Logo

१८ असार,सेढवा । दुई÷तीन दिनदेखि निरन्तर परेको पानीले पर्साको ग्रामीण भेगका किसानहरुले बर्षेबाली धानको रोपाई शुरु गरेका छन् ।

बेर्नामा बिऊ राखेको करिब एक महिना बितिसक्दा पनि पानी नपरेका कारण किसानहरुले रोपाई गर्न सकेका थिएनन् । बेर्नामा बीऊ राखेको २२ दिन पछि रोपाई गरिन्छ । तर यसपानी पानी ढिलो पर्न शुरु भएकाले ढिलो गरी रोपाई गरेको किसानले बताएका छन् ।

कृषिका लागि बिभिन्न किसिम्ममा उन्नत जातका बीऊ बिजनको बिकाससँगै किसानहरुले रोजाईका अनुसार धानबालीको रोपाई थालेका छन् । किसानहरुले सोना मंसुली, मनी मंसुली, भदई मंसुली, हर्दिनाथ–१ (१४४२), कतर्नी, बासमति, शंकर–१, हाईब्रिड जातका धानबालीको रोपाई गर्दैछन् ।

विगतमा परम्परागत धानबाली अन्तर्गत मंसुली, अठैसा, मकवानपुर, अन्नदी, चाइना बोर, पुरानो बासमती, जोगनी, बार्छा लगायतका धानबालीको भात मिठो भएपनि उत्पादन कम हुने हुँदा यी बालीहरुलाई बिस्तापित गरिएको जिराभवानी गाउँपालिका वडा नं. २ का किसान रामशरण खवासले बताए । ती बालीको उत्पादन दुई÷साढे दुई मन (८० देखि १०० किलोग्राम) प्रति कट्ठाको दरले हुने गरेको उनले जनाए । किसानहरुले अहिले लगाउने गरेको बालीहरुबाट चारदेखि ८ मन (१ क्वीन्टल ६० केजी देखि ३ क्वीन्टल २० केजी) प्रति कट्ठाको दरले उत्पादन गर्ने गरेको उनको भनाइ छ ।

यसैबिच ग्रामीण भेगका यूवाहरु रोजगारीका लागि खाडी मुलुकमा पलायन भएका तथा स्वदेशकै बिभिन्न शहरतिर लागेका कारण अहिले ज्यामी अभाव छ । आली लगाउने, बीऊ उखेल्ने, बीऊ ओसार्ने, रोपाई गर्ने लगायतका लागि ज्यामीको अभाव भएको छ ।

एक बिघा जमिनमा रोपाई गर्न यी कार्यका लागि एकै पटक तीस जनाभन्दा बढि ज्यामी आवश्यक्ता हुने र ज्यामी नपाउने कारणले रोपाई गर्न ३/४ दिनसम्म समय लाग्ने गरेका किसानको गुनासो छ । अहिले धान रोपाईका समयमा सामान्य अवस्थाभन्दा दोब्बर परिश्रम गर्न किसान बाध्य छन् ।

बिहान छ बजेदेखि लगातार साँझ ७ बजे सम्म खेतमा काम गर्नुपरेको उनीहरु बताउँछन् । बीऊ उखेल्ने, रोपाई गर्नका लागि दैनिक बिहान र दिउसो गरी दुई वटा डियुटी गरिरहेका किसानको भनाइ छ । ज्यामी लगाउने र हुन्डी काम गराउने गरी किसानले रोपाई गरिरहेका छन् ।

यता खेतबारीमा काम गर्ने ज्यामीको ज्याला दर भने वृद्धि भएको छ । सामान्य अवस्थामा पुरुष ज्यामीको ज्याला पाँच सय रुपैया र महिलाको दुई सय रुपैया र खाना तथा खाजा प्रतिदिन थियो । तर अहिले रोपाईको समयमा दैनिक ज्यालादारीमा ज्यामी पाउन भने छाडेका छन् ।

उनीहरुले समूह बनाएर हुन्डीमा खेतको काम गर्न थालेको बताउँछन् । आली बनाउन एक बिघाको चार हजार, बीऊ उखेलेको एक बिघाको पनि चार हजार, रोपाई गरेको एक बिघाको ४ देखि छ हजार रुपैया तोकिएको छ । पुरुष ज्यामीहरुले एक दिनमा तीन हजार रुपँैया सम्म कमाउने उनीहरुको भनाइ छ । त्यस्तै महिला ज्यामीहरुले ठोरी गाउँपालिकामा गएर काम गर्दा दैनिक एक हजारसम्म र अन्य गाउँपालिकामा पाँच सय रुपैँया नगद र खाना तथा खाजा पाउने गरेका बताएका छन् ।

 


सम्बन्धित समाचार