Logo

१० साउन,वीरगञ्ज । मधेश प्रदेशमा जंगली जनावरको आक्रमणको आतंक बढ्दो छ । अझ खासगरी प्रदेशका ५ जिल्लामा जनावरको आक्रमण उच्च छ ।

प्रहरीको एक तथ्यांकले ५ वटा जिल्ला मुख्यत् जनावरका कारण असुरक्षित बनेको देखाइरहेको छ । उक्त तथ्यांक अनुसार यो गएको एक वर्षमा मात्र जंगली जनावरको आक्रमणमा परी ८ जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष ०८०/०८१ को प्रहरीको तथ्यांक बमोजिम जंगली जनावरको आक्रमणमा ती ५ जिल्लाका दुई जना बालबालिकासहित ८ जनाको मृत्यु भएको देखिन्छ ।

प्रदेशको पर्सा, बारा, रौतहट, महोत्तरी र सप्तरी जिल्लाबाट ८ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरीले जनाएको छ । यी जिल्लाहरुबाट २ बालबालिकासहित ५ जना पुरुष र १ जना महिलाको जनावरको आक्रमणबाट ज्यान गएको प्रहरी बताउँछ ।

कुन जिल्लाबाट कति ?
प्रहरी रेकर्ड अनुसार जनावरको आक्रमणमा परी सबैभन्दा बढी ज्यान गुमाउनेमा रौतहट जिल्ला अग्रस्थानमा छ, जसकारण रौतहटमा जनावरका आक्रमणले असुरक्षित जिल्ला बनेको छ ।
यो जिल्लामा मात्रै गत वर्ष जनावरको आक्रमणमा परी १ जना बालबालिकासहित ३ जनाले ज्यान गुमाएका छन् । त्यसपछिको दोस्रो सूचीमा परेको छ, पर्सा जिल्ला । यहाँ पनि एकजना बालबालिकासहित २ जनाको मृत्यु भएको छ ।

त्यसपछि क्रमश : बारामा एक, महोत्तरीमा एक र सप्तरीमा एक जनाले गत वर्ष जनावरको आतंकबाट ज्यान गुमाएका प्रदेश प्रहरीको विवरण छ ।
घाइते पनि बढी

मधेशमा जंगली जनावरले जानलेवा हमला मात्र गरेको छैन , धेरैलाई सख्त घाइते पनि बनाएको विवरण छ । यही एक वर्षमा जनावरको आक्रमणका कारण ३३ जना घाइतेसमेत भएका छन् ।
जंगली जनावरको आक्रमणबाट ३ जना बालबालिकासहित ३३ जना घाइते बनेको प्रहरी तथ्यांक छ ।

जनावरको आक्रमणबाट घाइते पनि बढी रौतहट जिल्लाबाट नै भएका छन् । यहाँ गत वर्ष जनावर आतंकका कारण दुई जना बालबालिकासहित १४ जना घाइते भएको विवरण छ । त्यसपछि सप्तरीमा १०, पर्सामा ३, बारा, महोत्तरी र धनुषामा क्रमश : २/२ जना घाइते भएका छन् ।

क्षती पनि बढी
जनावर आतंकले मानवीय क्षतिसंगै भौतिक तथा आर्थिक नोक्सानीसमेत बढाएको छ । मधेश प्रहरी कार्यालय जनकपुरको तथ्याङ्क अनुसार गत आवमा ०८०/०८१ को अवधिमा लाखौँ रकम बराबरको आर्थिक तथा भौतिक क्षति भएको छ ।
प्रदेशभर गत वर्ष जंगली जनावरका कारण ३ लाख मूल्य बराबरका क्षती भएको छ । विशेषगरी सिरहा, सर्लाही, रौतहट र पर्सा जिल्लामा क्षति पुग्न गएको छ । वन्यजन्तुका कारण कृषि क्षेत्रमा परेको असरले खाद्य सुरक्षाको विषयमा चुनौती थपिएको छ ।

प्रहरी अभिलेख अनुसार यी जिल्लाहरुमध्ये सबैभन्दा बढी सिरहामा १ लाख २० हजार रुपैयाँ बराबरको क्षती भएको छ । त्यसपछि पर्सामा ७० हजार, सर्लाहीमा ६० हजार र रौतहटमा ५० हजार मूल्य बराबरको क्षती भएको प्रहरी तथ्यांक छ ।

यसैगरी जनावरको आतंकबाट ४ वटा कच्ची घरमा समेत क्षती पुगेको प्रहरीको रेकर्ड छ । सिरहामा ३ र रौतहटमा १ गरी ४ वटा कच्ची घरमा जनावरले आक्रमण गर्दा क्षती पुगेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।

किन आक्रमण ?

नेपालको संरक्षित क्षेत्र र राष्ट्रिय निकुञ्ज मानव बस्तीकै माझ छन् । आफ्नो जीवन निर्वाहका लागि सोही क्षेत्रमा मानिसहरुले आफ्नो क्रियाकलाप बढाउने गर्दछन् । निकुञ्जका संरक्षण अधिकृत सन्तोष भगतका अनुसार नेपालमा वन संरक्षणसँगै वन्यजन्तुको संख्या बढ्दो क्रममा छ ।

वनसँगै जोडिएका बस्ती र मानवीय क्रियाकलापसँगै विकास निर्माणका कामले संरक्षित क्षेत्र (निकुञ्ज, आरक्ष) मा प्रत्यक्ष असर पार्ने गरेको छ । यस्तै अव्यवस्थित बसोबासका कारण पनि मानव र जनावरबिचको द्धन्द्ध बढ्दो रहेको उनले बताए ।

मानव र वन्यजन्तुबिच सुमधुर सहअस्तित्व बन्न नसकेको जनाइन्छ । जसले गर्दा मानिस र वन्यजन्तुबिच द्वन्द्व पनि बढ्दो क्रममा छ ।
उनी भन्छन्, ‘नेपालको संरक्षित क्षेत्र र राष्ट्रिय निकुञ्ज मानव बस्तीकै माझ छन् । आफ्नो जीवन निर्वाहका लागि सोही क्षेत्रमा मानिसहरुले आफ्नो क्रियाकलाप बढाउने गर्दछन् । सोही क्रममा जब मानव र वन्यजन्तुबिच भेट हुन्छ, तब द्वन्द्व सुरु हुन्छ ।’

यस्तै घाँस दाउराका लागि मानिसहरु जंगल प्रवेश गर्दा जनावर बिचलन हुने, चेतनाको अभाव, शिकार तथा जनावरको महत्वबारे मानव जानकार नहुदाँ पनि द्धन्द्धको अवस्था बढेको प्रमुख संरक्षण अधिकृत भगतले जानकारी दिए ।


सम्बन्धित समाचार