Logo

१८ असोज,सेढवा । हिन्दुहरूको महान पर्व बिजया दशमी मनाउने परम्परागत तरिका लोप हुदै गएको छ।

दशै लागेपछि अर्थात घटस्थापनादेखि गाउँघरमा दैनिक जीवनमा गरिने क्रियाकलापहरु बन्द गर्ने मान्यता र चलन रही आएको थियो । अहिल ती मान्यता र चलनहरू छोड्दै जाँदा हराउदै गएको हो ।

पहिले पहिले दशै लागेपछि बच्चा तथा महिलाहरुले गाउँको सिमाना भन्दा बाहिर जान नहुने चलन रहेको तर अहिले ती चलनहरू हराएको जिराभवानी गाउपालिका वडा नं २ सेंढवाका बासिन्दा बरिया चौधरी थारुले बताए। घटस्थापनादेखि महाअष्ठमीको दिनसम्म कुनै पनि जीव जन्तुको हत्या वा मारकाट गर्न पूर्ण रुपमा प्रतिबन्ध गरिएका चलनहरू अहिले खासै बार्ने चलन नरहेको चौधरीको भनाई छ ।

महानवमीदेखि माता दुर्गाको पाठपूजा गर्दै हास, कुखुरा, बोका, राँगा लगायतका पशुपंक्षीको बली चढाएपछि मात्र मंसहारी भोजन गर्न पाउने चलन रहेको चौधरी बताउछन् । तर अहिले समूदायमा जीवजन्तुको काटमारमा कुनै रोक नरहेको स्थानीयहरुले जनाएका छन।

दशै शुरु भएपछि मानिसहरु कपाल काट्ने लगायतको क्रियाकलापहरु पनि बन्द गर्ने गरिन्थ्यो। तर अहिने कोही कोहीले मात्र चलन मानिरहेको देखिन्छ।

बिगतमा मानिसहरु बिरामी हुँदा धामी झाँक्री विश्वास गर्ने हुँदा उनीहरुको बिशेष मान्यता हुने गर्थ्यो । दशै लागेपछि प्रत्येक राती धामी झाँक्रीहरुले देवता खेलाउने गर्थ्यो। स्थानीय गाउघरमा प्रयोग हुने मानर, डम्फ बाजा प्रयोग गर्दै गीत गाउने तथा निरोगी मान्छेमा देवता लगाउने गरिन्थ्यो। देउता लागेका मानिसले अनौठो क्रियाकलाप गर्दा बाँकी रहेका दर्शकहरु रमाइलो मान्ने गरेका स्थानीयहरुले बताए ।

साथै अष्टमीको दिन गाउँलेहरूले झाँक्रीहरुलाई बर्षभरि प्रदान गरेको सेवा वापत हाँस , कुखुरा, तथा बोका, चामल, धोती र केही रकम दिदै नेवता (निम्तो) मान्ने चलन रहेको थियो। सो चलन अहिले पनि कही कतै मात्र भेटिन्छन्।
दशै मान्ने तरिका परिवर्तन हुदै गाउँ गाउँमा दुर्गा माताको मूर्ती बनाई पण्डाल निर्माण गर्ने तथा नवरात्र व्रत बस्ने प्रचलन शुरू भएको छ ।

अहिले पर्साको ग्रामीण भेगमा रहेका अधिकांश परिवारमा नवरात्र ब्रत बस्ने गरेका छन्। ब्रतालुहरुले नौ दिनसम्म अन्न तथा नून सेवन गर्न नपाउने साथै पण्डालमा बिहान बेलुका माता दुर्गा भवानीको पूजा आराधना गर्ने गरिन्छ। साथै हरेक दिन जसो बिभिन्न गायक गायिकाहरुद्वारा भजन किर्तन तथा रामलिला कार्यक्रमको प्रदर्शन गर्ने चलन बढेको छ ।


सम्बन्धित समाचार