Logo

२० असार,वीरगञ्ज । केन्द्रमा बनेको नयाँ सत्ता समीकरणले मधेश प्रदेशको सरकारमा सिधा असर पारेको छ । एमाले–कांग्रेसको गठबन्धनमा नयाँ समीकरण बनेपछि मुख्यमन्त्री सतिस सिंहको सरकार नै यथावत रहन्छ वा अर्को सरकार बन्छ भन्ने विषय पेचिलो बनेको छ ।

मधेशमा सरकारको नेतृत्व मधेश केन्द्रीत दललाई दिने सहमति भएपनि झनै यो सरकारलाई प्रभावित बनाएको छ । जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र लोसपाले आ–आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत सुरु गरेपछि मुख्यमन्त्री सिंह नेतृत्वको सरकार संकटमा परेको हो ।

अबको दुइ दिन पछाडि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारले सदनबाट आफ्नो शक्ति परीक्षण गर्दैछ । गएको २५ जेठमा मुख्यमन्त्री सिंहको नेतृत्वमा सरकार बनेको थियो ।
माओवादी–एमालेसहितका दलहरुको समर्थनमा मुख्यमन्त्री सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले नियुक्त गरेकी थिइन् । ३० दिन सदनबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्री सिंहले २२ असारमा विश्वासको मत लिने प्रदेश सभाको कार्यसूचिमा रहेको छ ।

तर लिन लागिएको विश्वासको मतमा कुन दलले समर्थन जनाउने वा कसले नजाउने ? भन्ने विषयमा अझ अन्योलता रहेको छ । मधेश केन्द्रीत दलहरु जनमत, जसपा, लोसपासंगै कांग्रेसले पनि आफ्नो नेतृत्वमा सरकार बनाउने लबिङ सुरु गरेपछि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारको भविष्य संकटमा परेको बताइन्छ ।
मुख्यमन्त्रीमा तीनवटै दलको हानथाप

मधेश सरकारको मुख्यमन्त्री हत्याउन तीनवटै मधेश केन्द्रीत दलले आफ्नो सक्रियता बढाएका छन् । विश्वासको मतमा आफ्नै दलको नेतृत्वमा बनेको सरकारलाई सहयोग गर्न जनमत पार्टी अध्यक्ष सिके राउत लागि परेका छन भने यही बेला जनमत नेतृत्वको सरकार उल्टाएर आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन जसपा अध्यक्ष उपेन्द्र यादवले कसरत गरिरहेका छन् ।

विश्वासको मतको दिनलाई नै लक्षित गरेर खासगरी यी दुबै पार्टीका अध्यक्षद्वयले राजनीतिक भेटघाटमा आफ्नो सक्रियतालाई तिव्र बनाएका छन् । जनमत पार्टी अध्यक्ष राउतले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत मधेश सरकार आफ्नो पार्टीको नेतृत्वमा यथावत राख्ने पहल गरिरहेका छन भने जसपा अध्यक्ष यादवले कांग्रेस सभापति शेरबहादुर देउवामार्फत आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने प्रयास गरिरहेको बताइन्छ । त्यसैगरी लोसपा अध्यक्ष महन्थ ठाकुरले पनि आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन कसरतमा रहेको स्रोतको दाबी छ ।

नयाँ समीकरणमा मधेश प्रदेश सरकारको नेतृत्व सहयोगी दललाइ दिने सहमति पत्रमा उल्लेख गरिएको छ । मधेश केन्द्रीत दल भन्दा पनि सहयोगी दल दिने सहमतिपत्रमा लेखिएपछि मधेश केन्द्रीत दलहरुले आप–आफ्नो नेतृत्वमा सरकार बनाउने जोडतोडले दौडधुप सुरु गरेको स्रोतको दाबी छ ।

तीन महिना पछाडि मधेश सरकारमा कांग्रेस ‘इन’ हुँदै

मधेश प्रदेशमा तीन महिना पछाडि कांग्रेस सरकारमा जाँदैछ । चैतमा मधेश सरकारबाट बहिर्गमन भएको कांग्रेस नयाँ समीकरण बनेपछि कांग्रेसको लागि अहिले मधेश प्रदेशको सरकारमा ‘इन’ हुने ढोका खुलेको छ ।
नयाँ समीकरण अनुसार सरकारमा कांग्रेस ‘इन’ भइरहेको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी ‘आउट’ हुने लगभग निश्चित भएको छ ।

कांग्रेस–एमाले नेतृत्वमा केन्द्रमा बनेको नयाँ समीकरणमा मधेश केन्द्रीत दलहरुलाइसंगै लिएर जाने सहमति भएपछि माओवादी र एकीकृत समाजवादी पार्टीको हातबाट मधेश सरकार आउट हुन लागेको हो ।


सम्बन्धित समाचार