Logo

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । आज विहान ११ बजे बस्न लागेको प्रतिनिधिसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

‘प्रचण्ड’ १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै छन् । नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँपटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । दुवै ठूला दलले आलोपालो सरकारको नेतृत्व लिनेगरी सरकार गठनको सहमति र निर्णय गरेका छन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।

को–को विश्वासको मत नदिने ?
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । शुक्रबार (आज) प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा कांग्रेस संसदीय दलले सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।

नेकपा एमालेले पनि यसअघि नै विपक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन दिइसकेको छ ।

जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्ने भएको छ । सो पार्टीको बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले संसदमा राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । साथै जसपाले नेकपा एमाले र नेपाली काँग्रेस लगायतका दलको सहमतिमा नयाँ बन्ने राष्ट्रिय सहमतिको सरकारको निर्माणमा सहयोग र सहकार्य गर्ने निर्णय गरेको छ ।

जनमत पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । विहीबार बसेको वैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो । प्रवक्ता डा. शरदसिंह यादवले मधेश प्रदेश सरकार आफूहरुको प्राथमिकतामा रहेको बताउँदै कांग्रेस र एमालेको समर्थनमा मधेशमा सरकार बनेकाले केन्द्रमा नयाँ गठबन्धनलाई नै साथ दिने निर्णय गरेको जानकारी दिए । जनमत पार्टीको प्रतिनिधिसभामा ६ सांसद छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

प्रचण्ड सरकारलाई कति मत ?

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मात्र छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित छ ।

विश्वासको मत नपाएपछि उनी पदमुक्त हुने छन् र नयाँ सरकार गठन प्रक्रिया सुरु हुने छ । कांग्रेस, एमाले लगायत दलले नयाँ सरकार गठनका लागि आजै दाबी पेश गर्ने तयारी गरेका छन् ।

प्रचण्ड सरकारको अन्तिम निर्णय के ?

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा

मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल सरकार र चीन सरकारबीच हस्ताक्षर हुने ‘स्ट्रेन्थेनिङ दी डेभलपमेन्टको अपरेसन इन बिल्डिङ दी ट्रान्स हिमालयन मल्टी डाइमेन्सन कनेक्टिभिटी नेटवर्क’ को समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णयबारे जानकारी दिँदै सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भनिन्, ‘बेपत्ता पारिएको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्य अवधि थप गर्न बाधा अड्काउ पूरक आदेश जारी गर्ने निर्णय गरेको छ ।’

उनका अनुसार आयोगको म्याद २०८२ असार मसान्तसम्म थप्न पूरक आदेश जारी गरी राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको छ ।

यस्तै, अर्थकै प्रस्तावमा स्थानीय तह राजश्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका, २०८१ र सरकारी कोषको नगद व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

मन्त्रिपरिषद्को २०८० माघ १८ गतेको निर्णय अनुसार गठित कार्यदलले पेश गरेको फौजदारी न्याय प्रशासन सुधार अध्ययन प्रतिवेदन, २०८१ सार्वजनिक गर्ने र प्रतिवेदन कार्यान्वयनमा ल्याउन कानून मन्त्रालयमा लेखेर पठाउने निर्णय गरेको जानकारी मन्त्री शर्माले दिइन् ।

सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न आवश्यक राष्ट्रिय परिचय पत्र वितरण तत्काल रोक्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।

आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको सिफारिस बमोजिम हुल्लु जातिलाई लोपोन्मुख जातिमा सूचीकृत गर्ने निर्णय गरेको जानकारी शर्माले दिइन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पछिल्लोपटक ११ पुस २०७९ मा प्रधानमन्त्री बनेका थिए ।


सम्बन्धित समाचार