Logo

२२ साउन,काठमाडौँ । चितवनको सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले मंगलबार सरकारलाई प्रतिवेदन बुझाएको छ ।

सिंहदरबारमा गत असार २८ गते परेको अविरल वर्षाका कारण पहिरो जाँदा चितवनको सिमलतालमा दुई बस सहित यात्रु त्रिशुलीमा बेपत्ता भएपछि दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलका संयोजक सहसचिव छवि रिजालले गृहमन्त्री रमेश लेखकलाई अध्ययन प्रतिवेदन बुझाएका हुन् ।

सिमलतालमाथिको पहाडी क्षेत्रमा हालसालै निर्माण भएको (सिमलताल–बाङ्गेसाल–डुम्रे गाउँ) सडक बनाउँदा भएको कमजोरीको कारण दुई वटा डिलक्स बस त्रिशूलीमा खसेको प्रतिवेदनमा उल्लेख छ । कार्यदलले तयार पारेको प्रतिवेदन अनुसार कमजोर भूगोल तथा अत्यधिक क्रस स्लोप भएको र इन्जिनियरिङ डिजाइन बिनाको सडक बनाउँदा बर्सातमा त्यसको असर देखिएको हो। प्रतिवेदनमा भनिएको छ,‘सडक बनाउँदा कट एण्ड फिल एप्रोचमा काम नगरेर कटिङबाट मात्र सडक बनाउँदा अत्यधिक निस्केको माटो छेउमा फ्याँकिएको र टेवा पर्खाल नहुँदा डेब्रिज सिन्दुरे खोल्सा हुँदै बगेको देखिन्छ ।’

बगेको डेब्रिजको प्रेसर चेक ड्याम र ग्याविन वालले धान्न नसकेपछि बाढीसँगै आएको लेदो, गेग्रान र डेब्रिजले सडक क्रस गर्दै गरेका दुईवाट बस धकेलेर त्रिशूलीमा खसालेको कार्यदलको निष्कर्ष छ । कार्यदलले सडक डिभिजन भरतपुरले डेब्रिज सफा गर्दा माथिल्लो साइडमा थुप्रिएको डेब्रिज बगेर सडकतिरै आउन सक्छ भन्नेमा ध्यान नदिएको उल्लेख गरेको छ । प्रतिवेदनमा भनिएको छ,‘कल्भर्ट र क्याचपिट नियमित सफा गरेको देखिँदैन ।’

जोखिमपूर्ण सडक भएपनि ठुलो वर्षा भइरहेको बेला ‘सेफ्टी फस्ट’ भन्ने मूल कुरामा ध्यान नदिँदा दुर्घटना भएको अध्ययन निष्कर्ष छ । सडक बनाउँदा वातावरणीय पक्षको ध्यान नदिएको र सडक सुरक्षासम्बन्धी एकीकृत सूचना प्रणालीको विकाश नहुँदा दुर्घटना भएको कार्यदलको निष्कर्ष छ । प्रतिवेदनमा भनिएको छ,‘एकीकृत सूचना प्रणाली नहुँदा सवारी चालकले सडकको अवस्था पूर्वानुमान नगरेको र सुरक्षाकर्मीले पनि बस रोक्न आवश्यक ठानेनन् ।’

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौँबाट गौर जाँदै गरेको र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए । दुई वटा बस अझै फेला परेका छैनन् भने २४ यात्रुको शव फेला परेको छ। तीमध्ये १९ जनाको मात्रै सनाखत भएको छ। दुर्घटनामा अझै कम्तिमा ३८ यात्रु बेपत्ता छन् ।

पुर्णपाठ :-


सम्बन्धित समाचार