Logo

पर्साको जिराभवानी गाउँपालिका वडा नं २ सेढवामा निर्माणभएका खानेपानीको योजना संरचनाहरु

१२ भदौ,सेढवा । पर्साका ग्रामीण भेगमा वर्षोदेखि खानेपानीका योजनाहरु अलपत्र बनेका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्सा मार्फत ल्याइएको दर्जनौ खानेपानीका योजनाहरु अहिले बेवारिसे बनेका हुन् ।

जिल्लाको पोखरिया, भिष्वा, सेढवा, मनवा, बढनियार, सोलकपुर, महुवन, लालपर्सा, पशुरामपुर, रंगपुर, सोनवर्षा, सुवर्णपुर, मालीबस्ती, हनुमाननगर, बिजयबस्ती, निर्मलबस्ती लगायतका स्थानहरूमा करोडौं रुपैँयाको लगानीमा खानेपानीका संरचना बनाइएको छ । तर ति मध्ये कतिपय योजना संचालनमा नआएको एक दशभन्दा बढी समय भइसकेको स्थानिय बताउँछन् ।

स्वच्छ तथा सफा खानेपानी बितरण गर्ने हेतुले निर्माण गरिएका ओभरहेड ट्यांकी बोरिङ्ग जडान, कम्पाउन्ड वाल, पम्प हाउस निर्माण भएको वर्षौ बितिसक्दा पनि प्रयोगमा आउन नसक्दा जिर्ण बन्न थालेको स्थानीयको गुनासो छ ।
पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ रंगपुरस्थित खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र गौरोले आर्थिक वर्ष ०७३/०७४ मा यो बहुवर्षिय खानेपानी योजना आएको बताए ।

पहिले समिति गठन गरी जग्गा उपलब्ध गराई योजना कार्यान्वयन गरिएका उनको भनाइ छ । त्यसपछि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पर्साले ठेक्का गरी संरचना निर्माण गरेको उनको जिकिर छ ।

खानेपानी वितरणका लागि पाइप जडान तथा मिटर जडान गर्ने कार्य बाँकी रहेको अध्यक्ष गौरोले जनाए । तर काम बन्द भएको करिब तीन वर्ष बितिसकेको भन्दै उनले पुनः काम संचालन गर्नेबारे कुनै सूचना नआएको उनले बताए ।

ठोरी गाउँपालिकाका सूचना अधिकृत रमेशराज थिङ्गका अनुसार ठोरीमा मात्र ७ स्थानमा खानेपानी योजना आएका थिए । सोमध्ये बिजयबस्ती, गौतमनगर, हनुमाननगर र सुवर्णपुर गरी चार वटा योजना मात्र संचालनमा रहेको उनले बताए ।  यी दुईवटै खानेपानी उपभोक्ता समितिहरुले सर्वसाधारणलाई खानेपानी बितरण गरिरहेको उनको भनाइ थियो ।

त्यस्तै तत्कालीन गाबिस शंकरसरैया र सोनवर्षामा समेत खानेपानीका लागि आव २०६४/०६५ मा पनि दुई/दुई करोड रुपैँयाको योजना ल्याइएको थियो । सो योजना अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जभित्रका घोडेमसान खोलाबाट पाइप लाईन जडान गरी ल्याएको पानी समूदायमा बितरण गर्ने योजना थियो । तर दुई दिन पनि पानी वितरण नभएको स्थानीयको भनाइ छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय (४) कलैयाका प्रमुख किशोरी यादवका अनुसार यी सबै योजनाहरु संघीय योजनाहरु हुन् । संघीय सरकारले ती योजनाहरुको कार्यान्वयनका लागि बजेट बिनियोजन नगरेको उनले जानकारी दिए ।

सरकारले बजेट बिनियोजन गरे पनि निकै न्यून रकम बिनियोजन गर्ने गरेकाले योजना सम्पन्न गर्न नसकिएको प्रमुख यादवको भनाइ छ । निकै पुरानो योजनाहरुको निर्माण सम्पन्न भएको तर खानेपानी उपभोक्ता समितिको निष्क्रियताका कारण पानी वितरण हुन नसकेको उनले जिकिर गरे ।

सर्वसाधारणलाई सफा र स्वच्छ खानेपानी वितरणका लागि उपभोक्ता समिति नै सक्रिय भएर अगाडी बढ्न जरुरी रहेकोमा उनको जोड छ । प्रत्येक योजना दुई करोड रुपैँयामा निर्माण गरिएको जनाइएको छ ।

 


सम्बन्धित समाचार