Logo

२५ भदौ,वीरगञ्ज । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले देशभरका अस्पतालहरुमा अपुग ३२ हजार जनशक्ति थप गर्ने अवस्था नरहेको बताउनु भएको छ ।

नारायणी अस्पतालमा आजदेखि शुरु गरिएको क्यान्सर उपचार सेवाको उदघाटन गर्दै मन्त्री पौडेलले देशको आर्थिक अवस्थाका कारणले थप जनशक्तिको व्यावस्था गर्न नसकिने बताउनु भएको छ ।
देशका सातवटै प्रदेशमा क्यान्सर रोगको उपचार सेवा विस्तार गर्ने क्रममा नारायणी अस्पतालमा पनि सुरु भएको जानकारी दिनुभयो ।

क्यान्सर रोगको उपचार सेवा शुरु भएको प्रचार प्रसार गर्न सञ्चारकर्मीहरुलाई पनि आग्रह गर्नुभयो । सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरे अनुसार कोशी अस्पताल बिराटनगर र मधेस प्रदेशको नारायणी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालको प्रत्यक्ष निगरानीमा तालिम दिने र नियमित रुपमा सञ्चालन गर्ने गरी क्यान्सर उपचारसेवालाई शुरु गरेको हो ।

उहाँले यो सम्झौता कार्यान्वयन नहुने अवस्थामा नपुगोस भनेर यसको निरन्तरताका लागि मन्त्रालयका सबै टोली नै आएर उपचार सेवालाई नियमित गराउने कोशिस गरिरहेको बताउनुभयो । मन्त्री पौडेलले अंगप्रत्यारोपण र मुटुको हर्ट सर्जरीको पनि सातै प्रदेशमा विस्तार गर्ने तयारी गरिरहेका बताउनुभयो ।

सबै स्वास्थ्य संस्थामा जनशक्ति अभाव भएपनि स्वास्थ्य मन्त्रालयको थप्ने इच्छा रहेको तर, देशको आर्थिक अवस्थाको कारणले सम्भव नभएको मन्त्री पौडेलको भनाई थियो । एकैपटक एकसयजना चिकित्सक भर्ना गर्ने इच्छा रहेपनि अहिले जति जनशक्ति छ, जस्तो पूर्वाधार छ त्यसबाटै नै सेवा दिनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु दक्ष रहेको र सेवा गर्ने सन्दर्भमा पनि मन्त्रीहरु भन्दा डाक्टर स्वास्थ्यकर्मीहरु सबैभन्दा माथि रहेको बताउनुभयो । सरकारी स्वास्थ्य संस्थामा सेवा सुविधा कम भएपनि आशा र अपेक्षा धेरै भएकोले बिरामीको सेवामा कुनैपनि कमी हुन नदिन आग्रह गर्नुभयो ।

संविधानामा आधारभूत स्वास्थ्य सेवा निःशुल्क भनेपनि त्यो व्यवहारमा नरहेको भन्दै सरकारी स्वास्थ्य संस्थाहरुमा राम्रो उपचार हुदैन गुणस्तरीय सेवा दिदैन भन्ने भाष्यको अन्त्य गर्नुपर्ने बताउनुभयो । सरकारी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले उपचार गर्दा मैले नयाँ जीवन पाएँ भन्ने सेवाग्राहीले श्रद्धाले शीर झुकाउने वातावरण बनाउनुपर्ने मन्त्री पौडेलको सुझाव छ ।

स्वास्थ्य सेवालाई डिजिटलाईज गरेर अनलाईन सेवाको व्यावस्था गर्नपनि निर्देशन दिनुभयो ।

अस्पतालका सबै कुरा अनलाईन डिजिटलाइज गरेमा सेवाको पारदर्शिता र निष्पक्षता पनि देखिने बताउनुभयो । जनशक्ति व्यावस्थापन गर्दा योग्य जनशक्ति निष्पक्ष रुपमा भर्ना गर्न निर्देशन दिनुभयो । सातवटा प्रदेशमा विशिष्टकृत स्वास्थ्य सेवा दिने गरी विकास गर्ने क्रममा मधेसको नारायणी अस्पताल परेको र बढी भन्दा बढी जनतालाई सेवा दिनुपर्ने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत विदाको दिन काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरुले पछि विदा दिन सकिन्छ कि भन्ने विषयमा छलफल गरिरहेको बताउनुभयो । विदाको दिन काम गरेकाहरुलाई मासिक तलब अनुसारकै पारिश्रमिक दिने विषयमा पनि मन्त्रालयले सोचीरहेको बताउनुभयो ।

नारायणी अस्पतालमा क्यान्सर उपचार सेवाका लागि हाल ६ शैयाको अंकोलोजी वार्ड सञ्चालनमा ल्याइएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर एनामुल हकले जानकारी दिनुभयो । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्जवल चालिसेका अनुसार नारायणी अस्पतालमा क्यान्सर रोगका प्राय सबै उपचार सेवा उपलब्ध छ ।

नारायणी अस्पतालमा क्यान्सर रोगको स्क्रिीनिंग, डाइग्नोसीस्, केमोथेरापी, पालिटिएभ केयर, रेफरेल, काउन्सिलिंग लगायतका सेवा सुरु गरिएको छ । नारायणी अस्पतालमा सुरु क्यान्सर उपचार सेवाका लागि भक्तपुर क्यान्सर अस्पताल हालका लागि मेडिकल अंकोलोजिष्ट सहित दुई जना चिकित्सक खटाएको जानकारी दिनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, स्वास्थ्य मन्त्रालयका गुणस्तर तथा मापन शाखा प्रमुख डाक्टर मदन कुमार उपाध्याय, वीरगञ्ज उपमहानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, कांग्रेस नेता शम्भु चौहान, वीरगञ्ज महानगर सभापति मणिन्द्रलाल नेपाली, दिलिपराज कार्की लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार