Logo

२८ असार, काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ ।

काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए । दुई जना बीच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए ।

प्राप्त सो बसका यात्रुहरुको विवरणमा पूरा नाम र ठेगाना भने लेखिएको छैन । नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल र ओकिल खाँको नाम मात्र पूरा लेखेको देखिन्छ ।

यसैगरी नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्र लगायतको नामबाट सिट बुक भएको छ ।

नन्दुको नामबाट ५ जनाको सिट बुक भएको देखिन्छ । यसैगरी शन्तु र नवीनको नामबाट ४ जनाको सिट बुक भएको छ । जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ । जोरपाटीबाट चढेका यात्रुहरुको नाम पनि उल्लेख छैन ।

काठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको एन्जल डिलक्सका दुईवटा बसलाई आज बिहान करिब साढे तीन बजे चितवनको भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले पुरेको थियो ।

काठमाडौंबाट गौर जाँदै गरेको बसका तीन जना यात्रुहरु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । अन्य यात्रुहरुको अवस्था अज्ञात छ । घटनास्थलमा खोजी र उद्धार कार्य जारी छ ।

यो पनि पढ्नुहोस् :

अपटेड : त्रिशुली नदीमा खसेको एन्जल बसमा सवार यात्रुहरुको पहिचान खुल्यो

नारायणगढ मुग्लिन सडक : पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगे, १७ किलोमा चालकको मृत्यु


सम्बन्धित समाचार