Logo

२१ कात्तिक, वीरगञ्ज । बिहार कोकिलाको रुपमा परिचित एवं छठको महिमालाई आवाजको जादुले सजाएकी लोक गायिका शारदा सिन्हाको निधन भएको छ ।

लामो समय देखि मल्टिपल मायलोमा (एक प्रकारको ब्लड क्यान्सर) बाट पिडित सिन्हाको उपचारकै क्रममा मंगलबार राति ९ः२० बजे दिल्लीको एम्स अस्पतालमा निधन भएको हो ।

लोक आस्थाको पर्व छठको महिमालाई जिवन्त राख्ने गित गाएर ख्याती कमाएकी लोकगायिका सिन्हाको छठ पर्वको पहिलो दिन नहायखाय कै दिन राति निधन भएको हो ।

सन् २०१७ बाटै मल्टिपल मायलोमाबाट पिडित सिन्हाको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई २६ अक्टोबर २०२४ मा दिल्लीको एम्स अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । उनलाई आईसियुमा राखेर उपचार भईराखेको थियो ।

४ नोभेम्बरमा उनको स्वास्थ्य अचानक विग्रियो । त्यसपछि भेन्टिलेटरमा राखेर उपचार हुँदैगर्दा गएराति उनको निधन भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

मल्टिपल मायलोमा एक प्रकारको ब्लड क्यान्सर हो जसले कोषिकालाई असमान्य रुपमा बढाई हड्डी, किड्नी र इम्युन सिस्टमलाई असर गर्छ ।

अन्तिम सस्कार कहिले ?
सिन्हाको अत्येष्टि भारत विहार राज्यको पटना हुने बताइएको छ । परिवारका अनुसार आज बुधबार सिन्हाको पार्थिव शरिर दिल्लीबाट पटना ल्याने तयारी छ । त्यसपछि उनका परिवारजन र नजिकका गायकगायिकाहरु उपस्थित भई श्रद्धाञ्जली अर्पण गर्नेछन् । श्रद्धाञ्जली कार्यक्रम सकिएपछि उनको अत्येष्टि गरिने छोरा अंशुमन सिन्हाले बताएका छन् ।

छोरा अंशुमनको ट्विट
उनका छोरा अंशुमन सिन्हाले शारदा सिन्हाकै ट्विटर अकाउन्ट (एक्स) बाट एक ट्विट गर्दै छठी माताले आमालाई बोलाएको बताए । उनले लेखेका छन् “आप सबकी प्रार्थना और प्यार हमेशा माँ के साथ रहेंगे । माँ को छठी मैया ने अपने पास बुलालिया है, माँ अब शारीरिक रुपमे हम सबके बिच नहीं रही ।”

भावुक छन् श्रोता, दर्शक र प्रशंसक
गायिका सिन्हाको निधन प्रती उनका श्रोता, दर्शक एवं प्रशंसकहरुले विभिन्न माध्यमबाट श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले लोक गायिका शारदा सिन्हाको निधन प्रती शोक व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले दुःख व्यक्त गर्दै गायिका सिन्हाको निधनले भारतिय लोक कला क्षेत्रमा अपुरनिय क्षती पुगेको बताए । उनी हामी विच नरहे पनि आवाजका माध्यमबाट सबैमाझ जिवित रहने मोदीको भनाई छ ।

बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले गायिका सिन्हाको अन्त्यष्टि सम्मानका साथ गरिने बताएका छन् ।

त्यस्तै भोजपुरी सिने जगतका मनोज तिवारी, रवि किशन, दिनेशलाल (निरहुआ), पवन सिंह, खेशारीलाल लगायतले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सिन्हा र लोक गित
लोक संस्कृतीको जगेर्नामा गायिका शारदा सिन्हाको योगदान प्रशंसनिय छ । विषेश गरि विवाह र छठ पर्व लक्षित गितलाई न्याय गरेकी सिन्हाले भोजपुरी, मगही, बज्जिका र मैथली जस्ता भाषाहरुमा आफ्नो आवाजको जादु चलाएकी छन् । छठीमाता र सूर्यदेवको पुकारयुक्त उनले गाएका छठका पारम्परिक गितले यतिबेला देशविदेशका छठघाटहरु गुञ्जाएमान भइरहेका छन् ।

सिन्हाले गाएका देखब हे छठी मईया, पहिले पहिल छठि मैया, उठऊ सूरज भइले बिहान, पहिले पहिल हम कईनी छठी मईया व्रत तोहार, सोना सट कुनिया हो दीनानाथ जस्ता छठ गित निकै चर्चीत छन् ।

केहि समय पहिले नै तयार गरिएपनि छठको अवसर पारेर शारदा सिन्हा युट्युब च्यानलबाट रिलिज गरिएको “दुखवा मिटाईं छठी मईंया” बोलको गित नै उनको जिवनको अन्तिम कोसेली बनेको छ ।

१ अक्टोबर १९५२ मा सुपौल बिहारमा जन्मिएकी गायिका शारदा सिन्हाले अधिकाँश गितहरु मैथिली तथा भोजपुरीमा गाएकी छन् । उनलाई १९९१ म पद्म श्री तथा २०१८ मा पद्म भुषणबाट सम्मान गरिएको थियो । बिहारकी कोकिलाको रुपमा प्रशिद्ध गायिका सिन्हाले बलिउड्का लागि पनि उत्तीकै प्रिय मानिन्छिन् ।

उनले ७२ वर्षिय जिवन यात्राका क्रममा ९ वटा एल्बममा ६२ वटा छठको मात्रै गित छन् । जुन गितहरुबिना छठ अधुरो मानिन्छ ।


सम्बन्धित समाचार