१ भदौ, वीरगञ्ज । अहिले समाचार संकलन तथा प्रसारणमा सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । सूचना प्रवाह गर्नेदेखि लिएर समाचार सामाग्री प्रकाशन तथा प्रसारणका लागि सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरु प्रयोग हुँदैछन् । इन्टरनेट प्लेटफर्म मार्फत हरेक व्यक्तिले आफ्नो विचार अभिव्यक्त गर्ने अवसर पाएका छन् ।
नेपालमा युट्युब र फेसबुक बढी प्रयोग हुँदैछ । यो प्लेटफर्मलाई प्रयोग गरेर अहिले विभिन्न सूचना प्रवाह, समाचार प्रकाशन तथा प्रसारण भईरहेको छ ।
यसअघि केही महिना अघि चाईनिज ईन्टरनेट टेक्नोलोजी, बाईटडान्सले बनाएको टिकटक बढी प्रयोग हुँदै थिए । टिकटक चलाउन एकदम सजिलो भएका कारण प्रयोगकर्ता पनि धेरै थिए ।
त्यसबाट लगातार रूपमा सामाजिक सद्भाव बिथोलिने गरेर हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलबल हुनेगरी लगातार प्रचारप्रसार भईरहेका कुरालाई दृष्टिगत गर्दै नेपाल सरकारले यसमा प्रतिबन्ध लगायो । नेपालमा चाईनिज एप टिकटक २०८० कात्र्तिक २७ गतेबाट बन्द भयो ।
त्यसयता फेसबुकमा मेटाले विभिन्न नयाँ फिचरहरुको विकास ग¥यो । अहिले फेसबुक सबैको लोकिप्रिय बनेको छ । देशका अधिकांस टिकटक चलाउनेहरु समाजिक सञ्जालका युट्युब र फेसबुकमा लागेका छन् । कोही टिकटकबाट नृत्य गरेर चर्चा पाएका व्यक्ति अहिले पत्रकारको माईक लिएर सूचना तथा समाचार संकलनमा लागेको पाईन्छ ।
टिकटकमा लाईभ बसेर पैसा आईरहेको थियो । टिकटक बन्द भएपछि अन्य प्लेटफर्महरुको प्रयोगमा जुटेपनि यो त्यति सहज नभएको र पैसा पनि नआउने भएपछि उनीहरु निराश भए । पछि बोल्न आएकै छ, पत्रकार बनौ भनेर लागे । आफुखुसी मिडियाको नामले फेसबुक पेज, युट्युब च्यानल बनाए र लोगो सहितको माईक बोकेर अन्यायका विरुद्ध सच्चाई बोल्छु भन्दै हिडे ।
उनीहरु भिउज र फलोअर्सका चक्करमा सम्पादन विना नै थरिथरिका भिडियो, फुटेजहरु मनलाग्दी सेयर गरी लोकप्रियता कमाई रहेका छन् । कतिपय स्वार्थका निम्ति बोल्न थालेका छन् । पत्रकार हुँ भन्दै विभिन्न सरकारी निकायमा पुग्ने गरेका छन् ।
कतिपय ठाउँमा हातपात भए, त कतिपय ठाउँमा उनीहरु पिटिएका पनि छन् । हिजोआज फेरि युट्युबरका हर्कतमा पत्रकारलाई गाली बर्साइँदै छ ।
नेपालमा समाजिक सञ्जाल प्रयोकर्ताको तथ्यांक
नेपालमा कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छन् । ईन्टरनेट प्रयोगकर्ताको संख्या भने १ करोड ५४ लाख छन् । जुन कुल जनसंख्याको आधा हिस्सा आउन जान्छ ।
तथ्यांक अनुसार २०२४ मे महिनामा १ करोड ६४ लाख प्रयोगकर्ता समाजिक सञ्जालसँग जुटेका छन् । तथ्यांक अनुसार नेपालमा समाजिक सञ्जाल अन्तर्गत फेसबुक बढी प्रयोग भईरहेको देखिन्छ । ९२.८ प्रतिशतले फेसबुक प्रयोग गरिरहेको तथ्यांक छ । ५५.९ प्रतिशत् पुरुष फेसबुक प्रयोग गरिरहेका छन् भने ४४.१ प्रतिशत् महिला प्रयोगकर्ता छन् ।
युट्युब भने मात्र २.६५ प्रतिशतले प्रयोग गरिरहेका छन् । यस्तै अन्य समाजिक सञ्जाल एक्स (ट्वीटर), ईस्टाग्राम आदी छन् । यस्ता समाजिक सञ्जाल प्रयोग गर्नेमा बालबालिका, किशोरकिशोरी, युवायुवती तथा व्यस्क व्यक्ति छन् ।
युट्युब वा फेसबुकमा आफ्नो व्यक्तिगत एकाउन्ट बनाइसकेपछि पोष्ट लेख्न सक्ने चाहे भिडियोहरू अपलोड गर्न सकिन्छ । आफ्नो च्यानल पनि निःशुल्क बनाउन सकिन्छ । त्यसैगरी भिडियो लाइक, सेयर, कमेन्ट र च्यानल फ्लो गर्न कुनै खर्च गर्नुपर्दैन ।
यसमा सूचना फैलाउन अरु उपकरण जस्तो खर्च लाग्ने भएन । यसकारण यी समाजिक सञ्जाल सूचना प्रकाशन तथा प्रसारण गर्न मिडिया कै रुपमा प्रयोग हुन थालेका छन् । कहि कतैको समाग्री पनि २ मिनेट मै अपलोड हुनासाथ विश्वभर नै फैलाउन सकिन्छ । तसर्थ अहिले सूचना प्रवाहको राम्रो माध्यम फेसबुक तथा युट्युब बनेका छन् । नेपालीहरुमा नयाँ प्रविधि र समाजिक सञ्जालले धेरै अवसर प्रदान गरेको छ भने चुनौती पनि उतिकै छ ।
चुनौती
युट्युब र फेसबुकमा धेरै प्रकारका कन्टेन्टहरु छन् । जसमा केही उपयोगी देखिन्छन् भने कतिपय झरपात जस्ता कन्टेन्ट देखिन्छन् ।
हातमा भएको स्मार्टफोनबाटै कन्टेन्ट बनाएर जहाँबाट पनि जुनसुकै बेला युट्युब तथा फेसबुकमा लाइभ स्ट्रिमिङ वा अपलोड गर्न सकिने भएकोले पनि यसको विश्वसनीयतामा प्रश्न उठेको छ ।
परम्परागत मिडियाको जस्तो कन्टेन्ट उत्पादनका विभिन्न चरणहरू पार गरेर गुणस्तरीयता कायम गर्ने कार्य समाजिक सञ्जालका अधिकांश कन्टेन्टमा नभएको पाईन्छ ।
यहाँ अनुसन्धान, लेखन, तथ्य जाँच, भाषिक र प्राविधिक सम्पादनजस्ता मापदण्ड अनुसारका प्रक्रिया प्रायः पूरा नगरिने हुनाले प्रयोगकर्ताले सूचना प्राप्त गरे पनि पत्याउन भने अन्य माध्यम नै हेर्नुपर्ने अवस्था अहिलेपनि विद्यमान छ ।
त्यसैले अनुसन्धानकर्ताहरुका अनुसार हालसम्म पनि सबैभन्दा विश्वसनीय सञ्चार माध्यम भनेको रेडियो, टेलिभिजन, पत्रपत्रिका नै मानिन्छ । तर, हातमा स्मार्टफोन भएपछि संसार हत्केलामा देखिने भएपछि पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने र टेलिभिजन हेर्ने प्रवृति मान्छेहरुमा हराउँदै गईरहेको देखिन्छ । तसर्थ परम्परागत संचारमाध्यमहरुले पनि डिजिटलाईज हुन थालेका छन् । अनलाईन पोर्टल मार्फत आफ्ना टेक्स्ट, भिडियो र अडियो समाग्री यहि समाजिक सञ्जाल मार्फत वितरण (प्रवाह) गर्दैछन् ।
संचारमाध्यममा ऐन कानुन अनुसार कन्टेन्ट सम्पादन गर्न जरुरी हुन्छ । तर समाजिक संजालमा स्वेच्छाले बनाईएका कन्टेन्ट पनि हुन्छन् । कसैलाई बदनाम गर्ने वा एकै पक्षका भनाई रहने गर्छ जुन मिथ्या सूचना हुन् सक्छन् । जुन केवल भ्युज र चर्चाका लागि मात्र राखिएका हुन् सक्छन् । कुनै मुद्दा आफ्नो पक्षमा पार्नका निम्ति हुनसक्छन् । भ्युजका आधारमा युट्युबरबाट पैसा आउने भएकाले उनीहरूले मनलाग्दी गर्ने गरेको पाइन्छ ।
जुनसुकै विषयका दुई पक्ष हुन्छन् । सही र गलत वा सकारात्मक र नकारात्मक । कम लगानीमा, बिनापरिश्रम मानिसले सहजरूपमा उपभोग गर्दै आएका विभिन्न इन्टरनेटका प्लेटफर्महरूमा सबैखाले विचार, घटना, अभिव्यक्त भइराखेका हुन्छन् ।
यस्ता प्लेटफर्महरू भावना, विचार, मानिसका रिस, आवेग, हाँसो, खुसी आदि स्वतन्त्ररूपमा व्यक्त गर्ने माध्यम बनेका छन् । कसैसँग अनुमति लिन वा अन्य कुनै झन्झटिलो प्रक्रिया पूरा गरिराख्नु नपर्ने अर्थात् सहज पहुँच भएको विषयमा स्वाभाविक रूपमा जतिसक्दो धेरै व्यक्ति आबद्ध हुन्छन् । युट्युब फेसबुक ट्वीटरजस्ता यी प्लेटफर्म पनि त्यस्तै सहज पहुँचका माध्यम हुन् ।
पत्रकारिताको परिभाषा ?
समाचारको रिपोर्टिङ् (सूचनाको संकलन एवं समाचार लेखन) र सम्पादन गरी समाचार सामग्रीको उत्पादन गर्ने कार्य नै ‘पत्रकारिता’ हो । पत्रकारिता भन्नाले सत्य तथ्य घट्नाहरूमा आधारित रहि विभिन्न सञ्चार माध्यमबाट आम नागरिकलाई सूचना दिनुलाई नै पत्रकारिता भनिन्छ ।
आजको युग विज्ञान र प्रविधिको युग हो । एका ठाउँमा घटेका घटनाको जानकारी विभिन्न डिजिटल माध्यम वा समाजिक सञ्जालको माध्यमबाट पनि विश्वको कुनाकप्चासम्म पुगिन्छ । पत्रकारिता राज्यको चौथो महत्पूर्ण अङ्ग हो । पत्रकारको एउटा गलत सूचनाले गर्दा सामाजिक सद्भाव विग्रिन सक्छ, कसैको जीवन समाप्त हुन सक्छ । त्यसकारण पत्रकारिता एउटा संवेदनशील अंग हो भनेर पनि बुझ्न सकिन्छ ।
आमसञ्चारको परिभाषा दिँदा कुनै माध्यमको प्रयोग गरेर ठूलो समूहमा हुने सञ्चारलाई आमसञ्चार भन्ने गरिन्छ । यो अर्थमा हेर्ने हो भने युट्युबमार्फत हुने सञ्चारलाई आमसञ्चार भन्न सकिन्छ । माध्यमको प्रयोग गरेर एकै पटक असीमित जनसङ्ख्या र असीमित भूगोलमा सञ्चार गर्ने प्रक्रियालाई आमसञ्चार भने पनि त्यो माध्यम पत्रकारिता हुनका लागि भने केही विशेष गुणको आवश्यकता पर्दछ । इन्टरनेट प्लेटफर्मको विकास नहुँदासम्म माध्यमको प्रयोग भएर हुने आमसञ्चारलाई नै पत्रकारिता हो कि भनेझैँ गरेर बुझ्ने र बुझाउने गरियो । अब आमसञ्चार र पत्रकारितालाई एकै रूपमा बुझ्दा अलमल हुँदो रहेछ भन्ने महसुस हुन थालेको छ ।
नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासङ्घको विधानको परिभाषा अनुसार, पत्रकार भन्नाले – छापा, प्रसारण तथा अनलाइन जस्ता कुनै पनि प्रकृतिका आमसञ्चारका माध्यमसँग आबद्ध यस विधान बमोजिम तोकिएको योग्यता पुगेको समाचार सङ्कलन, उत्पादन, सम्पादन, सम्प्रेषण, समाचार लेखन/पुनर्लेखन गर्ने कार्यका साथै नियमित स्तम्भ लेखक, कार्टुनिस्ट, फोटो पत्रकार, प्रेस क्यामरा पर्सन, समाचार तथा समाचार मूलक कार्यक्रम निर्माता तथा सञ्चालक, समीक्षक, साजसज्जा, स्केच, भाषा तथा श्रव्य दृश्य सम्पादक एवं स्वतन्त्र पत्रकार समेतलाई जनाउँछ भन्ने उल्लेख छ ।
त्यस्तै पत्रकार महासङ्घ समेतको सहमतिमा प्रेस काउन्सिल नेपालले जारी गरेको आचारसंहितामा पत्रकारको परिभाषा यसरी गरिएको छ– ‘पत्रकार’ भन्नाले सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय तथा प्रशासकीय अधिकार प्राप्त गरेको व्यक्तिबाहेक सञ्चार सम्बन्धी व्यवसाय वा सेवालाई प्रमुख व्यवसाय अपनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण वा आंशिक समय काम गर्ने व्यक्ति सम्झनुपर्छ । सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री सङ्कलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधान सम्पादक, सम्पादक, संवाददाता, स्ट्रिन्जर, समाचार वाचक, कार्यक्रम निर्देशक, अनुवादक, साजसज्जा, प्राविधिक, स्तम्भ लेखक, फोटो पत्रकार, प्रेस क्यामेरापर्सन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता वा सञ्चालक, दृश्य वा भाषा सम्पादक जस्ता समाचार तथा समाचारमूलक कार्यक्रमसँग सम्बन्धित व्यक्तिसमेतलाई सम्झनुपर्छ । त्यस्तै छापाखाना तथा प्रकाशन ऐन, २०४८ मा ‘पत्रकार भन्नाले पत्रपत्रिकामा प्रकाशित हुने सामग्री सङ्कलन वा सम्पादन गर्ने व्यक्ति सम्झनुपर्दछ’ भनिएको छ ।
पत्रकारका सम्बन्धमा गरिएका यी परिभाषाहरूको विश्लेषण गर्दा सूचना प्रणालीको प्रयोग गर्दै आमसञ्चारका माध्यमबाट आफ्नो उत्पादनलाई बाहिर प्रवाह गर्ने प्रक्रियामा संलग्न व्यक्तिहरूलाई पत्रकार भनेर चित्रित गर्न सकिन्छ ।
सूचनाको प्रशोधन अर्थात् सम्पादन
सङ्कलित सबै सूचना पत्रकारिताका विषयवस्तु बन्न सक्दैनन् । त्यसलाई सम्पादन गर्न जरुरी हुन्छ । त्यही सम्पादनको काम नै खासमा प्रशोधन हो ।
कुनै पनि सङ्कलित सूचनालाई समाचार सामग्रीका रूपमा तयार गर्दा त्यहाँ निश्चित विधि अपनाउनुपर्दछ । त्यो समाचारको सत्यताको जाँच गर्दै त्यसको सन्तुलन, विश्वसनीयता, मानवीय अभिरुचीपूर्ण, समय सान्दर्भिक बनाउने र प्रवाह गर्न लायक बनाउने काम सम्पादनका क्रममा गर्ने गरिन्छ ।
त्यसैगरी त्यो समाचार सामग्री पस्कँदै गर्दा सामाजिक उत्तरदायित्व बहन भयो कि भएन भनेर पनि ध्यान पु–याउनुपर्ने हुन्छ । पत्रकार र त्यो समाचार प्रवाह गर्ने आमसञ्चार संस्थाले यति कुरा पूरा गरेपछि मात्र त्यो समग्रतामा पत्रकारिता कर्म भयो । यसो गरिएन भने त्यो मर्यादित पत्रकारिता हुँदैन ।
अब युट्युबरहरू पत्रकार हुन् कि होइनन् भन्ने प्रश्नको जवाफ खोज्न विश्लेषण गर्नु पर्छ । पत्रकारको कर्म, उनीहरूको सम्पादनका क्रममा खेल्ने भूमिका, कुनै पनि सूचनालाई सामाजिक उत्तरदायित्वको सिद्धान्तमा आधारित भएर प्रवाहयोग्य बनाउने दायित्व बहन गरेको छ भने त्यो पत्रकार हो ।
अहिले युट्युब प्रयोगकर्ताहरूले व्यक्तिका निजी कुरा छताछुल्ल पार्ने, अतिरञ्जनायुक्त सामग्री पस्कने, सामाजिक उत्तरदायित्वलाई पूर्ण रूपमा बेवास्ता गर्ने गरेका कारण उनीहरूको आलोचना हुन लागेको हो ।
सूचना प्रणालीको ख्याल गर्दै सम्पादन कार्यलाई सचेततापूर्वक सम्पन्न गर्ने हो भने त्यहाँबाट प्रवाह हुने सामग्रीका सन्दर्भमा पनि प्रश्न उठ्ने छैन । बिना सम्पादन जस्तो पनि सामग्री प्रवाह गर्दा त्यहाँ पत्रकारिताको भाव मर्छ । पत्रकारिताको भाव मारेर सामग्री पस्कनेहरूलाई पत्रकार मान्न सकिँदैन ।
युट्युब प्रयोगकर्तामध्ये कतिपयले पत्रकारिताको आधारभूत सिद्धान्त र दायित्व पनि ख्याल गरेको पाइँदैन । पत्रकारिता गर्नका लागि यसको आधारभूत ज्ञान हुन जरुरी छ ।
अहिलेको लोकतान्त्रिक समाजमा सामाजिक उत्तरदायित्वका आधारमा पत्रकारिता गर्नुपर्ने मान्यता राखिन्छ । युट्युबका सामग्रीमा यो उत्तरदायित्वमा ध्यान नपु–याएको पाइएकाले नै उनीहरूलाई पत्रकार नमान्न समाज बाध्य भएको हो ।
तसर्थ युट्युबरहरू पत्रकार बन्ने कि प्रयोगकर्ता बन्ने भन्ने कुराको पहिलो निर्णय प्रयोगकर्ता स्वयंले गर्नुपर्दछ र त्यो निर्णयको स्वघोषणा गर्नुपर्दछ । पत्रकार बन्ने हो भने पत्रकार आचारसंहिता र सम्पादनका कर्मलाई जोड्न आवश्यक पर्दछ ।
खाने कुरा बनाएर देखाउने, नाचगान देखाउने, मनोरञ्जन गराउने खालको च्यानल हो भने त्यस्ता सामग्रीमा पत्रकारिताका सर्त पालना गर्नु नपर्ला । तर, सार्वजनिक चासो र महत्वका विषयमाथि तयार गरिने समाचारमूलक सामग्रीले त पत्रकारिताको मापदण्ड खोज्छन्, र खोज्नैपर्छ ।
विज्ञ र अग्रजका कुरा
नेपाल पत्रकार महासंघकी केन्द्रिय सचिव सृजना अर्यालले भनिन् “कार्ड झुण्याईदैमा पत्रकार भन्ने होईन । पत्रकारका लागी आचारसंहिता छ । सूचना दिने व्यक्तिले पनि प्रश्न गर्ने अधिकार छ । प्रतिप्रश्न गर्दा पत्रकार होईनन् भन्ने आशंका भएमा नेपाल पत्रकार महासंघमा उजुरी दिन सकिन्छ ।”
अहिले टेलिभिजन, रेडियो, र पत्रिकाले पनि आफ्नो आधिकारिक युट्युव, फेसबुक खाता बनाई यसबाट सूचना, समाचार प्रकाशन तथा प्रशारण गर्ने माध्यम बनाएका छन् । त्यहाँका कन्टेन्ट आचारसंहिताको पलना गरि पक्षविपक्षका कुरा समेटिएका हुन्छन् । तर अधिकांस युट्युवमा पाईने कन्टेन्टमा गोपनियता देखिएको हुँदैन, कुनैमा पक्षका कुरा मात्र हुन्छन् भने कुनैमा मात्र विपक्षका कुरा हुन्छन् । एकपक्षिय रुपमा रहेका सामाग्री पत्रकारले राखेको हुँदै होईन भन्ने बुझ्नुपर्छ ।
अर्यालले भनिन् पाठक पनि सचेत हुन जरुरी छ । कुनै च्यानलबाट दुवै पक्षको कुरा नसमेटिएको कन्टेन्ट बारम्बार आईरहेको छ भने त्यो विश्वशनिय नहुनसक्छ भनेर बुझ्न जरुरी छ । त्यो मिध्या सूचना हो भनेर बुझ्नु पर्दछ । समाजिक सञ्जालमा आएका कन्टेन्ट कस्ता मिडियाबाट आएका छन्, त्यो मिडिया कतिको विश्वसनीय छ भन्ने आफैले विचार गर्नु अहिलेको आवश्यकता छ ।
सूचना माग गर्ने हक सबैलाई छ । पत्रकारले सूचना संकलन गर्न जाँदा के प्रयोजनका लागी सूचना माग गर्दै हुनुहुन्छ त्यो खुलाईदिन जरुरी छ । तर भ्रष्टचार, बेथिति र विवादका सूचना संकलन गर्न जाँदा सतर्कता अपनाउन जरुरी छ । भ्रष्टचारका सूचना संकलन गर्न जाँदा त्यहाँ समस्या हुने स्वाभाविक रहेको भन्दै अर्यालले भनिन्, ‘सतर्कताको पाटो अपनाएर विज्ञको सल्लाह लिएर जाँदा ठिक हुन्छ ।’
यदी कोही पत्रकार नक्कलीको आशंका लाग्छ भने नेपाल पत्रकार महासंघको वेबसाईटमा उजुरी गर्न सक्ने ठाउँ समेत दिएको नेपाल पत्रकार महासंघकी केन्द्रीय सचिव अर्यालले बताईन् ।
यता सार्वजनिक स्थल वा सरकारी कार्यालयका सूचना संकलन गर्न जाँदा हाता भित्र त्यहाँका कर्मचारीलाई बाधा नपुग्ने गरी गर्न सकिन्छ तर बिना अनुमति सीधा कक्षाकोठा मै प्रवेश गरेर सूचना संकलन गर्नु सही ढङ्ग नभएको तर्क वरिस्ठ पत्रकार चन्द्रकिशोरको छ ।
उनले भने “पत्रकार महासंघले बेलाबखत नयाँ पुस्ताहरुलाई आचारसंहिताको बारेमा जानकारी गराई रहन जरुरी छ । पत्रकारिता संवेदनशिल अंग भएको हुँदा सम्पादन बिनाको सूचना प्रकाशन र प्रसारण गर्नुहुन्न र अहिलेको नयाँ पुस्तामा पत्रकार हुँदैमा “राजा हुँ” भन्ने ठान्ने मानसिकता देखिएको हुँदा त्यसको बारेमा बुझाउन जरुरी छ ।”
आचारसंहिताले के भन्छ ?
पत्रकार तथा सञ्चारमाध्यमले स्वच्छ, मर्यादित र विश्वसनीय पत्रकारिता गर्नुपर्ने आचारसंहिताले भन्छ । सूचना वा जानकारीको सङ्कलन र सम्प्रेषण सभ्य र शिष्ट रूपमा गर्नु, पेशागत अभ्यासमा सामाजिक शिष्टता र पाठक, श्रोता वा दर्शकको मर्यादाको सम्मान गरी शिष्ट एवं मर्यादित भाषा र कार्यशैलीको प्रयोग गर्नुपर्ने हुन्छ ।
विद्युतीय कारोबार ऐेन २०६३ को दफा ४७ मा उल्लेख भएका कुरा
समाचार सङ्कलन, सम्पादन वा उत्पादन, प्रस्तुति तथा सम्प्रेषण सम्बन्धी अन्तिम जिम्मेवारी र अधिकार सम्पादकमा निहित हुन्छ । पत्रकार तथा सञ्चारमाध्यमले सत्य–तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नुपर्दछ ।
सम्प्रेषण गर्दा सम्बन्धित पक्षको भनाइलाई उचित स्थान दिनुपर्ने र सामाजिक सञ्जालमाफर्त प्रवाह गर्ने समाचार, विचार र सूचना वा जानकारीहरू सत्य तथ्यपूर्ण, सन्तुलित र मर्यादित हुनुपर्ने पत्रकार आचारसंहितामा उल्लेख छ । सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताहरूले प्रकाशन गरको जानकारी वा विचार/कमेन्टहरूलाई शेयर वा रिट्विट गरी पुन प्रकाशन गर्दा पत्रकार तथा सञ्चारमाध्यमले आफूले प्रकाशन गरे सरह तथ्यजाँच गरी निष्पक्षतालाई समेत ख्याल गरी सम्प्रेषण गर्नुपर्ने हुन्छ ।
पत्रकारले अन्तर्वार्ता दिने व्यक्तिलाई निजका भनाइहरू कुन सन्दर्भ, माध्यम र प्रयोजनका निम्ति प्रयोग गरिनेछ भन्ने विषयको पूर्व जानकारी दिएर शिष्ट एवं सम्मानजनक रुपमा अन्तर्वार्ता लिनुपर्ने आचारसंहिताले भनेको छ । समाचार तथा विज्ञापन सम्प्रेषण गर्दा सावर्जनिक सरोकार र संवेदनशीलतालाई सदैव ख्याल गर्नुपर्दछ । गल्तीभएको समाग्रीलाई पुन् सप्रमाण सच्याउनुपर्ने जरुरी देखिन्छ ।
तर पत्रकार/सञ्चारमाध्यमले सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पग्ुने, भेदभाव हुने गरी र निजी स्वार्थपूर्तिका लागि सूचनाको सम्प्रेषण, हिंसा, आतंक, अश्लीलता र अपराधलाई प्रश्रय हुने, पीडित वा पभ्रावित व्यक्तिलाई थप पीडा हुने गरी सूचनाको सम्प्रेषण गर्नुहुँदैन ।
यस्तै घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गरिदिने, बीभत्स दृश्य र तस्बिर प्रकाशन वा पस्रारण गरिदिने, फोटो तथा दृश्यको गलत प्रयोग, पोस्ट डिलिट गरिदिने, पेशागत मर्यादा विपरीत उपहार तथा पुरस्कार ग्रहण लगायतका कार्यमा आचारसंहिताले रोक लगाएको छ ।
अर्को कुरा सामाजिक सञ्जालबाट भ्रामक र मिथ्या सूचना प्रकाशन वा प्रसारण भएका सामाग्री छन् र उक्त सामाग्री पत्रकारसँग मेल खाएको देखिएन भने त्यो पत्रकाररिता भन्दा बाहिरका कुरा भएको बुझ्नु पर्दछ । यसका लागी विद्युतिय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारावाहीको व्यवस्था छ ।
फेरी बुझौं को पत्रकार हुन् को होईनन् ?
कर्म पत्रकार र युट्युबर दुवैको एउटै छ । तर जिम्मेवारी र भूमिका बिल्कुल फरक छ । दुवैको सूचना समाग्री जनसमुदायमा नै जान्छन् । त्यसकारण युट्युब, फेसबुक जस्ता समाजिक सञ्जाललाई मिडिया नै होईनन् भन्न नमिल्ने हो । तर त्यस समाजिक सञ्जालका पेज तथा च्यानलमा राखिएका विषयवस्तु, प्रस्तुति र शैलीबाट सजिलै मुल्यांकन गर्न सकिन्छ । शब्द कस्ता प्रयोग गरिएका छन् । परिवारसँगै बसेर हेर्न सक्ने पढ्न सक्ने खालका समाग्री छन् की छैनन् भन्ने छुट्याएर पता लगाउन सकिन्छ ।
अझ पत्रकारले गल्ती गर्दा कारबाही गर्ने छुट्टै निकाय प्रेस काउन्सिल नेपाल छ । युट्युबर, फेसबुक जस्ता समाजिक सञ्जालमा गल्ती गर्नेलाई उसको आचारसंहिता छैन । जथाभावी गर्नेलाई सिधै साइबर ब्युरो अपराध सम्बन्धी कानून आकर्षित हुन्छ । स्थानीय भाषामा जथाभावी बोलिएका कुरा धेरैले मनोरञ्जन त दिन सक्ला । त्यसैले भ्युजका लागि उनीहरु जथाभावी बोल्नेहरुको सिधा कुरा राख्छन् त्यहाँ सम्पादन गरिएका हुदैनन् । त्यसो भए उनी पत्रकार होईनन् ।
तर, यदि पत्रकारको आचारसंहिता भित्र रहेको सामाग्री उत्पादन गरिदैछ, सम्पादन गरिएको छ भने त्यो पत्रकारिता भित्र पर्न जान्छ । मनलाग्दी गर्न पत्रकारलाई छुट छैन । यतिसम्म कि पत्रकार आचारसंहिताले समाचारमा आफ्नो विचार मिसाउन पनि दिँदैन । पिडित र पिडक दुवैको कुरा समाग्रीमा हुनै पर्छ ।
युट्युबर, फेसबुकर र पत्रकारमा यही समान्य भिन्नता छ । जथाभावी कुराको प्रस्तुती र सम्पादनसहित प्रस्तुत गरिएका समाग्री छुट्याउन जरुरी छ ।