १ मा माओवादीका उपमहासचिव मातृका प्रसाद यादवलाई उमेदवार बनाएको थियो । यादव जसपाका उमेदवार दीपक कार्कीसँग ५ हजार ९४८ मतान्तरबाट पराजय भएका छन् । उनले २१ हजार ४८३ मत प्राप्त गर्दा जसपाका दीपक कार्कीले २७ हजार ४३१ मत ल्याई विजयी भएका थिए ।

महोत्तरी क्षेत्र नं. १ बाट उमेदवार बनेका माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणी पोखरेल समेत एमालेका उमेदवार लक्ष्मी महतो कोइरीसँग एक हजार ३० मतको अन्तरले पराजित हुन पुगे । महतोले २३ हजार ४०२ मत ल्याउदा माओवादी केन्द्रका पोखरेलले २२ हजार ३७२ मत पाएका थिए ।

सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा माओवादी केन्द्रको तर्फबाट उमेदवार बनेका नरेन्द्र साह कलवार ७७० मतान्तरबाट एमालेका उमेदवारसँग पराजित हुन पुगे । कलवारले ३२ हजार १६८ मत ल्याउदा एमालेका हरि उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गरेका थिए ।

रौतहट निर्वाचन क्षेत्र नं. ३ मा सत्तागठबन्धनले केन्द्रबाट स्वतन्त्र उमेदवार प्रभु साहलाई सहयोग गर्ने निर्णण गरेपनि जिल्लामा प्रभु साहलाई नछोड्ने भन्दै नेकपा माओवादीका उमेदवार रविन्द्र पटेलले आफ्नो उमेदवारी निस्कृय नबनाउने अडान लिए । उनले आफ्नो चुनाव प्रचारलाई निरन्तर अगाडी बढाउदै लगेका थिए । तर निर्वाचनमा उनी तेश्रौ स्थानमा पुगे ।

उक्त निर्वाचन क्षेत्रमा एमालेको टिकट त्यागेर स्वतन्त्र उमेदवार बनेका प्रभु साहले ३२ हजार ४३७ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्धन्दी ओम प्रकास जयसवालले २५ हजार २ सय मत पाएका थिए । सत्ता गठबन्धनले यस क्षेत्रमा ओम प्रकाशलाई सहयोग गरेको थियो ।

बारा निर्वाचन क्षेत्र नं. २ बाट नेकपा माओवादी केन्द्रबाट उमेदवार बनेका शिवचन्द्र कुशवाहा जसपाका उमेदवार रामराय यादवसँग झिनो मतान्तरबाट पराजित हुन पुगे । कुशवाहाले यादवसँग ३५४ मतान्तरबाट पराजय भोग्नु परेको हो । नेपाली कांग्रेसबाट दुईजनाले स्वतन्त्र उमेदवार दिएको कारण गठबन्धनको मत पाउन नसक्दा शिवचन्द्र प्रसाद कुशवाहाले हार व्यहोर्नु प¥यो । त्यस क्षेत्रमा नेपाली कांग्रेसका बागी उमेदवार रविन्द्र प्रसाद यादवले १० हजा ७५० र अरुण ज्ञावलीले ७ हजार ६९८ मत प्राप्त गरेका छन् ।

सर्लाहीको निर्वाचन क्षेत्र नं. २ मा माओवादीको चुनाव चिन्ह्र लिएर उमेदवार बनेका नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवले लोसपाका नेता राजेन्द्र महतोलाई हराएर विजयी भएका छन् । यादवले महतोलाई २ हजार ११ मतान्तरबाट पराजीत गरेका थिए । पाँचदलिय गठबन्धनबाट दुई जना विच प्रतिस्पर्धा गर्ने निर्णय भएपनि राजेन्द्र महतोलाई नेपाली कांग्रेसले सहयोग गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द मधेसमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा शुन्य भएको छ । अघिल्लो (२०७४) निर्वाचनमा पाँच स्थानमा विजयी हासिल गरेको माओवादी यसपटक शुन्य हुनुको पछाडी के कारण हो भनेर पार्टी भित्र समिक्षा हुनुपर्ने भनाई माओवादी केन्द्रका पार्टी सचिव तथा मधेस प्रदेशका इन्चार्ज गणेश साहको छ । २०७४ को निर्वाचनमा माओवादी पार्टीका तर्फबाट रौतहट ३ बाट प्रभु साह, सर्लाहीबाट ३ रामेश्वर राय यादव, महोत्तरी १ बाट गिरीराजमणी पोखरेल, धनुषा १ बाट मातृका प्रसाद यादव र सिराह २ बाट सुरेशचन्द्र दासले निर्वाचन जितेका थिए ।

मधेसमा लामो समय देखि पार्टी संगठन विधिसम्मत रुपमा बन्न नसकेको र मधेसका नयाँ समस्यालाई पार्टीले सही रुपमा उठाउन नसकेको कारण पराजय भोग्नु परेको भनाई छ मधेस प्रदेशका इन्चार्ज साहको । साह भन्छन् “मधेसी जनताको मुक्तीको लडाईँको कुरा मात्र उठायौ तर मूलुकमा परिर्वतन पछि मधेसमा देखिएका समस्यालाई एजेण्डाको रुपमा पार्टीले उठाउन नसक्नु नै पराजयको मुख्य कारण हो ।”

उनले पार्टी भित्र मौलाउदै गएको गुटउपगुट पनि एउटा जटिल समस्या भएको बताउछन् । मधेसमा लामो समय देखि पार्टीले पूर्णता पाउन नसकेको र नेताले आफ्नो गुटलाई प्रयोग गरेर पार्टी भित्रका अर्को गुट भनिने समूहका मान्छेलाई सिध्याउन खोज्दा यस्तो परिणाम भोग्नु परेको हो, मधेस इन्चार्ज साहको बुझाई छ ।

बुर्जुवा संसदीय व्यवस्थामा विचार भन्दा पनि पैसाको बलमा चुनाव जित्ने स्थिती हुने भएकोले यो निर्वाचन प्रणाली फेर्नुपर्ने भनाई छ माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणी पोखरेलको । अव निर्वाचन प्रणाली र शासकिय स्वरुपका विषयमा बहस चलाउनु पर्छ, पोखरेल भन्छन् “यो विषयलाई पार्टी भित्र र बाहिर गम्भिर रुपमा बहस चलाउन पार्टीपंक्ति, नागरिक समाज र विभिन्न सामाजिक क्षेत्रका अगुवासँग आग्रह गर्छु ।”

एउटै व्यक्ति पटक पटक चुनाव लडने तर जनतको अपेक्षा पुरा हुन नसक्ने अवस्थामा जनताले खोजेको नयाँ अनुहार दिन नसक्दा पराजय भोग्नुको अर्को कारण हो । यसपटक जनताले नयाँ नेतृत्व माग गरेको देखिन्छ माओवादी केन्द्रका सचिव गणेश साह भन्छन, “जनताको भावना बुझ्न नसक्नुु अर्को कमजोरी हो ।”

साहको भनाई थियो “मधेसमा माओवादी पार्टीलाई बलियो बनाउने हो भने यहाँका जनताको मुख्य समस्याको पहिचान गरी ती समस्यालाई एजेण्डाको रुपमा उठान गर्न सक्नु पर्छ, मिटर ब्याजी देखि, किसानको मुद्दा, बाढीपिडित, सुकुम्वासी, बेरोजगारी समस्यालाई पार्टीले आन्दोलनको रुपमा उठाउन नसक्दा जनताबाट अनुमोदन हुन नसक्ने स्थिती देखिएको हो ।”

अब माओवादी पार्टीलाई जनताको विचमा स्थापित गराउने हो भने पार्टीलाई तीनवटा मोर्चा बनाएर लैजानुपर्ने सुझाव साहको छ । उनले पार्टीको कामको लागि खटिने एउटा कोर टिम हुनु पर्छ, अर्को बाह्य मोर्चाको रुपमा जनप्रतिनिधिहरुको मोर्चा र एउटा निर्वाचन लडने संभावित उमेदवारहरुको मोर्चा बनाएर लैजानु पर्छ अनिमात्र पार्टीलाई जनताको विचमा स्थापित गर्न सकिन्छ र पार्टीका उमेदवारले जित्न सक्ने अबस्था निर्माण हुन सक्ने भनाई छ साहको ।

यसपटक जनताले नयाँ व्यक्ति खोजे, पुरानै अनुहार जसले जितेका छन कि त्यस क्षेत्रमा पार्टीको संगठन मजबुद भएकाहरुले मात्र जितेको देखिन्छ । कि उमेदवार जनताको विचमा लोकप्रिय भएको हुनु पर्छ । केही उमेदवारहरु पैसा र जातिय भोटको कारण चुनाव जितेको देखिन्छ । अहिले जनताले कुन पार्टीको एजेण्डा के छ भनेर हेरेनन् । मधेसमा जातिय समूहको बाहुल्यता भएको उमेदवार र पैसावालाले मात्र चुनाव जित्न सक्छ भन्ने सन्देश जान थालेको छ ।

मधेसमा पाँच दलिय गठबन्धन भित्रको समिकरण नमिल्दा समेत गठबन्धन भित्रबाट उमेदवारले भोट पाउन सकेनन् । नेपाली कांग्रेस भित्र अन्तरविरोध चलेको अवस्थामा माओवादी भित्रको गुट उपगुटको लडार्इँले समेत आधिकारीक उमेदवार हराउने अभियानले समेत सार्थकता पायो जसका कारण माओवादीले पराजय भोग्न पुग्यो । बारा, सर्लाही, महोत्तरी र सिराहामा थोर्रै मतान्तरबाट माओवादीका उमेदवारले पराजय भोग्नु परेको छ । ती जिल्लामा गठबन्धनको मत लिन नसक्नु पनि पराजयको एउटा महत्वपूण कारण हो ।

मधेसमा पार्टी नेतृत्वले समयमा हस्तक्षेप गरेर पार्टी निर्माणमा ध्यान दिन नसक्दा यस्तो अवस्था आएको हो । नेकपा माओवादीको देशभर सवै प्रदेशमा नयाँ नेतृत्व चयन भयो तर मधेसमा हुन सकेन । अहिले पार्टीका सचिव गणेश साह मधेस प्रदेशको इन्चार्ज छन् तर प्रदेश कमिटि छैन् । संगठन शून्य बनाएर लैजान खोज्दा प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा माओवादीले शून्य पाएको छ । यो पराजयको भारी कसले बोक्ने ?


सम्बन्धित समाचार